बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सर्लाहीमा चुनावी चहलपहल सुरुः नेताहरू व्यस्त, चोकचोकमा 'नेता छान्न' छलफल

बुधबार, २३ पुस २०८२, १६ : ०९
बुधबार, २३ पुस २०८२

सारांश

  • सर्लाहीसहित मधेस प्रदेशमा निर्वाचनको चर्चा दुई महिना अघि नै सुरु भएको छ।
  • विभिन्न दलहरूले उम्मेदवार सिफारिस गरिसकेका छन् भने मतदाताहरू चुनावबारे छलफल गरिरहेका छन्।
  • निर्वाचन कार्यालयले तयारी तीव्र पारेको छ, सुरक्षा व्यवस्था कडा पार्ने तयारी भइरहेको छ।

जनकपुरधाम । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब दुई महिना मात्र बाँकी रहँदा सर्लाहीसहित सम्पूर्ण मधेस प्रदेशमा चुनावी चर्चा र चासो दिनप्रतिदिन बढ्दै गएको छ । गाउँघर, घर–आँगन, पान पसलदेखि चिया पसलसम्म चुनावी गफगाफले प्राथमिकता पाउन थालेको छ ।

कुन राजनीतिक दलबाट को उम्मेदवार हुने भन्ने अन्तिम टुङ्गो अझै नलागे पनि विभिन्न सम्भावित उम्मेदवारबारे सर्वत्र छलफल भइरहेको छ। राजनीतिक दलले एकल उम्मेदवार सिफारिस गरिसकेकाले ठुला राजनीतिक उथलपुथल नभए ती नेताहरू नै उम्मेदवार हुने लगभग निश्चित देखिन्छ ।

प्रमुख राजनीतिक दलसहित सबै दलहरूले समानुपातिकतर्फका सांसदको बन्द सूची निर्वाचन आयोगमा बुझाएसँगै देश औपचारिक रूपमा चुनावमा होमिएको अनुभूति हुन थालेको नागरिक समाजका अगुवा र राजनीतिक नेताहरू बताउँछन् । सूची बुझाएपछि चुनावी गतिविधि थप तीव्र भएको उनीहरूको भनाइ छ ।

गाउँ–गाउँमा पोखरी र इनारमा चुनावबारे छलफल गर्न थालेका छन् । 'अब कसलाई मत दिने ? आफ्नो मताधिकार कसरी प्रयोग गर्ने ?' जस्ता विषयमा बिहानदेखि अबेर रातसम्म बहस चलिरहेको देखिन्छ ।

माघ ११ गते राष्ट्रिय सभा निर्वाचन र त्यसका लागि मनोनयन प्रक्रिया अघि बढेकाले दलहरूबिचको सहकार्य, साठगाँठ र दलीय बाँडफाँटबारे पनि चर्चा चुलिएको छ । नागरिक समाज सर्लाहीका अशोक झाले शीर्ष नेताहरूको देश दौडाहा, सम्भावित उम्मेदवारहरूको आवत–जावत र समानुपातिक सूची बुझाएपछि देश चुनावी माहोलमा प्रवेश गरेको बताए ।

सर्लाहीमा पनि राजनीतिक दलहरूले भेला, सभा, बैठकजस्ता चुनाव केन्द्रित गतिविधि तीव्र पारेका छन् । हरिपूर्वा नगरपालिका–३ का गगनदेव यादवले यसपालि मत सोचविचार गरेर दिने बताए । 'देशलाई सही बाटोमा लैजाने जिम्मेवारी अब हामी जनताकै हो,' उनले भने ।

प्रत्यक्षतर्फ उम्मेदवार बन्ने आकांक्षी नेताहरूले चोक–बजारमा भेटघाट र जनसम्पर्क सुरु गरिसकेका छन् । अधिकांश दलले आकांक्षी उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिसकेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीसहित केही साना दलले मात्र सिफारिस गर्न बाँकी छ।

नेकपा एमाले सर्लाहीका अध्यक्ष राजनारायण शाहले क्षेत्रीय तहबाट आएका नाम केन्द्रमा पठाइसकेको जानकारी दिए । यता केन्द्रीय नेताहरू बाहिरका जिल्लाबाट आएर चुनाव लड्ने चर्चाले पनि माहोल तातेको छ ।

चुनाव नजिकिँदै जाँदा केही प्रभावशाली नेताहरूले पार्टी परिवर्तन गरेको, टिकट नपाए अर्को दलबाट चुनाव लड्ने तयारी गरेको तथा नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको चर्चा चलेको विषयले समेत चासो बढाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी सर्लाही क्षेत्र नम्बर १ का उम्मेदवारका आकांक्षी बैकुण्ठ सापकोटाले पार्टी एकताका कारण उम्मेदवार सिफारिसमा ढिलाइ भएको बताए । लोसपाले पनि जसपा नेपालसँगको एकताको अन्तिम निर्णयपछि उम्मेदवारबारे पुनः छलफल गर्ने जनाएको छ ।

यसैबिच, जिल्ला निर्वाचन कार्यालयले पनि तयारी तीव्र पारेको छ । जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले मतदान स्थल निरीक्षण, सरोकारवाला समितिसँग बैठक र आयोगको निर्देशनअनुसार काम भइरहेको बताए । सुरक्षा व्यवस्था कडा पार्ने तयारी पनि गरिएको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए ।

चुनाव नजिकिँदै जाँदा सर्लाहीमा राजनीतिक सरगर्मी थप चुलिँदै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नवीन प्रियदर्शी
नवीन प्रियदर्शी
लेखकबाट थप