मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

कांग्रेसको आन्तरिक विवादमा जेनजी अगुवाहरूको 'अर्थपूर्ण' चासो

शुक्रबार, २५ पुस २०८२, २१ : १२
शुक्रबार, २५ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसको आन्तरिक विवादमा जेनजी अगुवाहरूले विशेष महाधिवेशनको माग गर्दै चासो देखाएका छन्।
  • जेनजी अगुवाहरूले कांग्रेस नेतृत्वको कार्यशैली र यथास्थितिवादको विरोध गर्दै विशेष महाधिवेशनको आवश्यकता औंल्याएका छन्।
  • कांग्रेस भित्रको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीचको विवाद र भूराजनीतिक प्रभावबारे चर्चा गरिएको छ।

काठमाडौँ । नेपाली कांग्रेसभित्र नियमित कि विशेष महाधिवेशन भन्ने बहस चलिरहँदा भदौ २३ र २४ गते भएको आन्दोलनबाट उदाएका ‘जेनजी’ अगुवाहरूले चासो राख्न थालेका छन् । उनीहरू कांग्रेसको दलीय राजनीतिमा सक्रिय नभए पनि विशेष महाधिवेशनको पक्षमा खुला वकालत गर्न थालेका छन् ।

जेनजी आन्दोलनका चर्चित अनुहारहरू रक्षा बम, तनुजा पाण्डे, भावना राउत लगायतले कांग्रेसको वर्तमान नेतृत्व र कार्यशैलीमाथि प्रश्न उठाउँदै विशेष महाधिवेशनको पक्षमा वकालत गरेका हुन् ।

कांग्रेसभित्र अहिले सभापति देउवा पक्षधर ‘संस्थापन पक्ष’ र दुई महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मासहित परिवर्तनको माग गर्ने ‘विशेष महाधिवेशन पक्षधर’ बिच तीव्र विवाद देखिएको छ । संस्थापन पक्ष नियमित महाधिवेशनबाटै अघि बढ्नुपर्ने अडानमा रहँदा असन्तुष्ट पक्ष र युवा पुस्ताले भने पार्टीको वैधानिकता बचाउन विशेष महाधिवेशन नै एकमात्र विकल्प भएको दाबी गरिरहेका छन् ।

यथास्थितिवादले देशलाई मास डिप्रेसनमा पुर्‍याउँछ : रक्षा बम

जेनजी अगुवा रक्षा बमले भदौ २३ को घटनालाई स्मरण गर्दै नेपाली राजनीति अब नियमिततामा चल्न नसक्ने टिप्पणी गरेकी छन् । सरकारले विद्यार्थीमाथि गोली चलाएको दिनदेखि नै नियमिततामा ब्रेक लागेको तर्क गर्दै उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘जो नियमित महाधिवेशनको नाममा यथास्थितिवाद रोजिरहनुभएको छ, तपाईंहरूले हाम्रो आन्दोलनलाई नै अस्वीकार गरिरहनुभएको छ ।’

बमले नेकपा एमालेको नेतृत्व चयनको शैलीलाई ‘मास डिप्रेसन’ बाँड्ने बाटोको रूपमा चित्रण गर्दै कांग्रेसलाई त्यही बाटोमा नहिँड्न चेतावनी दिएकी छन् । ‘आजको असाधारण राजनीतिक संकटमा असाधारण निर्णय आवश्यक छ, र त्यसका लागि विशेष महाधिवेशन अपरिहार्य छ,’ उनले भनेकी छन् ।

५४ प्रतिशतको हस्ताक्षर बेवास्ता गर्नु लोकतन्त्रको उपहास : तनुजा पाण्डे

कांग्रेसको आन्तरिक विवादबारे टिप्पणी गर्दै अर्की जेनजी अगुवा तनुजा पाण्डेले पार्टीको वैधानिकता र विधानको धारा १७ (२) लाई मुख्य एजेन्डा बनाएकी छन् । ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाइसक्दा पनि नेतृत्व मौन बस्नु विडम्बनापूर्ण भएको उनको तर्क छ ।

‘कांग्रेस कुनै निजी कम्पनी होइन, यो एक सार्वजनिक चासोको संस्था हो’ पाण्डेले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘नियमित महाधिवेशनको नाममा कार्यतालिका मात्र थप्दै जाने रणनीतिले कांग्रेसलाई कानुनी रूपमा अवैध बनाउन सक्छ । ५४ प्रतिशत प्रतिनिधिको मागलाई लत्याउनु पार्टीको अस्तित्व रक्षाको विरुद्धमा छ ।’

उनले कागजी कार्यतालिकाको अलमल अन्त्य गरी घोषित मितिमै विशेष महाधिवेशन सम्पन्न गर्न नेतृत्वलाई खुला आह्वान गरेकी छन् ।

नेतृत्वलाई ‘ग्रेसफुल एक्जिट’को सुझाव : भावना राउत

जेनजी नेतृ भावना राउतले राजनीतिक दलहरू नागरिकको साझा सम्पत्ति भएको उल्लेख गर्दै पुराना नेतृत्वलाई मर्यादित बहिर्गमन (ग्रेसफुल एक्जिट)को बाटो रोज्न सुझाव दिएकी छन् । विशेष महाधिवेशनको माग गर्नेहरूमाथि पार्टीभित्रैबाट भइरहेको आक्रमणलाई उनले अलोकतान्त्रिक कदमको संज्ञा दिएकी छन् ।

सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै उनले भनेकी छन्, ‘आन्दोलन नमान्न उडेका नोटलाई तपाईं एआई भन्न सक्नुहोला, तर ढलेका लासलाई के भन्नुहुन्छ ? अब तपाईंको राजनीतिक योगदानलाई सम्मानपूर्वक समापन गर्ने समय आएको छ ।’

निर्वाचन अघि पार्टीले नयाँ वा विद्यमान नेतृत्वलाई महाधिवेशनमार्फत प्रमाणीकरण गर्नैपर्ने उनको भनाइ छ ।

पार्टीको आन्तरिक विवादमा किन जोडियो जेनजी पुस्ता ?

जेनजी अगुवाहरू कुनै पनि राजनीतिक दलको आन्तरिक लोकतन्त्र र चरित्रले सिङ्गो देशको भविष्य निर्धारण गर्ने हुनाले यसमा नागरिक चासो अनिवार्य रहेको बताउँछन् ।

जेनजी अगुवा भावना राउतका अनुसार राजनीतिक दलहरू कुनै व्यक्ति वा समूहको मात्र नभई ‘साझा सम्पत्ति’ हुन् । रातोपाटीको प्रश्नमा उनले भनिन्, ‘राजनीतिक दल कस्तो बन्छ भन्ने कुरा समाजको ऐना हो । त्यसैले यसलाई खबरदारी गर्नु र सुधारको माग गर्नु हरेक सचेत नागरिकको अधिकारमात्र होइन, कर्तव्य पनि हो ।’

दलहरूले नागरिक र पार्टीबिच पर्खाल खडा गरेको उल्लेख गर्दै उनले त्यो पर्खाल भत्काउन प्रश्न उठाएको स्पष्ट पारिन् ।

यस्तै अर्की अगुवा रक्षा बमले कांग्रेसको आन्तरिक विवादमा चासो दिनुको पछाडि राज्यको स्वेच्छाचारिता र विगतका घटनालाई जोडेकी छन् । भदौ २३ मा गृह प्रशासनले विद्यार्थीमाथि चलाएको गोली र त्यसले सिर्जना गरेको अकर्मण्यताको हिस्सेदार कांग्रेस पनि भएको उनको ठहर छ । ‘हामीले त्यो बेथितिबाट देशलाई निकाल्न परिवर्तन खोजेका हौँ,’ उनले भनिन्, ‘चुनावको सँघारमा रहेको बेला देशको ठुलो दलभित्रको अकर्मण्यताले सिङ्गो पुस्तालाई निराशातर्फ धकेल्ने भएकाले हाम्रो चासो बढेको हो ।’

तनुजा पाण्डेले कांग्रेसलाई ‘सामाजिक पुँजी’ को संज्ञा दिँदै यसमा समाजको लगानी रहेको तर्क गरिन् । ‘नेपाली कांग्रेस प्राइभेट लिमिटेड जसरी चल्न मिल्दैन, यो त सामाजिक पुँजी हो,’ उनले भनिन्, ‘देश बनाउन राज्यसत्तामा जाने दलहरूको आन्तरिक लोकतन्त्र, पात्र र संस्कार कस्तो छ भन्ने कुराले राष्ट्रिय मुद्दालाई प्रत्यक्ष असर गर्छ ।’

पाण्डेले राजनीतिक दलका आन्तरिक जीवनलाई नितान्त व्यक्तिगत विषय नभई राष्ट्रिय सरोकारको विषयका रूपमा बुझ्नुपर्ने बताइन् । ‘देश बिग्रियो भन्दै गर्दा देश बनाउन राज्य सत्तामा आउने राजनीतिक दलहरूको चरित्र, पात्र, संस्कार र आन्तरिक लोकतन्त्र कस्तो छ भन्ने कुरा महत्त्वपूर्ण छ,’ पाण्डेले भनिन् ।

कतिपयले नेपालमा भूराजनीतिक प्रभाव बढ्दै गएको उदाहरणका रूपमा पनि यसलाई व्याख्या गरेका छन् । जेनजी आन्दोलनदेखि नै विभिन्न शक्ति केन्द्रले नेपालमा आफ्नो अनुकूलको राजनीतिक व्यवस्था र समीकरण बनाउन मेहनत गर्दै आएको जिकिर गर्दै उनीहरू सोही क्रममा दलहरूबिच एकता तथा ध्रुवीकरणको सिलसिला चलिरहेको बताउँछन् ।

यसैबिच नेपाली कांग्रेसको संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको बैठकले समेत भूराजनीतिका कारण कांग्रेस विभाजनको सँघारमा पुगेको ठहर गरेको छ । शुक्रबार राजधानीमा बसेको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठकले कांग्रेसलाई कमजोर बनाउन भित्रिया र बाहिरी शक्ति सक्रिय भएको निष्कर्ष निकालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप