राष्ट्रियसभा पुग्ने दाउमा कोशीका पाँच अनुहार
सारांश
- कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता भएको छ।
- सुनिल थापा निर्विरोध निर्वाचित भएका छन् भने अन्य पदका लागि विभिन्न दलका नेताहरू चुनावी प्रतिस्पर्धामा छन्।
- उम्मेदवारहरूले सुशासन, समृद्धि, शान्ति र विकासलगायतका एजेन्डाहरू लिएर मतदातामाझ पुग्ने बताएका छन्।
विराटनगर । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि कोशी प्रदेशबाट ३ पदका लागि ५ जनाको उम्मेदवारी परेको छ ।
'अन्य'तर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिल थापा निर्विरोध भएका छन् । नेकपाका उम्मेदवार हेमराज घिमिरेले वारेसमार्फत पठाएको निवेदन र फारममा हस्ताक्षर नभएपछि उनको उम्मेदवारी कायम भएन । उक्त क्लस्टरमा सुनिल थापाको मात्रै नाम रहेको निर्वाचन अधिकृत भीष्मराज प्रसाईंले जानकारी दिए ।
यस्तै कांग्रेस, एमाले र जसपा गठबन्धनबाट एमालेका सोम पोर्तेल (दलित) र रोशनी मेचे (महिला) तथा नेकपाको तर्फबाट दलितमा खेम सुन्दास र महिलामा नमिता न्यौपानेको उम्मेदवारी परेको छ । उम्मेदवारी दिएका नेताहरू अब आफ्ना एजेन्डासहित मतदाता (प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख) कहाँ पुग्नेछन् । कांग्रेस–एमाले र जसपाको मतभार दुई तिहाई बढी भएकोले उनका उम्मेदवारले नै जित्नेमा शंका छैन । तर, उनीहरूलाई नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले चुनौती दिँदैछन् । चुनावी मैदानमा उत्रिएका पाँच उम्मेदवारहरूको सामान्य परिचय यस्तो छ ।
सुनिलबहादुर थापाः जो निर्विरोध भए
आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशबाट अन्य कोटामा उम्मेदवारी दिएका सुनिलबहादुर थापा कांग्रेस नेता हुन् । उनको प्रतिस्पर्धी नेकपाका उम्मेदवार हेमराज घिमिरे समयमै उपस्थित हुन नसकेपछि थापा निर्विरोध चुनिएका हुन् । सुनिलबहादुर थापा नेपाली राजनीतिकर्मी तथा पूर्वमन्त्री हुन् । यिनी नेपाली कांग्रेस को १४औँ अधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए । २०७० सालको संविधानसभा निर्वाचनमा धनकुटा जिल्ला क्षेत्र नं. २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उनी प्रत्यक्ष निर्वाचित भएका थिए ।
यिनी २०७४ जेठमा बनेको शेरबहादुर देउवाको मन्त्रिमण्डलमा वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए । थापाले लामो समय संयुक्त राष्ट्रसंघअन्तर्गत विभिन्न देशमा सेवा गरेका छन् । उनी सन् २०११ मा शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्च आयोगको सुडानमा कार्यरत रहेका बेला राजीनामा गरी राजनीतिमा प्रवेश गरेका थिए । त्यसपछि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनी २०७७ साल कात्तिकमा भने कांग्रेस प्रवेश गरे, सहमहामन्त्री बने । थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुरका छोरा हुन् । थापाको जन्म २०१६ साल वैशाख १ गते धनकुटाको पाख्रिबास मुगामा भएको हो ।
खेम सुन्दासः छापामार युद्धदेखि चुनावी मैदानसम्म
नेपाली कम्युनिस्ट पार्टीबाट दलित क्लस्टरमा उम्मेदवारी दिएका खेम सुन्दास जनयुद्धकालमा जनमुक्ति सेनाको कमिसार थिए । उनी हाल पार्टीको केन्द्रीय आयोजक समिति सदस्य छन् । भोजपुरमा जन्मिएका उनको स्थायी बसोबास मोरङको सुन्दरहरैंचा–१२ हो । उनको राजनीतिक यात्रा २०५२ सालदेखि माओवादी आन्दोलनको सम्पर्कबाट सुरु भएको हो । २०५४ सालमा पार्टीको संगठित सदस्य बनेका उनी २०५५ सालदेखि पूर्णकालीन कार्यकर्ताका रूपमा भूमिगत भएका थिए ।
सशस्त्र द्वन्द्वका क्रममा राईले जनमुक्ति सेनामा रहेर बटालियन कमिसारको रूपमा सैन्य नेतृत्व निभाएका थिए । शान्ति प्रक्रियापछि उनी पुनः पार्टीको सांगठनिक काममा फर्किएका हुन् । उनले झण्डै २० वर्षसम्म पार्टीको क्षेत्रीय ब्युरो सदस्यको रूपमा काम गरेका छन् ।
संसदीय राजनीतिमा सुन्दासको यो दोस्रो ठुलो उम्मेदवारी हो । यसअघि उनले २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा भोजपुर क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका थिए । यद्यपि उक्त निर्वाचनमा उनी पराजित बने ।
आफ्नो उम्मेदवारीबारे कुरा गर्दै सुन्दासले अहिलेको राजनीतिक संकट समाधान र सामाजिक–आर्थिक रूपान्तरणका लागि वामपन्थी शक्तिहरूको विजय आवश्यक रहेको बताएका छन् । ‘हाम्रो मुख्य एजेन्डा सुशासन, समृद्धि, शान्ति र विकास हो,’ उनले भने, ‘पार्टीले अघि सारेको सुशासनको अभियानलाई तार्किक निष्कर्षमा पुर्याउन मेरो भूमिका रहनेछ ।’ एसएलसीसम्मको औपचारिक शिक्षा हासिल गरेका उनले पार्टीभित्र एक निष्ठावान् र तल्लो तहबाट आएका नेताका रूपमा चिनिन्छन् । निर्वाचनमा जित हार भन्दा पनि इज्जत र सम्मानको लागि प्रतिस्पर्धा गरेको उनले बताए ।
नमिता न्यौपानेः विद्यार्थी राजनीतिदेखि राष्ट्रिय सभा उम्मेदवार
आगामी राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशबाट महिलातर्फ नमिता न्यौपानेलाई नेकपाले उम्मेदवार बनाएको छ । लामो समय विद्यार्थी राजनीतिमा सक्रिय रहेकी न्यौपानेलाई संसदीय भूमिकाका लागि नेकपाले चुनावी मैदानमा पठाएको हो । मोरङको केरावारीमा २०३७ साल असार २ गते जन्मिएकी न्यौपाने हाल विराटनगर महानगरपालिका वडा नं. ४ मा स्थायी बसोबास गर्छिन् । उनको राजनीतिक यात्रा झण्डै तीन दशक लामो छ ।
न्यौपानेको राजनीतिक जग विद्यार्थी आन्दोलन हो । उनले २०४८/४९ सालदेखि नै वामपन्थी विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध भएर काम सुरु गरेकी थिइन् । २०६८ सालसम्म उनी विद्यार्थी संगठनका विभिन्न तह र तप्कामा रहेर नेतृत्वदायी भूमिकामा सक्रिय रहिन् । विद्यार्थी राजनीतिले नै उनलाई वैचारिक र सांगठनिक रूपमा खारिने अवसर दियो ।
उनले तत्कालीन माओवादीको क्षेत्रीय कमिटी हुँदै विराटनगर महानगर कमिटीको अध्यक्षको भूमिका पनि निर्वाह गरिन् । २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाको उपमेयर पदको उम्मेदवार बने पनि उनी पराजित बनिन् । राष्ट्रिय सभालाई संसद्को माथिल्लो र गरिमामय निकाय मान्दै उनले नीति निर्माणमा आफ्नो प्रभावकारी भूमिका रहने बताएकी छन् । ‘राष्ट्रिय सभा नीति निर्माण गर्ने सर्वोच्च थलो हो, मेरो उम्मेदवारी देशका लागि आवश्यक नीतिहरू बनाउन र पार्टीको एजेण्डालाई स्थापित गर्नका लागि हो,’ उनले भनिन् ।
सोम पोर्तेलः झापा जिसस प्रमुख हुँदै राष्ट्रिय सभातर्फ
नेकपा (एमाले) ले कोशी प्रदेशबाट दलित कोटाबाट राष्ट्रिय सभाका लागि सोम पोर्तेललाई उम्मेदवार बनाएको छ । झापा जिल्ला समन्वय समितिको प्रमुखका रूपमा पाँच बर्से कार्यकाल बिताएका पोर्तेल अहिले नीति निर्माणको माथिल्लो तहमा पुग्ने तयारीमा छन् ।
पाँचथरमा २०३५ साल फागुनमा जन्मिएका पोर्तेल हाल झापाको हल्दिवारीका स्थायी बासिन्दा हुन् । उनको राजनीतिक यात्रा २०४७ सालदेखि विद्यार्थी संगठन अनेरास्ववियुबाट सुरु भएको थियो । पार्टीको वडा कमिटीदेखि प्रदेश कमिटीसम्मका विभिन्न सांगठनिक जिम्मेवारी कुशलतापूर्वक निभाएका पोर्तेल हाल एमालेको भ्रातृ संगठन ‘मुक्ति समाज नेपाल’ को केन्द्रीय उपमहासचिव छन् ।
पोर्तेलसँग स्थानीय सरकार र विकास निर्माणको गहिरो अनुभव छ । उनले २०७४ देखि २०७९ सम्म झापा जिल्ला समन्वय समितिको प्रमुखको भूमिका निर्वाह गरेका थिए । त्यसअघि २०६५ सालमा दलित वर्ग उत्थान जिल्ला समन्वय समितिको उपाध्यक्ष भएर पनि उनले काम गरेका थिए । पोर्तेल राष्ट्रिय सभालाई केवल ‘रिटायर्ड’ नेताहरूको थलो मात्र बनाउनु हुँदैन भन्ने मान्यता राख्छन् । ‘राष्ट्रिय सभालाई अनुभव र युवा जोसको संगम बनाउनुपर्छ, जहाँ प्रभावकारी नीति निर्माण हुन सकोस्,’ उनी भन्छन् । लोकतन्त्रको रक्षा र जनजीविकाको पक्षमा आवाज उठाउनु नै उनको मुख्य संकल्प हो ।
रोशनी मेचेः केपी शर्मा ओलीको सचिवालयदेखि राष्ट्रिय सभाको यात्रा
नेकपा (एमाले) ले राष्ट्रिय सभा निर्वाचनमा उठाएको महिला कोटाकी अर्की उम्मेदवार हुन् झापाकी युवा नेतृ रोशनी मेचे । अल्पसंख्क मेचे समुदायबाट प्रतिनिधित्व गर्ने रोशनीले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेर काम गरेकी छन् । गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रधानमन्त्रीबाट ओली पदच्यूत भएसँगै उनी पार्टीको गतिविधिमा सिमीत थिइन् ।
२०३८ साल भदौ ८ गते जन्मिएकी रोशनी मेचे झापाको मेचीनगर–१२ की स्थायी बासिन्दा हुन् । अल्पसंख्यक मेचे समुदायको सशक्त आवाजको रूपमा चिनिने उनी विगत १०–१२ वर्षदेखि सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय छिन् । उनी हाल एमालेको भ्रातृ संगठन ‘लोकतान्त्रिक आदिवासी जनजाति महासंघ’ को केन्द्रीय सदस्यको रूपमा कार्यरत छिन् ।
राष्ट्रिय सभा देशका सबै जातजाति र अल्पसंख्यकहरूको साझा थलो हुनुपर्ने उनको तर्क छ । ‘अल्पसंख्यक र लोपोन्मुख समुदायको आवाजलाई राज्यको माथिल्लो सदनमा पुर्याउनु मेरो पहिलो प्राथमिकता हो,’ उनी भन्छिन् । पार्टीले आफूलाई योग्य ठानेर दिएको यो जिम्मेवारीले समावेशी लोकतन्त्रलाई थप बलियो बनाउने उनको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण