शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
रमेश प्रसाईंसँग संवाद

‘कांग्रेस-एमालेमा कलाकार लाग्नु स्वाभाविक, वैकल्पिकमा चाहिँ अस्वाभाविक भन्न मिलेन’

राजनीतिको फोहोर सफा गर्न कलाकारदेखि समाजका सबै वर्ग आउनुपर्छ : प्रसाईं
बिहीबार, २४ पुस २०८२, १७ : ००
बिहीबार, २४ पुस २०८२

सारांश

  • रमेश प्रसाईं राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य तथा सहप्रवक्ता हुन् र उनले राजनीतिमा बेथिति, भ्रष्टाचारविरुद्ध आवाज उठाउने बताएका छन्।
  • उनले कलाकारिता नछाडेको र सीमान्तकृत समुदायको आवाज नीति निर्माण तहसम्म पुर्‍याउने लक्ष्य रहेको बताए।
  • प्रसाईंले आफू प्रत्यक्ष निर्वाचन लड्न चाहे पनि पार्टीको रणनीतिक हितका लागि समानुपातिकमा बसेको बताए।

काठमाडौं । राजनीतिक टिप्पणी र लोकदोहोरी गाएर चर्चामा आएका हुन् रमेश प्रसाईं । हाल उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा सहप्रवक्ताको जिम्मेवारीमा छन् । २०७९ देखि रास्वपामा आबद्ध भएर राजनीतिमा सक्रिय प्रसाईं देशमा व्याप्त बेथिति, भ्रष्टाचार र राजनीतिक अस्थिरताविरुद्ध आवाज उठाउन आएको बताउँछन् ।  

सीमान्तकृत, सुकुम्बासी र शारीरिक रूपमा फरक क्षमता भएका समुदायका आवाज नीति निर्माण तहसम्म पुर्‍याउने उनको लक्ष्य छ । आगामी फागुन २१ गतेकफ प्रतिनिधिसभा निर्वाचनका लागि उनी रास्वपाबाट समानुपातिक उम्मेदवारको सूचीमा छन् । प्रसाईंसँग यिनै विषयमा केन्द्रित रहेको रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश :

  • राजनीतिमा सक्रिय देखिनुभएको छ, कलाकारिता चाहिँ छोड्नभएको हो ?

कलाकारिता छोड्न लागेको होइन । म आफ्ना लागि कलाकारिता गरिरहेको छु । त्यो निरन्तर रहन्छ । राजनीति समाज सेवाका लागि हो । 

  • राजनीति गर्ने भनेपछि प्रत्यक्ष चुनावमा नउठेर किन समानुपातिकमा बस्नुभयो नि ?

मेरो आफ्नो प्रत्यक्ष निर्वाचन लड्ने इच्छा हुँदाहुँदै पनि पार्टीको चुनावी रणनीतिक हितलाई ध्यानमा राखेर यो निर्णय गरेको हो । किनभने ईश्वरको कृपा र शुभचिन्तकहरूको प्रेमले चर्चित बनेको एउटा अनुहार देशभरि जाँदा अरु उम्मेदवारहरूलाई फाइदा हुन्छ र पार्टीको शक्ति मजबुत हुन्छ भन्ने हिसाबले नेतृत्वसँगको सल्लाहमा नै समानुपातिकतर्फको उम्मेदवार भएको हो ।

  • प्रत्यक्ष चुनाव चाहिँ कहाँबाट लड्ने इच्छा थियो ?

म प्रत्यक्ष लडेको भए झापा क्षेत्र नम्बर १ बाट लड्थेँ । त्यो मेरो घर, आफन्त र बाल्यकालका साथीहरू भएको क्षेत्र हो । म अहिले जे छु, त्यहीँको कारणले छु । 

  • रास्वपाले लोकप्रिय कलाकारलाई समानुपातिकमा किन राख्यो, प्रत्यक्ष चुनाव लडाउँदा राम्रो हुन्थ्यो होला नि ?

यसलाई व्यापक दृष्टिकोणबाट हेर्नुपर्छ । हाम्रो समाजको तितो सत्य के हो भने दलित वा शारीरिक रूपमा फरक क्षमता भएका व्यक्तिले प्रत्यक्ष चुनाव जित्न अझै गाह्रो छ । भोटर माइन्डसेटमा अझै पनि केही फ्याक्टरले काम गर्छ । त्यसैले सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समानुपातिक प्रणाली अपनाइएको हो ।

  • पार्टीको समानुपातिक छनोटको प्रारम्भिक निर्वाचनमा सर्वाधिक लोकप्रिय मत तपाईंको थियो, पार्टीले भने ५ नम्बरमा राख्यो नि ?

यो बदनियतले होइन, प्राविधिक त्रुटिले भएको हो भन्ने मलाई लाग्छ । पार्टीले सम्पूर्ण त्रुटिहरू सच्याइन्छ भनेको छ । हतार-हतार बन्द सूची तयार गर्नुपर्ने र त्यो दुनियाँसँग सहमति गर्नुपर्ने हतार–हतार भएका कारणले त्यो प्राविधिक त्रुटि हो भन्ने मलाई लाग्छ । युद्धमा एउटा सिपाहीले आफ्नो प्रधानसेनापतिमाथि पूर्ण विश्वास राख्नुपर्छ । मलाई पार्टी सभापति र रास्वपामाथि पूर्ण विश्वास छ, रवि लामिछानेको निर्णय म स्वीकार्छु ।

  • कलाकारितामा लागेकाहरू धमाधम राजनीतिमा देखिन थालेका छन्, किन ?

यो अलिकति अपव्याख्या हो जस्तो लाग्छ मलाई । किनभने लोकतन्त्र ल्याइएको भनेकै समाजको हरेक वर्ग राजनीतिमा आओस् भन्ने हो । लोकतन्त्रको आत्मा नै यही हो कि राष्ट्रका लागि कुनै पनि क्षेत्रको मान्छेले योगदान गर्न चाह्यो भने ऊ राजनीतिको मूल प्रवाहमा आउन सकोस् । कलाकारहरू स्वाभाविक रूपमा भावुक हुन्छन् । पछिल्लो समय देशमा जुन प्रकारको बेथिति र अस्थिरता छ, त्यसले इमोसनल मान्छेहरूलाई अलि बढी हर्ट गर्‍यो । उनीहरूले महसुस गरे कि कोही त आउनैपर्छ । चोक फोहोर भयो भनेर सरापेर मात्र हुन्न नि झाडु लगाउने हिम्मत आफैँले गर्नुपर्छ ।

  • अहिले डाक्टर, इन्जिनियर, पत्रकार र कलाकार सबै राजनीतिमा आउँदा यो लाभ लिने पेसा जस्तो देखियो कि ?

यो देशमा कांग्रेस र एमालेका पत्रकार, इन्जिनियर र डाक्टरहरू छन् । उनीहरूले त बकाइदा सङ्गठन नै बनाएका छन् । बद्री पंगेनी दाइ एमालेको कार्यकर्ता हो । यो कुरा अस्वाभाविक छैन । उनीहरूले गर्दा चाहिँ ठीक, हामी आउँदा चाहिँ ‘लाभ लिने’ भन्नु अलि मिलेन । राजनीति पेसा होइन, समाजसेवा हो । लाभ त मलाई कलाकारितामै थियो । अहिले राजनीतिमा लागेपछि त म ध्रुवीकरणको सिकार भएँ, मेला महोत्सवतिर बोलाउन छोडे । लाभ भयो कि हानि भयो ? हामी मान्छेहरू हानि बेहोर्न तयार भएर समाजका लागि जुवा खेलेर राजनीतिमा आएका हुन् । असफल समाजको सफल मान्छे भएर मात्र के गर्ने भन्ने सोचेर हामी आएका हौँ । अहिले आएका रीमा विश्वकर्मा लगायत व्यक्तिहरू लाभ लिन आएका होइनन्, यी मान्छेहरू राष्ट्रप्रेमले राजनीतिमा आएका हुन् । यी सफल मान्छेहरू हुन् ।

  • कलाकारलाई देशको गहना भनिन्छ, तर कुनै राजनीतिक दलको कार्यकर्ता बन्दा कलाकारको परिचय साँघुरो हुँदैन ?

हुँदैन । कहिलेकाहीँ राष्ट्रिय आवश्यकताले भूमिका बृहत् बनाउँछ । ‘गाउँ गाउँबाट उठ’ भन्ने गीत नबनेको भए प्रजातान्त्रिक आन्दोलन यति प्रभावकारी हुन्थ्यो होला र ? ती जनवादी गीत र सडक नाटकले पञ्चायत विरुद्धको आन्दोलनमा ठुलो भूमिका खेलेका थिए । त्यतिबेला के कलाकारको भूमिका साँघुरो भयो कि झन् बृहत् भयो । अहिलेको बेथिति र भ्रष्टाचार विरुद्ध आवाज उठाउनु राष्ट्रिय आवश्यकता हो, यसले कलाकारको भूमिकालाई झन् बृहत् बनाउँछ ।

  • राजनीतिमा लागेर के गर्ने योजना छ तपाईंको ?

व्यक्तिगत योजनाले देश परिवर्तन हुन्न, यो सामूहिक प्रयास हो । मेरो मुख्य उद्देश्य भनेको सीमान्तकृत र भुइँ मान्छेहरू जसको आवाज प्रतिनिधित्व हुन सकेको छैन, उनीहरूको कुरा उठाउनु हो । जस्तै दृष्टिविहीन साथीहरूलाई हिँड्नका लागि सडकमा एउटा रेखा जस्तो बनाइएको छ । त्यो रेखा जस्तो बाटो सेतो छडीले पछ्याउँदै पछ्याउँदै जान्छन् कन्फिडेन्सका साथ, अनि ड्याम्म बिजुलीको पोलमा ठोकिन्छन् । किनकि नीति निर्माण तहमा उनीहरूको प्रतिनिधित्व छैन । यस्ता कैयौँ मुद्दाहरू, कयौँ समस्याहरू जानीजानी कायम राखिएको छ । 

अर्को छ सुकुम्बासी समस्या । तपाईंलाई लाग्छ सुकुम्बासी समस्या समाधान गर्नु कुनै फलामको चिउरा चपाउनु हो र ? तपाईंको तीन पुस्ते विवरण हेरे भइगो नि जग्गाको । अंश लाग्ने जग्गा छैन तीन पुस्तामा भने राज्यले सम्बोधन गर्नुपर्छ । तर किन गरिएन त भन्दाखेरि भोट बैंक कसलाई बनाउने त ? चुनावमा कसलाई भरिया बनाउने हो ? त्यसकारण जानीजानी कायम राखिएको छ यी समस्याहरू । हो यस्ता समस्याहरू समाधान गर्नका लागि आवाज बुलन्द गर्ने उद्देश्यले म राजनीतिमा आएको हो ।

  • वर्षौँदेखि राजनीतिमा देखिएका नेताहरू असफल भएर कलाकार राजनीतिमा होमिएका हुन् त ?

पुराना नेताहरू असक्षम, भ्रष्ट र दम्भी भएको कारणले गर्दा भदौको ऐतिहासिक जेनजी विद्रोह भएको हो । ७६ जना कलिला भाइबहिनीहरूले ज्यान गुमाएका हुन् । यो सामान्य अवस्था होइन । २०६२/०६३ को आन्दोलनमा सबै होमिए जस्तै अहिले मतको माध्यमबाट ब्यालेटबाट आन्दोलन हुँदैछ । यो राष्ट्रिय आवश्यकता हो । अहिले पुरानालाई विस्थापित गरेर देशलाई एउटा स्वर्णिम भविष्यतिर डोर्‍याउने हामी कल्पना गर्दैछौँ । यो तपाईंको असाधारण स्थिति हो, यो ऐतिहासिक स्थिति हो । त्यसकारण यो अवस्थामा सबै जो-जो सचेत प्राणी छन् यो देशमा, सबै राजनीतिमा हाम फाल्नु कुनै अस्वाभाविक कुरा होइन । ‘हातमा कलम हुनेहरू कलम लिएर उठ, हातमा केही नहुनेहरू आवाज लिएर उठ’ भन्ने गीतले भने झैं अवस्था हो । 

  • विभिन्न कालखण्डमा धेरै आन्दोलनहरु भए, अहिलेसम्म राजनीतिक अस्थिरता र विकास हुन नसक्नुको मुख्य कारण के हो जस्तो लाग्छ ?

धेरै कारण छन् । सबैभन्दा ठुलो चाहिँ यो देशमा नीति र नेतृत्व भए तर नियतको सर्टेज (अभाव) भयो । प्राथमिकतामा जनता र वाचाहरू परेनन्, शक्ति सञ्चय र भ्रष्टाचार मात्रै पर्‍यो । म पटक–पटक हरेक मन्तव्यमा भन्छु यदि कांग्रेसले प्रजातान्त्रिक समाजवादमा अडिन सकेको भए, बीपीको दर्शनमा अडिन सकेको भए वा कम्युनिस्टहरू पक्का कम्युनिजमको दर्शनमा उभिन सकेको भए, हामी त टिभीमा जागिर खाँदै थियौँ । किन आउनुपर्थ्यो राजनीतिमा । 

म एउटा कन्सर्टबाट ५० हजार लिन्थेँ, मलाई के पागल कुकुरले टोकेको थियो र राजनीतिमा आउन ? रवि लामिछानेले हामीलाई सम्झाएको के हो भने एउटा असफल समाजको सफल मान्छे भएर गर्छौ के ? एउटा असफल समाजको सफल मान्छे भएर के अर्थ रहन्छ र ? त्यसैले यो बेथिति विरुद्धको युद्धमा सबै होमिएका हौँ । दुई चार थान मान्छे हिरो भएर समाज त जहाँको त्यही छ । भुइँ मान्छेहरूको स्थिति त जहाँको त्यही छ । स्वास्थ्य शिक्षा तपाईंको विकासका पूर्वाधारहरूमा बेथिति त जहाँको त्यही छ । त्यसकारण यो बेथिति विरुद्धको युद्धमा सबै होमिएका हुन् । यो राष्ट्रिय आवश्यकता हो आजको ।

  • धेरैजसोले ब्युरोक्रेसी (कर्मचारीतन्त्र)लाई पनि दोषी देखाउँछन्, यसलाई कसरी हेर्नुभएको छ ?

शीर्ष नेताहरूले नै यसलाई बिगारे । सुरुमा पञ्चेहरूलाई हटाउन आफ्ना मान्छे भर्ती गर्ने अभ्यास गरियो, तर पछि त्यो व्यक्तिगत र गुटगत स्वार्थमा बदलियो । यो कस्तो भयो भने अल्फ्रेड नोबेलले डाइनामाइट त सडक बनाउन आविष्कार गरेका थिए, तर मान्छे पड्काउन प्रयोग भयो । कर्मचारीतन्त्रको पनि त्यसरी नै दुरुपयोग भयो र ब्युरोक्र्याटहरूले पनि त्यसको भरपुर लाभ उठाए ।

  • ब्युरोक्रेसी (कर्मचारीतन्त्र)लाई कसरी सुधार गर्ने त ?

यसका लागि कर्मचारीहरूका तमाम राजनीतिक भातृ सङ्गठनहरूमा अविलम्ब प्रतिबन्ध लगाइनुपर्छ । कर्मचारी, शिक्षक लगायत जो-जो व्यक्ति राज्यको सुविधा लिनेहरू उनीहरु राजनीतिमा हुनुहुँदैन । राजनीतिक रूपमा पक्षपाती हुनै पाउँदैनन् ।

  • राजनीतिमा होमिहाल्नुभयो, तत्कालको गन्तव्य के छ ?

रास्वपाको अन्तिम गन्तव्य संवैधानिक समाजवाद हो । तत्कालका लागि गुड गभर्नेन्स (सुशासन), विधिको शासन र भ्रष्टाचारको न्यूनीकरण नै मुख्य गन्तव्य हो ।
 

  • राजनीतिमा लागेर प्रधानमन्त्री वा मन्त्री बन्ने इच्छा छ कि ?

छैन । प्रधानमन्त्री त के, मलाई त मन्त्री बन्ने पनि इच्छा छैन, बरु सक्षम व्यक्तिहरूलाई मन्त्री बनाउने इच्छा छ । म सांसद भइसकेपछि पनि पार्टीभित्र आन्तरिक प्रतिपक्षीको भूमिकामा रहन चाहन्छु ताकि सरकारलाई आफ्नै घोषणापत्रका पानाहरू बारम्बार याद दिलाउन सकौँ । मलाई तोसिमा कार्की, सोविता गौतम, स्वर्णिम वाग्ले, हरि ढकाल, विराजभक्त श्रेष्ठ जस्ता व्यक्तिलाई मन्त्री बनाउने इच्छा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप