बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पहिरोले उजाडिएको बिसौनाका नागरिकले पाए लालपुर्जा

शनिबार, २६ पुस २०८२, ०५ : ३४
शनिबार, २६ पुस २०८२

गुल्मी । पहिरोले पटक जीवन र बस्ती लुटेको मुसिकोट नगरपालिका–१ बिसौनाका पीडित परिवारले डेढ दशकपछि बल्ल लालपुर्जा पाएका छन् । बिसौनाबाट विस्थापित १५ घरपरिवारले बस्ती स्थानान्तरणका लागि थामडाँडामा खरिद गरिएको जग्गाको जग्गाधनी प्रमाणपत्र पाएका हुन् ।

बिसौनाको पहिरो इतिहास दर्दनाक छ । विसं २०६४ र २०८१ मा गएको पहिरोले एउटै बस्तीबाट १० जनाको ज्यान लिएको थियो । पहिरोले घर च्याप्दा चोकबहादुर विकका आमा रुन्नती विक, श्रीमती अमृता विक तथा छोरा कृष्ण र सुरजको अकालमै ज्यान गएको थियो ।

पहिरोको त्रासबाट बच्न छिमेकीको घरमा ओत खोज्न आएका डल्ली विक र मुना विकले समेत पहिरोमै परेर ज्यान गुमाउनु पर्‍यो । “त्यो दिन म भारतमा थिएँ, यहाँ भएको भए सायद आज म पनि उनीहरूसँगै मर्ने रहेछु”, चोकबहादुर विक विगतको उक्त दर्दनाक घटना सम्झँदै भन्छन् ।

भारतबाट फर्किएपछि उनी बिसौना छाडेर थाममा बसाइँ सरे । तर नियतिले फेरि पीडा थप्यो । विसं २०८१ साउन २२ गते बिसौनामै पुनः पहिरो जाँदा पहिलेको पहिरोमा बाँचेकै उनका आफन्त चार जनाले ज्यान गुमाउनुपरेको थियो । लगातारको जोखिमपछि बिसौनाका १५ परिवार गत वर्षदेखि गाउँ छाडेर थाममा अस्थायी रूपमा बसोबास गर्दै आएका थिए ।

अहिले नगरपालिका र लाभग्राहीको ५०/५० प्रतिशत लागत साझेदारीमा थामडाँडा नजिकै नौ रोपनी १५ आना जग्गा खरिद गरिएको छ । नगरपालिकाका प्रमुख जीवलाल खरेलले पीडितलाई सुरक्षित जमिनको मालिक बनाउन मात्र डेढ वर्ष लागेको बताए ।

“नजिकको स्थानीय सरकार भएकाले पीडामा आँसु पुच्छ्न आएका थियौँ, लामो समयको पखाइपछि भर्खर सुरक्षित ठाउँमा जग्गा पाएका छौँ, अब उहाँहरूको घर निर्माणका लागि सङ्घ र प्रदेश सरकारसँग समन्वय र पहल भइरहेको छ”, उनले भने। जग्गाको कित्ताअनुसार लाभग्राहीले रु एक लाखदेखि एक लाख ५० हजारसम्म बुझाएका छन् ।

लाभग्राही र नगरपालिकाको संयुक्त लगानीमा करिब रु ३५ लाखमा जग्गा खरिद गरिएको नगर उपप्रमुख गङ्गा श्रेष्ठले जानकारी दिइन् । श्रेष्ठका अनुसार विस्थापित परिवारका लागि नगरपालिकाले गत वर्षदेखि भाडाको व्यवस्था गर्दै आएको छ ।

लालपुर्जा पाएसँगै पीडितलाई अब चाँडै घरको आवश्यकता छ । पहिरो पीडित फुलमती विकको पाँच जनाको परिवार अरूको घरमा बसेको डेढ वर्ष भयो । बास एकातिर, बारी अर्कोतिर हुँदा आफूहरूलाई धेरै समस्या परेको उनले गुनासो गरिन् । जग्गाका लागि ऋण खोजेर पैसा बुझाए पनि अब घर कसले बनाइदेला भन्ने आसमा पीडित परिवार छन् ।

भिरालो र कच्ची जमिनका कारण पटक–पटक बसाइँ सर्नुपरेको बिसौनामा २० देखि २२ घर जोखिममा भए पनि हाल १५ घरका लागि मात्रै जग्गा व्यवस्थापन गरिएको वडाध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिए । जिल्लाका अधिकांश दलित बस्ती भिरालो र जोखिमयुक्त भूभागमा रहेकाले पहिरोको खतरा अझै ठुलो रहेको स्थानीयको चिन्ता छ ।

लालपुर्जासँगै सुरक्षित बास र स्थायी जीवनको आशा पलाए पनि, थामडाँडामा विस्थापितका लागि घर निर्माण र जीविकोपार्जन अझै चुनौतीकै विषय बनेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप