कोशीका नयाँ मन्त्रीहरूको नालीबेली : विवादित पात्रदेखि कानुन व्यवसायीसम्म
सारांश
- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १० जना नयाँ मन्त्री र राज्यमन्त्री नियुक्त गरेका छन्, जसमा कांग्रेस र एमालेका ५-५ जना रहेका छन्।
- नवनियुक्त मन्त्रीहरूमा प्रदीपकुमार सुनुवार चौथो पटक मन्त्री बनेका छन् भने विराटनगरका पूर्वमेयर भीम पराजुली पहिलोपटक मन्त्रीको जिम्मेवारीमा आएका छन्।
- यस मन्त्रिमण्डल विस्तारमा गुटगत सन्तुलनलाई ध्यान दिइएको छ, जसमा इस्राइल मन्सुरीको विवादास्पद छवि र रामप्रसाद मेहताको राजनीतिक पृष्ठभूमि पनि समावेश छ।
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार १० जना नयाँ मन्त्री र राज्यमन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस र नेकपा एमालेबाट ५–५ जना नयाँ मन्त्रीको रूपमा समेटिएको छ ।
नवनियुक्त मन्त्रीहरूमा कांग्रेसका प्रदीपकुमार सुनुवार चौथो पटक मन्त्री बनेका छन् भने विराटनगरका पूर्वमेयर भीम पराजुली पहिलोपटक मन्त्रीको जिम्मेवारीमा पुगेका छन् । एमालेबाट कानुन व्यवसायी पृष्ठभूमि भएका तिलचन पाठक, पूर्वमेयर विदुरकुमार लिङ्थेप र नेता इन्द्रमणि पराजुली मन्त्रिपरिषदमा अटाएका छन् ।
यसपटकको मन्त्रिमण्डल विस्तारमा गुटगत सन्तुलनलाई ध्यान दिइएको देखिन्छ । कांग्रेसभित्र सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र कृष्ण सिटौला पक्षका नेताहरूले स्थान पाएका छन् । मन्त्रीहरूमध्ये इस्राइल मन्सुरी यसअघि प्रदेश सभाको अध्यक्षता गर्दा मतदान गरेको र सभामुख लेखिएको लेटरप्याड प्रयोग गरेको कारण विवादास्पद छविमा छन् ।
अर्कातर्फ, कांग्रेसका मानबहादुर लिम्बू र एमालेका रामप्रसाद मेहता पनि मन्त्री बन्दै आफ्नो राजनीतिक उचाइ बनाएका छन् । मन्त्रिमण्डलमा उमाकान्त गौतम र शोभा चेम्जोङलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
- को मन्त्री कस्ता ?
प्रदिपकुमार सुनुवार
मन्त्री, भौतिक पूर्वाधार विकास, कोशी
ओखलढुङ्गा १ (१)बाट निर्वाचित प्रदिपकुमार सुनुवार २०२७ साल वैशाखमा जन्मिएका हुन् । उनको स्थायी ठेगाना सोही जिल्लाको खिजिदेम्बा गाउँपालिका खिजिफलाटे हो । २०४३ सालमा ओखलढुङ्गामा चलेको पञ्चायत विरुद्धको विद्यार्थी आन्दोलनमा सहभागी हुँदै उनले राजनीतिक गतिविधि सुरु गरेका थिए । २०४३ सालमै खिजिखोला गाउँ युवक संगठनको सभापतिमा निर्वाचित भएका उनी २०४८ सालमा कांग्रेसको आठौँ महाधिवेशनबाट क्षेत्रीय सदस्य, २०५० सालमा जिल्ला सदस्य, नवौँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भएका थिए ।
उनी दशौँ महाधिवेशनमा जिल्ला सहसचिव निर्वाचित भए । ०५४ सालमा खिजीखोला गाविसको अध्यक्ष भएर जिम्मेवारी सम्हालेका उनी ११औँ महाविधेशनबाट नेपाली कांग्रेस (प्रजातान्त्रिक)को ओखलढुङ्गा उपसभापति भए । उनी १२औँ र १३औँ महाधिवेशनमा ओखलढुंगा कांग्रेसको सभापति हुँदै १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित बने ।
२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिकको बन्द सूचीमा पर्न सफल भए पनि त्यसबेला उनी सांसद बन्न सकेनन् । २०७४ सालमा भने ओखलढुंगा १ (२)बाट माओवादी केन्द्रका उम्मेदवार मोहन खड्कासँग प्रदेश सांसदमा पराजित बनेका उनी २०७९ साल मंसिरमा सम्पन्न निर्वाचनमा भने पुनः माओवादीकै सहयोगमा ओखलढुङ्गा १ (१) बाट एमालेका उम्मेदवार अम्बिरबाबु गुरुङलाई पराजित गर्न सफल भए । उनको शैक्षिक योग्यता एसएलसीसम्मको मात्रै हो ।
२०८० साल असार २१ गते पहिलोपटक मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले असार २२ गते सुनुवारलाई मन्त्री नियुक्त गरेका थिए । तर, सर्वोच्च अदालतको परमादेशले साउन ११ गते सरकार ढलेसँगै उनको पहिलो कार्यकाल २१ दिनमै सकियो । पुनः २०८० साउन १६ गते उद्धव थापा दोस्रोपटक मुख्यमन्त्री बनेपछि सुनुवार साउन १७ गते खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री बने । तर, भदौ ४ गते विवादास्पद ढंगले विश्वासको मत लिएको भन्दै सर्वोच्चले भदौ २१ गते पुनः सरकार बर्खास्त गरिदिएपछि उनको दोस्रो कार्यकाल ३७ दिनमा सीमित भयो ।
त्यसपछि २०८० असोज २७ गते केदार कार्कीको नेतृत्वमा बनेको सरकारमा सुनुवार २०८० माघ २६ गते स्वास्थ्यमन्त्री बनेका थिए । सो सरकार २०८१ वैशाख २७ सम्म रहँदा उनले करिब ७ महिना काम गर्ने अवसर पाए । अहिले २०८२ पुस २२ गते उनी चौथोपटक मन्त्री बन्दै भौतिक पूर्वाधार विकास मन्त्रालयको बागडोर सम्हाल्न आइपुगेका हुन् । सुनुवारलाई पार्टी सभापति शेरबहादुर देउवाको विश्वासपात्रको रुपमा कांग्रेस नेता–कार्यकर्ताले लिने गरेका छन् ।
इन्द्रमणि पराजुली
मन्त्री, आन्तरिक मामिला तथा कानुन, कोशी
धनकुटाको निर्वाचन क्षेत्र १(२) बाट इन्द्रमणि पराजुली दोस्रो पटक प्रदेश सभामा निर्वाचित एमालेका सांसद हुन् । २०७९ सालको निर्वाचनमा पराजुली १५ हजार ७९७ मत प्राप्त गरी विजयी भएका हुन् । उनले तत्कालीन सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रकी कुसुम कुमारी श्रेष्ठलाई पराजित गरेका थिए ।
२०७४ सालको निर्वाचनमा उनले जसपामा नेता अर्जुन थापालाई १२ हजार ४२० मतान्तरले पराजित गरेका थिए । उनले २० हजार ५५१ मत ल्याएर विजयी बन्दा थापाले ८ हजार २३१ मत ल्याएका थिए ।
पराजुली हाल एमालेको कोशी प्रदेश समिति सचिवालय सदस्य छन् । पराजुली धनकुटाको मारेककटहरेमा २०२७ साल कात्तिक १७ गते एक किसान परिवारमा जन्मिएका हुन् । सूर्यबहादुर र लक्ष्मीकुमारीका छोरा पराजुली मावि तहमा अध्ययन गर्दाताका नै राजनीतिमा लागेका हुन् । गाउँमा मावि नभएकाले तेह्रथुमको फाक्चामारामा रहेको नवीन शिक्षा सदन माविमा उनी पढ्न पुगे । त्यही विद्यालयमा अनेरास्ववियुमा संगठित भएका पराजुली उच्च शिक्षा अध्ययन गर्न धनकुटा बहुमखी क्याम्पस आए ।
अनेरास्ववियुको संगठन विस्तारमा उनी निरन्तर क्रियाशील रहे । ०४९ सालमा धनकुटा बहुमुखी क्याम्पसमा स्ववियु उपसभापति भएका पराजुली पूर्णकालीन राजनीतिक कार्यकर्ता हुन् । ०५४ सालमा जिविस सदस्य निर्वाचित भएपछि जिल्लाको विकास निर्माणको काममा महत्त्वपूर्ण भूमिका निभाएका पराजुलीले १० वर्ष एमालेको भ्रातृसंगठन युवा संघको जिल्लाको नेतृत्व गरेका थिए ।
उनले पहिलो कोशी प्रदेश सभामा न्याय तथा विधायन समितिको सभापतिको भूमिका पनि निर्वाह गरेका थिए । उनै पराजुलीले कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । पराजुली एमाले अध्यक्ष ओलीकै खेमाका भए पनि धनकुटाको राजनीतिमा भने पछिल्लो समय कर्नरमा पारिएका पात्र हुन् । उनलाई नेता राजेन्द्र राईले कर्नरमा पार्दै लगे पनि एमाले सचिव शेरधन राईको संरक्षण पाएपछि मन्त्री बनेको चर्चा छ ।
विदुरकुमार लिङ्थेप
मन्त्री, आर्थिक मामिला तथा योजना, कोशी
संखुवासभाको प्रदेश सभा १ (२) बाट नेकपा एमालेबाट विदुर कुमार लिंथेप निर्वाचित भएका हुन् । लिङ्थेपले १५ हजार ४ सय ८२ मत ल्याएर निर्वाचित भएका हुन् । उनले तत्कालीन नेकपा एकीकृत समाजवादी पार्टीकी सरिता खड्कालाई पराजित गरेका थिए । लिङ्थेप हाल एमाले कोशी प्रदेशको प्रमुख सचेतक थिए । लिङ्थेप ०७४ को स्थानीय तह निर्वाचनमा मादी नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।
लिङ्थेपको जन्म वि.सं २०३३ पौष २४ गते संखुवासभा जिल्लाको बाघामा भएको हो । उनी संविधानवाद र कानुनको शासनको वकालत गर्छन् । लिङ्थेपले त्रिभुवन विश्वविद्यालय कीर्तिपुर र चचियाङ विश्वविद्यालय हाङचोउ चिनबाट समाजशास्त्रमा स्नातकोत्तर हासिल गरेका छन् । उनै लिङ्थेपलाई कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
लिङ्थेप एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवर भए पनि विजयी हुन सकेनन् ।
भीम पराजुली
मन्त्री, पर्यटन, वन तथा वातावरण, कोशी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली मोरङ क्षेत्र नम्बर ४ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री जीवन घिमिरेलाई १ हजार ७८८ मतान्तरले पराजित गर्दै पराजुली विजयी भएका थिए ।
२०७४ को स्थानीय तह निर्वाचनमा एमालेका विनोद ढकाललाई ५ हजार ५१० मतले पराजित गर्दै उनी विराटनगरको मेयर बनेका थिए । २०७४ सालको जित उनको जीवनमा १०औँ पटको जित थियो । २०५५ सालदेखि विद्यार्थी राजनीतिबाट चुनावी यात्रा सुरु गरेका उनले हालसम्म कुनै पनि निर्वाचनमा हार बेहोर्नु परेको छैन ।
उनले महेन्द्र मोरङ क्याम्पसमा चार पटक स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन जितेका थिए (सदस्य, कोषाध्यक्ष, सचिव र सभापति) । यस्तै, पार्टीको आन्तरिक निर्वाचनमा दुई पटक नगर सभापति र १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए ।
प्रदेश सभामा निर्वाचित भएसँगै पराजुलीले आफ्नो लक्ष्य मुख्यमन्त्री रहेको बताउँदै आएका थिए । त्यसका लागि उनले पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई मुख्यमन्त्रीकै आश्वासन दिएर चुनावी मैदानमा पठाएको दाबी गर्दथे ।
‘२०५५ सालयता मेरो हार्ने रेकर्ड छैन, अब मेरो दाबी मुख्यमन्त्रीमा हुन्छ,’ उनले भनेका थिए । हालसम्म उनी मुख्यमन्त्री नै बन्न त पाएका छैनन् तर मन्त्रीको जिम्मेवारी भने पाएका छन् । उनले अबका केही महिना कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।
मन्त्री पराजुली कांग्रेस नेता कृष्ण सिटौला खेमाका हुन् ।
तिलचन पाठक
मन्त्री, खानेपानी, सिँचाइ तथा ऊर्जा, कोशी
चिन्तन (तिलचन) पाठक झापाको राजनीतिमा बौद्धिक र संगठक नेताको रूपमा परिचित छन् । २०२३ सालमा झापाको बुद्धशान्ति–२ मा जन्मिएका पाठकले विद्यार्थी आन्दोलनको जगबाट आफ्नो राजनीतिक उचाइ निर्माण गरेका हुन् । २०३६–०३७ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका पाठकले अनेरास्ववियुको प्रारम्भिक कमिटीदेखि केन्द्रीय सचिवालय सदस्य र केन्द्रीय शैक्षिक विभाग प्रमुखसम्मको जिम्मेवारी निर्वाह गरे । महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामबाट कानुनमा स्नातक (एलएलवी) गरेका उनी एक स्थापित कानुन व्यवसायी समेत हुन् ।
नेकपा एमालेको विभिन्न तह र तप्कामा रहेर काम गरेका पाठक २०६९ सालमा सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट जिल्ला सचिवमा निर्वाचित भएका थिए । त्यसपछि २०७१ सालमा भएको जिल्ला परिषद् बैठकबाट उनी सर्वसम्मत रूपमा झापा जिल्ला अध्यक्ष चयन भए । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रियामा पनि उनले झापाको प्रथम जिल्ला अध्यक्ष भूमिका निर्वाह गरे ।
पञ्चायत विरोधी आन्दोलन, दासढुंगा हत्याकाण्ड विरुद्धको आन्दोलन र २०६२/०६३ को जनआन्दोलनका क्रममा उनी पटक–पटक प्रहरी हिरासत र कष्टडी भोगेका छन् । जिल्ला सहकारी संघको सञ्चालकदेखि लिएर विभिन्न शैक्षिक र सामाजिक संस्थाहरूको नेतृत्व सम्हालेको अनुभव उनीसँग छ । उनी गएको २०७९ सालको निर्वाचनमा झापा २(२)बाट निर्वाचित भएका हुन् । एमालेको ११औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । अब उनी कोशी प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको भूमिकामा पुगेका छन् ।
मानबहादुर लिम्बू
मन्त्री, स्वास्थ्य, कोशी
५५ वर्षीय मानबहादुर लिम्बू मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ बाट विजयी कांग्रेसका सांसद हुन् । उक्त क्षेत्रको निर्वाचनको टिकट शेखरचन्द्र थापाले पाएको भए पनि थापाको मनोनयन दर्तापछि निधन भयो । त्यसपछि टिकट पाएका लिम्बू विजयी भएका थिए ।
लिम्बूले १८ हजार २८६ मत ल्याएका थिए भने एमालेका दिलीपकुमार राईले १३ हजार ८५८ मत पाएका थिए । एमाले र कांग्रेसबिच गठबन्धन बनेपछि पहिलो लटमै लिम्बू मन्त्री बन्ने चर्चा थियो । यद्यपि डाक्टर शेखर कोइराला पक्षले दुई वटा मन्त्रालयको बार्गेनिङ गर्दा उनी मन्त्री बन्न पाएका थिएनन् । यस पटक भने कोइरालाको कोटाबाट उनी मन्त्री बनेका हुन् ।
इस्राइल मन्सुरी
मन्त्री, उद्योग, कृषि तथा सहकारी, कोशी
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीको संसदीय यात्रा सुरुवातदेखि नै विवादास्पद रहँदै आएको छ । २०७९ को निर्वाचनमा सुनसरी ४(२) बाट निर्वाचित कांग्रेस सांसद मन्सुरी २०८० भदौमा तत्कालीन मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत दिने क्रममा विवादमा तानिएका थिए । सभामुख नभएको र उपसभामुख सिर्जना दनुवार अनुपस्थित भएपछि प्रदेश सभाको अध्यक्षता गरेका मन्सुरीले सभाध्यक्षको मर्यादाविपरीत थापालाई बहुमत (४७ मत) पुर्याउन मतदान गरेका थिए । सोही कारण सर्वोच्च अदालतले भदौ २१ गते थापा नेतृत्वको सरकारलाई असंवैधानिक ठहर गर्दै बर्खास्त गरेको थियो ।
यसअघि, मन्सुरीले आफूलाई ‘सभामुख’ उल्लेख गरिएको लेटरप्याड प्रयोग गरी योजनाहरू सार्वजनिक गरेपछि उनी थप आलोचित बनेका थिए । ९३ सदस्यीय प्रदेश सभामा अंकगणितीय जोडघटाउ र सत्ता जोगाउने दाउपेचका बिच मन्सुरीले चालेका यी कदमहरूलाई संसदीय इतिहासमा संविधान र मर्यादा विपरीतको कार्यका रूपमा हेरिन्छ । यिनै विवादका बिच उनी हालै प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त भएका छन् । उनलाई कांग्रेस नेता ज्ञानेन्द्र कार्कीको विश्वास पात्रको रूपमा हेरिएको छ ।
रामप्रसाद मेहता
मन्त्री, सामाजिक विकास, कोशी
सुनसरी क्षेत्र नं. २ (२) बाट नेकपा एमालेबाट विजयी भएका प्रदेश सांसद रामप्रसाद मेहताको पृष्ठभूमि भने कांग्रेस हो । उनी २०७४ सालको निर्वाचनको पूर्वसन्ध्यामा एमाले प्रवेश गरेका थिए । त्यसबेला उनलाई कांग्रेसका राजिव कोइरालाले पराजित गरेका थिए । २०७९ को निर्वाचनमा एमालेले उनै मेहतालाई टिकट दियो र उनै कोइरालालाई पराजित गरे ।
भावी मुख्यमन्त्रीको रुपमा हेरिएका कोइरालालाई पराजित गरेपछि मेहताको चर्चा बढेको थियो । उनलाई संविधानको धारा १६८ को उपधारा (३) अनुसार २०८० भदौ २२ गते गठन भएको एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारले असोज ८ गते उद्योग, कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरेका थिए । यद्यपि मुख्यमन्त्रीले सोही महिनाको २० गते राजीनामा दिएपछि महतोको राज्यमन्त्री पद १४ दिनमै गएको थियो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मेतालाई त्यतिबेला १४ दिनमै गएको राज्यमन्त्री पदको सट्टामा सामाजिक विकासमन्त्रीको जिम्मेवारी दिएका छन् ।
उमाकान्त गौतम
राज्यमन्त्री, आन्तरिक मामिला तथा कानुन
मोरङको क्षेत्र नम्बर १ (१) बाट विजयी उमाकान्त गौतम एमाले सांसद हुन् । २०७९ सालको निर्वाचनमा गौतमले १३ हजार ५३१ मत प्राप्त गरी विजयी भएका थिए । ६० वर्षीय गौतम उर्लाबारी–८ का पुराना कम्युनिस्ट नेता हुन् । उनले संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार कुलप्रसाद साम्वा लिम्बूलाई पराजित गरेका थिए ।
गौतम नेकपा एमालेका अनुभवी तथा संगठनात्मक रूपमा सक्रिय नेता मानिन्छन् । उनलाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
शोभा चेम्जोङ
राज्यमन्त्री, भौतिक पूर्वाधार विकास, कोशी
कांग्रेस नेतृ शोभा चेम्जोङ उर्लाबारी–५ की स्थायी बासिन्दा हुन् । चेम्जोङ लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण, महिला सशक्तीकरण तथा सामाजिक अभियानमा सक्रिय रहँदै आएकी छन् । उनलाई कांग्रेसले समानुपातिक तर्फबाट सांसद बनाएको हो । उनले हालसम्ममा प्रदेश सभामा आफ्ना विषयप्रति सशक्त कुरा राख्न सक्ने सांसदको छवि बनाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण