कर्णाली कांग्रेसमा ध्रुवीकरण : कोही विशेष महाधिवेशन भन्दै काठमाडौँ हिँडे, धेरैजसो नियमितकै पक्षमा
सारांश
- नेपाली कांग्रेसमा विशेष महाधिवेशनको विषयलाई लिएर नेता र कार्यकर्ताबीच ध्रुवीकरण बढेको छ, जसको असर कर्णालीमा पनि देखिएको छ।
- गगन थापा र शेखर कोइराला पक्षधर विशेष महाधिवेशनको पक्षमा उभिएका छन् भने संस्थापन पक्ष नियमित महाधिवेशनको पक्षमा देखिएको छ।
- पार्टी फुट्ने चिन्ता बढेको र युवा नेताहरूले नेतृत्वको कमजोरीलाई समस्याको कारण मानेका छन्।
सुर्खेत । नेपाली कांग्रेसमा विशेष र नियमित महाधिवेशनको विषयलाई लिएर नेता–कार्यकर्ताबिच ध्रुवीकरण बढेको छ । त्यसको प्रभाव कर्णालीमा पनि परेको छ ।
महामन्त्री गगनकुमार थापा पक्षका नेता–कार्यकर्ता विशेष महाधिवेशनको पक्षमा उभिएका छन् । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गतेका लागि काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरेका छन् । विशेष महाधिवेशनमा सहभागी हुने भनेर कांग्रेस जुम्लाका उपसभापति कार्मा बुढाको नेतृत्वको टोली एउटा गाडी बुक गरेर काठमाडौँतर्फ लागिसकेको छ । उनको टोलीमा कांग्रेस जुम्लाका सचिव अर्जुनसिंह कठायत लगायतका नेता पनि छन् ।
जुम्ला कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीको गृह जिल्ला हो । नियमित महाधिवेशनको पक्षमा सार्वजनिक अपिल गरेका शाहीले आफ्नै गृह जिल्लाका नेताहरूलाई मिलाउन नसकेको देखिन्छ ।
कर्णालीबाट विशेष महाधिवेशनको पक्षमा झन्डै १३७ जनाभन्दा बढी १४औँ महाधिवेशनका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । कतिपयले अहिले हस्ताक्षर फिर्ता पनि लिएका छन् । कांग्रेस कर्णाली प्रदेश कार्यसमितिका प्रवक्ता दमन शाहीले अहिलेसम्मको रेकर्डमा ४३ जनाले हस्ताक्षर फिर्ता लिएको जानकारी दिए ।
कर्णालीमा १२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा ३१२ महाधिवेशन प्रतिनिधि छन्, जसमध्ये झन्डै आधाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको देखिन्छ ।
नेताहरूका अनुसार विशेष महाधिवेशनको पक्षमा खुल्नेमध्ये धेरैजसो महामन्त्री गगनकुमार थापा तथा शेखर कोइराला पक्षधर छन् । केही संस्थापन पक्षधर पनि छन् । यद्यपि पछिल्लो समय कोइराला पक्षधर कतिपय नेता नियमित महाधिवेशनकै पक्षमा खुलेका छन् ।
कोइराला पक्षधर दैलेखको पार्टी सचिव नारायण रेग्मी अहिले नियमित महाधिवेशन हुनुपर्ने पक्षमा छन् । कर्णाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृह प्रदेश हो । यहाँ यसअघि खड्का अर्थात् संस्थापन पक्षधरकै दबदबा छ । खड्कालाई नै संस्थापनबाट सभापतिका रूपमा अघि सारिएको अवस्थामा उनीविरुद्ध नजान कतिपय नेताहरूले प्रतिनिधिहरूलाई सम्झाई–बुझाई गरिरहेको अवस्था छ ।
‘पर्सिसम्म हस्ताक्षर फिर्ता लिनेको संख्या कर्णालीमा अझै बढ्ने देखिन्छ,’ एक प्रदेश कमिटीका नेताले भने । संस्थापन पक्षका नेताहरूका अनुसार विशेष महाधिवेशनको पक्षमा कतिपय मृत्यु भइसकेका मान्छेको पनि नाम र हस्ताक्षर प्रयोग भएको छ ।
‘सबै भेरिफाइ गरेको खण्डमा कर्णालीमा विशेष महाधिवेशनको पक्षमा १०० जना पनि पुग्छ कि पुग्दैन,’ संस्थापन पक्षका एक नेताले भने ।
कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाही कांग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमितिले आह्वान नगरिकन कुनै व्यक्तिले बोलाएको भेला आधिकारिक नहुने बताउँछन् । ‘विशेष महाधिवेशनको औचित्य छैन । निर्वाचन प्रचार–प्रसारको पक्षमा लाग्नुपर्ने अवस्था छ । राष्ट्रिय सभा र प्रतिनिधि सभाको चुनाव आउँदै छ,’ उनले रातोपाटीसँग भने, ‘अब लोकतन्त्र हो, लोकतन्त्रमा आफ्नो कुरा राख्न पाउँछन् । अधिकारको कुरा पनि भयो ।’
यद्यपि कोही पनि नेता तथा कार्यकर्ता पार्टी विधानभन्दा बाहिर नभएको उनले स्पष्ट पारे । बहुसंख्यक नेता कार्यकर्ताहरू विधानको परिधिभित्र रहेर कांग्रेसलाई जोगाउनुपर्छ, टिकाउनुपर्छ भन्ने पक्षमै रहेको उनको भनाइ छ ।
शाहीले भने, ‘यो विशिष्ट बेला पार्टी एकताबद्ध हुनुपर्ने र नेतृत्वलाई सबैले सहयोग गर्ने समय हो । त्यसैले अहिले पार्टीको विधान अनुसार नियमित महाधिवेशनको तालिका प्रकाशित भइसकेको र क्रियाशील सदस्यताको काम नसकिएको हुँदा यो काम जसको जिम्मेवारीमा छ, उसले पूरा गर्नुपर्ने हो ।’
- पार्टी फुट्ने चिन्ता
अहिले कांग्रेसमा देखिएको विवादले पार्टी फुट्छ कि भन्ने चिन्ता नेता–कार्यकर्तामा देखिन्छ । यसअघि तोकिएको कार्यतालिकामै महाधिवेशन हुनुपर्छ भन्ने कांग्रेस जाजरकोटका सभापति बेदराज सिंहले यही अवस्था आए कांग्रेस विभाजनको डिलमा पुग्ने संकेत गर्दै नियमित महाधिवेशनमा जानुको विकल्प नरहेको बताए ।
‘नियमित अधिवेशनको कार्यतालिका आइसक्यो, यो अवस्थामा विशेष महाधिवेशनको कुरालाई नेतृत्व तहमा सफ्ट ल्यान्डिङ गरेर नियमित कार्यतालिकामै जानुपर्छ भन्ने मेरो भनाइ छ,’ उनले रातोपाटीसँग भने ।
कांग्रेस दैलेखका सचिव नारायण रेग्मी भने विश्वप्रकाश शर्माले गगन थापालाई उचालेर समस्या पारिरहेको दाबी गर्छन् । ‘यसले गगन दाइलाई घाटा भयो, ठुलो धक्का लाग्यो गगन थापालाई,’ उनले भने, ‘उहाँ अप्ठ्यारोमा पर्नुभयो । उचाल्ने मान्छेहरू सबै जिम्मेवार मान्छे होइनन् ।’
यस्तो प्रवृत्तिले पार्टीलाई फुटको सँघारमा पु¥याउँछ कि भन्ने चिन्ता बढाएको रेग्मीको भनाइ छ । उनका अनुसार, दैलेख क्षेत्र नम्बर २ बाट १३–१४ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका थिए । अहिले विशेष महाधिवेशनको पक्षमा ९–१० जनामात्र देखिन्छन् । ती मान्छे पनि साँच्चै प्रमाणीकरण गर्दा अझै घट्नसक्ने उनको बुझाइ छ ।
‘विशेष महाधिवेशन गरे भने पार्टी फुट्ने बाहेक अरु कुनै उपलब्धि हुँदैन,’ रेग्मीले भने ।
सभापति लगायत केन्द्रीय कार्यसमितिमा त लगभग ८० प्रतिशत भन्दा बढी सभापति शेरबहादुर देउवा पक्षमा रहेको उनले बताए । ‘गगन दाइसँग भएकोमा पनि गगन–शेखर दुई ग्रुपमा विभाजित भए भने त तितरबितर हुने अवस्था आउँछ,’ उनले भने, ‘त्यसो भए केही औचित्य भएन ।’
अहिले कांग्रेस लोभी–पापीहरूको संगठनजस्तो देखिएको रेग्मीको भनाइ छ । अहिले कांग्रेसमा देखिएको विवादले आसन्न निर्वाचनमा समेत असर पर्ने उनको आकलन छ ।
- युवा नेता भन्छन्– यो सबै नेतृत्वको कमजोरीको कारण हो
अहिले कांग्रेसमा यस्तो समस्या आउनुको पछाडि नेतृत्वको कमजोरी नै मुख्य कारण रहेको युवा नेताहरू बताउँछन् । सुर्खेतमा भेटिएका दैलेख ठाटीकाँधका उपसभापति तथा युवा नेता भूपेन्द्र शाहीले समयमै अधिवेशन नगर्ने नेतृत्वको कमजोरीका कारण आज पार्टी कार्यकर्ता अन्योल र चिन्तामा रहेको बताए ।
‘नियमित महाधिवेशन समयमा नभएकै कारण अहिले विशेष महाधिवेशनको कुरा आएको हो,’ उनले रातोपाटीसँग भने, ‘अहिलेको अवस्थाले पार्टी फुटको दिशातर्फ जाँदै हो कि भन्ने चिन्ता र असन्तोष हामी पार्टीका कार्यकर्तामा बढायो ।’
नेताहरूको यस्तै झगडाले समाजमा पार्टी कमजोर र अलमलमा रहेको छ भन्ने सन्देश गएको पनि उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण