शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

क्यानको बढुवा प्रक्रियामा विवाद, एउटै विज्ञापनमा नाम फेरिँदा प्रश्न

शुक्रबार, २५ पुस २०८२, १६ : ३२
शुक्रबार, २५ पुस २०८२

सारांश

  • नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) भित्र बढुवा प्रक्रियामा विवाद चर्किएको छ, जसमा फरक-फरक उम्मेदवार सिफारिस भएका छन्।
  • एउटै विज्ञापन र मूल्याङ्कनमा उम्मेदवार फेरिएपछि कर्मचारीहरूले प्रशासनिक पारदर्शितामाथि प्रश्न उठाएका छन्।
  • विवादित निर्णयका कारण कर्मचारीको वृत्ति विकास र मनोबलमा असर परेको छ, र अधिकारीहरूलाई कारबाहीको सट्टा जिम्मेवारी थपिएको गुनासो छ।

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) भित्र बढुवा प्रक्रियासम्बन्धी विवाद चर्किँदै गएको छ। एउटै विज्ञापन, एउटै मूल्याङ्कन आधार र एउटै प्रक्रियामा पटक–पटक फरक–फरक उम्मेदवार बढुवा सिफारिसमा पर्नुले प्राधिकरणको प्रशासनिक पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको सरोकारवालाको भनाइ छ।

प्राधिकरणले गत जेठ २० मा आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रकाशित गरेको बढुवा सूचनाअनुसार तीन फरक विज्ञापनमार्फत प्राविधिक समूहअन्तर्गत निर्देशक (११ तह), उपनिर्देशक (१० तह) र उपप्रबन्धक (८ तह) पदमा बढुवा सिफारिस गरिएको थियो।

सूचनाअनुसार निर्देशक, ११ तह, प्राविधिक, एयर ट्राफिक सर्भिसतर्फ दीपक कुमार बज्राचार्य ८७.४९०७ अंकसहित पहिलो र उत्सव खरेल ८७.२८७८ अंकसहित दोस्रो स्थानमा सिफारिस भएका थिए। त्यस्तै अर्को विज्ञापन अन्तर्गत उपनिर्देशक, १० तह, प्राविधिक, फ्लाइट अपरेसनतर्फ पाइलट संगम कार्की एकमात्र सिफारिसमा परेका थिए। विज्ञापन नं. २४/०८१/८२ अन्तर्गत पनि उपप्रबन्धक, ८ तह, प्राविधिक, एयर ट्राफिक सर्भिसतर्फ भरत जोशी, ध्रुवराज श्रेष्ठ, शर्मिला के.सी., दुर्गामणि चौधरी र सुषिला वाग्ले योग्यताक्रममा सूचीकृत थिए।

तर उक्त बढुवा सूचनामाथि उजुरी परेपछि गरिएको अनुसन्धानका आधारमा करिब पाँच महिनापछि उही शीर्षक र उही विज्ञापन नम्बर प्रयोग गर्दै संशोधित सूचना प्रकाशित गरियो। संशोधित सूचनाले प्राधिकरणभित्र व्यापक असन्तोष र शंका जन्माएको कर्मचारीहरू बताउँछन्।

WhatsApp Image 2026-01-09 at 14.31.01

संशोधित सूचनाअनुसार नेपालगञ्ज नागरिक उड्डयन कार्यालयमा कार्यरत सुम्मत कुमार चौधरी निर्देशक, ११ तहमा बढुवा सिफारिसमा परेका छन् भने पहिलाको सूचीमा रहेका उत्सव खरेल हटाइएका छन्। उपनिर्देशक, १० तहतर्फ पहिले सिफारिस भएका पाइलट संगम कार्कीको नाम हटाइएर अर्की पाइलट शैलजा मुनाकर्मी समावेश गरिएको छ। उपप्रबन्धक, ८ तहतर्फ पनि सुषिला वाग्लेको स्थानमा राजु महतोको नाम राखिएको छ।

एउटै विज्ञापन र मूल्याङ्कन प्रक्रियामा उम्मेदवारहरू यसरी फेरिनु अस्वाभाविक भएको कर्मचारीहरूको भनाइ छ। “यदि मूल्याङ्कन निष्पक्ष र मापदण्डअनुसार भएको हो भने एउटै विज्ञापनमा नाम किन फेरियो?” भन्ने प्रश्न प्राधिकरणभित्र उठिरहेको उनीहरूको भनाइ छ।

सार्वजनिक संस्थामा लोक सेवा आयोगको निगरानीमा हुने बढुवा प्रक्रिया पारदर्शी र मापदण्डमा आधारित हुनुपर्ने मान्यता रहँदै आएको छ। क्यानमा बढुवा समितिको सदस्य–सचिव तथा प्रशासन प्रमुखको जिम्मेवारी हाल विनोद न्यौपानेले सम्हालिरहेका छन्।

तर विगत लामो समयदेखि एउटै पदमा कार्यरत न्यौपानेको भूमिकाप्रति कर्मचारी वृत्तमा असन्तोष बढ्दै गएको बताइन्छ। एउटै विज्ञापन पटक–पटक संशोधन हुनुलाई प्रशासनिक कमजोरी कि नियोजित हस्तक्षेप भन्ने प्रश्न उठेको छ।

WhatsApp Image 2026-01-09 at 14.31.18

कर्मचारीहरूका अनुसार यस्तो अवस्थाले उनीहरूको वृत्ति विकास, मनोबल र भविष्य योजनामा प्रत्यक्ष असर परेको छ। विवादित निर्णयका कारण आलोचना खेपेका अधिकारीहरूलाई कारबाहीको सट्टा जिम्मेवारी थपिएको गुनासो पनि प्राधिकरणभित्र सुनिन थालेको छ।

एक कर्मचारीले भने, 'यदि अहिले यति धेरै चलखेल सम्भव छ भने विगतका वर्षहरूमा कति अनियमितता भए होलान् भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ।' 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप