बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

महासङ्घको आगामी नेतृत्वमा सर्वसम्मत चयनको पहल हुन्छ : अध्यक्ष ढकाल

शुक्रबार, २५ पुस २०८२, १७ : २०
शुक्रबार, २५ पुस २०८२

सारांश

  • नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको पहल गर्ने बताए।
  • अध्यक्ष ढकालले निजी क्षेत्रको हकहितका लागि सरकारसँग निरन्तर संवाद र सहकार्य भइरहेको जानकारी गराए।
  • उनले निजी क्षेत्रको मनोबल उठाउन र लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिए।

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले आसन्न ६० औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने बताएका छन् । शुक्रबार भक्तपुर उद्योग वाणिज्य संघको २८ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले महासङ्घको संस्थागत सुधार, नीतिगत निरन्तरता र निजी क्षेत्रको एकताका लागि आगामी महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न आवश्यक रहेको र आफूले सो पहल गरिरहेको बताए ।  अध्यक्ष ढकालले महासंघले नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रको हक–हित संरक्षणका लागि सरकारसँग निरन्तर संवाद र सहकार्य गर्दै आएको बताए । 

निजी क्षेत्रलाई अख्तियारको दायरमा ल्याउन नहुने विषयको पैरवी देखि अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार आयोग गठन र लगानीमैत्री वातावरण निर्माणका लागि दजर्नौं कानुन संशोधनमा महासंघले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

‘उत्पादन, रोजगारी र लगानी प्रवर्द्धनका लागि नीतिगत स्थायित्व र सरकार–निजी क्षेत्रबिचको सहकार्य अपरिहार्य छ । निरन्तरको प्रयासले धेरै नीतिगत सुधारहरू भएका छन् ,‘ उनले भने, ‘मुलुक भित्र लगानी प्रवर्द्धन र नीतिगत सुधारमा महासङ्घको बलियो उपस्थिति देखिएको छ ।’ 

पछिल्लो समय निजी क्षेत्रको मनोबल खस्किएको चर्चा गर्दै उनले यो अवस्थामा निजी क्षेत्रले शान्ति सुरक्षा लगानी गर्ने वातावरणको सुनिश्चितता खोजिरहेको धारणा राखे ।  

मुलुकको आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रको मनोबल माथि उठाउनु आजको आवश्यकता रहेका बताउँदै उनले भाद्र २३ र २४ को गतेको प्रदर्शनका क्रममा भएको गलत घुसपैठ गरी उद्योग व्यवसाय तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेहरूलाई कानुनी कारबाही गर्नु पर्नेमा जोड दिए ।  

अध्यक्ष ढकालले त्यही उद्देश्यका साथ महासङ्घको पहलमा १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरी काम भइरहेको बताए । यो कम्पनीले ठुला पूर्वाधार परियोजनामा निजी क्षेत्रको सहभागिता,उत्पादनमूलक क्षेत्रमा लगानी रोजगारी सिर्जनाको उद्देश्य राखेको बताउँदै उनले स्थानीय उद्यमीहरूले यो अवसरलाई सदुपयोग गर्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप