बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आशाको उज्यालो, निराशाको अँध्यारो

शनिबार, २६ पुस २०८२, १४ : ४२
शनिबार, २६ पुस २०८२

सारांश

  • पछिल्लो १५ वर्षमा विश्वभर राजनीतिक अस्थिरता र जनअसन्तोष बढेको छ, जसका कारण सरकार परिवर्तन भएका छन्।
  • विभिन्न देशहरूमा भ्रष्टाचार विरोधी, आर्थिक संकट र युवा नेतृत्वका आन्दोलनहरू देखिएका छन्।
  • नयाँ राजनीतिक शक्तिहरूले जनताको अपेक्षा पूरा गर्न नसक्दा छिट्टै कमजोर हुने सम्भावना रहेको छ।

गत १५ वर्ष विश्वभर राजनीतिक अस्थिरता र जनअसन्तोषको लहर चल्यो । यसका मुख्य कारण; जनताको असन्तोष, भ्रष्टाचारविरोध, आर्थिक संकट, मानवअधिकार उल्लंघन, गठबन्धन विघटन र सैन्य हस्तक्षेप रहेका छन् । कतिपय देशमा यी आन्दोलनले सरकार ढालेका छन् वा प्रधानमन्त्री र राष्ट्रपतिको पद परिवर्तन गराएका छन् । विशेषगरी एसिया, अफ्रिका, युरोप र ल्याटिन अमेरिकामा यस्ता गतिविधि निरन्तर देखिएका छन् । 

सन् २०१०-११ को अरब स्प्रिङबाट सुरु भएको यो लहरले ट्युनिसिया, इजिप्ट, लिबियाजस्ता देशमा तानाशाहहरू ढालेका थिए । त्यसपछि युरोपमा सरकारले खर्च घटाउने, कर बढाउने वा सार्वजनिक सेवामा कटौती गर्ने कदम (अस्टरिटी नीति)विरोधी आन्दोलन, ल्याटिन अमेरिकामा आर्थिक संकटविरोधी प्रदर्शन, अफ्रिकामा भ्रष्टाचार र निर्वाचन धाँधलीविरोधी आन्दोलन अनि एसियामा युवा नेतृत्वका विद्रोहहरू भएका छन् ।

विश्वभर हुने प्रदर्शन, विरोध र आन्दोलनहरूको तथ्यांक संकलन र विश्लेषण गर्ने डेटाबेस ,कार्नेगी इन्डोमेन्टको ग्लोबल प्रोटेस्ट ट्र्याकरका अनुसार सन् २०१७ देखि मात्र १४७ भन्दा बढी देशमा ठुला विरोध प्रदर्शन भएका छन् । सन् २०२४ मा मात्र ७० भन्दा बढी देशमा सक्रिय आन्दोलन भएका थिए । श्रीलंकामा उथल पुथल, बंगलादेशमा छात्र नेतृत्वको आन्दोलनले शेख हसिना सरकार ढालेको थियो, केन्यामा करविरोधी प्रदर्शन र सर्बियामा भ्रष्टाचारविरोधी आन्दोलन केही उदारहण हुन् । 

सन् २०२५ मा पनि यो क्रम वैधानिक रूपमा नै जारी रह्यो । विश्वभर ५८ भन्दा बढी देशमा राष्ट्रियस्तरका चुनाव भएका थिए । जसमा राष्ट्रपतीय, संसदीय वा दुवै प्रकारका निर्वाचन समावेश थिए । यी चुनावहरूमा धेरैजसो पुराना सत्ताधारी दलहरूले हार बेहोरेका थिए । तेस्रो विश्वका देशहरूमा मात्र हैन विकसित देशहरू जस्तै बेलायत (कन्जर्भेटिभको ऐतिहासिक हार), जापान (लिबरल डेमोक्र्याटिक पार्टीको बहुमत गुमाएको), दक्षिण अफ्रिका (एएनसीको बहुमत समाप्त) र अमेरिका (डेमोक्र्याटको हार) मा पनि सत्तापरिवर्तनको बहार आयो । 

विश्वका धेरै देशमा परम्परागत राजनीतिक दलहरू सत्ता, भ्रष्टाचार, नातावाद र जनविमुख नीतिका कारण बदनाम बन्दै जाँदा नयाँ राजनीतिक शक्तिहरू जन्मिएका छन् । ती शक्तिहरूले 'हामी फरक छौँ', 'पुराना जस्तै हुँदैनौँ' भन्ने नारासहित जनताको ठुलो अपेक्षा बोकेर राजनीतिमा प्रवेश गर्दछन् । कतिपय त सरकारसम्म पुगे, ऐतिहासिक जित हासिल गरेका पनि छन् । तर विडम्बना धेरै पार्टीहरू केही वर्षमै कमजोर अनि विभाजित भएर लगभग हराएका छन् । 

 घटनाहरूले के देखाउँछन् भने जनताको असन्तोष अब सीमित क्षेत्रमा मात्र होइन, विश्वव्यापी बनेको छ । आर्थिक असमानता, महँगी, बेरोजगारी, भ्रष्टाचार र प्रजातान्त्रिक अधिकारको अभाव मुख्य कारक बनेका छन् । युवा पुस्ता (जेनजी) ले सामाजिक सञ्जालको प्रयोग गरेर यी आन्दोलनलाई तीव्र बनाएका छन्, जसलाई कतिपयले जेनजी विद्रोह भन्ने गरेका छन् । तर धेरै आन्दोलनले दीर्घकालीन परिवर्तन ल्याउन सकेका छैनन । कतिपयमा हिंसा बढेको छ वा नयाँ समस्या उत्पन्न भएका छन् । 

यो विश्वव्यापी असन्तोषले पुराना राजनीतिक दल र नेतृत्वप्रति जनविश्वास घट्दै गएको प्रमाणित गर्छ । नयाँ शक्ति उदाउने अवसर बढेको छ, तर तिनीहरूले पनि संगठन, नीति स्पष्टता र शासन क्षमता नदेखाएमा छोटो आयुको हुने सम्भावना रहन्छ । विश्व राजनीति अब अझ अस्थिर र परिवर्तनशील बन्दै गएको छ । 

विश्वका धेरै देशमा परम्परागत राजनीतिक दलहरू सत्ता, भ्रष्टाचार, नातावाद र जनविमुख नीतिका कारण बदनाम बन्दै जाँदा नयाँ राजनीतिक शक्तिहरू जन्मिएका छन् । ती शक्तिहरूले 'हामी फरक छौँ', 'पुराना जस्तै हुँदैनौँ' भन्ने नारासहित जनताको ठुलो अपेक्षा बोकेर राजनीतिमा प्रवेश गर्दछन् । कतिपय त सरकारसम्म पुगे, ऐतिहासिक जित हासिल गरेका पनि छन् । तर विडम्बना धेरै पार्टीहरू केही वर्षमै कमजोर अनि विभाजित भएर लगभग हराएका छन् । 

केही उदाहरणका रूपमा पेरुको पेरु लिब्रे, इटालीका इटालिया भिभा र फाइभ स्टार मुभ्मेन्ट (M5S), फ्रान्सको ला रेपुब्लिक एन मार्च, स्पेनका पोडेमोस र सियुदादानोस, जर्मनीको पाइरेट पार्टी र बेलायतको युकीप लगायतका पार्टीहरू हुन् । यी सबै दलहरू अलग–अलग भौगोलिक, सांस्कृतिक र वैचारिक पृष्ठभूमि भएका भए पनि, उनीहरूको उदय, सत्ता प्राप्ति र पछि कमजोर हुने प्रक्रिया समान र सिक्नयोग्य छन्  । 

पेरु लिब्रे, जसलाई 'फ्री पेरु' पनि भनिन्छ, २०१६ मा स्थापित भएको वामपन्थी पार्टी हो । यसले ग्रामीण, गरिब र पिछडिएका वर्गलाई प्रतिनिधित्व गर्ने लक्ष्य राख्यो र भ्रष्टाचार र पुराना दलप्रति असन्तोषको फाइदा उठाउँदै राजनीतिक मञ्चमा उदायो । २०२१ मा पेद्रो कास्तिलोको नेतृत्वमा पार्टीले राष्ट्रपतीय चुनाव जितेर सत्ता सम्हाले । पार्टीले शिक्षा सुधार, कृषि पूर्वाधार विकास र गरिब वर्गको सामाजिक सुरक्षा विस्तारमा ध्यान दियो । सुरुमा पार्टीले ग्रामीण र पिछडिएका क्षेत्रहरूमा ठुलो लोकप्रियता पायो, तर प्रशासनिक अनुभवको कमी, आन्तरिक विवाद, भ्रष्टाचार आरोप र नीति अस्पष्टताका कारण जनविश्वास घट्यो । कास्तिलोमाथि प्रत्यक्ष र अप्रत्यक्ष विरोध आयो र दीर्घकालीन नीति अभावले पार्टीको प्रभाव सीमित भयो । 

इटालीमा इटालिया भिभा २०१९ मा पूर्व प्रधानमन्त्री मात्तेओ रेन्जीको नेतृत्वमा स्थापित भयो । यो मध्यमार्गी, उद्यमी केन्द्रित पार्टीले पुराना डेमोक्रेटिक पार्टीबाट असन्तुष्ट सांसदहरूको समर्थन पायो र गठबन्धनमार्फत सत्तामा प्रभाव देखायो । तर इटालिया भिभाले स्थायी जनाधार निर्माण गर्न सकेन, यसको नीति उद्यम, आर्थिक सुधार र नवप्रवर्तनमा केन्द्रित भए पनि स्पष्ट वैचारिक दिशा र दीर्घकालीन रणनीति नहुँदा पार्टी अल्पकालीन प्रभावमा सीमित रह्यो । व्यक्तिगत नेता केन्द्रित राजनीति र कमजोर ग्रासरुट्स संगठन यसको पतनका मुख्य कारण बने । 

त्यस्तै इटालीमा नै फाइभ स्टार मुभ्मेन्ट (M5S) २००९ मा हास्यकलाकार र सामाजिक आलोचक बेप्पे ग्रिल्लोद्वारा स्थापित भएको थियो । पार्टीले भ्रष्टाचार, पुराना दलको असफलता र सामाजिक असमानता विरोधमा डिजिटल माध्यम र प्रत्यक्ष जनमतमार्फत जनतालाई आकर्षित गर्‍यो । २०१८ मा M5S ले संसदीय चुनावमा ठुलो सफलता हासिल गरी सरकारमा प्रवेश गर्‍यो । सुरुमा यसले युवा र असन्तुष्ट मतदाताको ठुलो समर्थन पायो र भ्रष्टाचार नियन्त्रण, सरकारी खर्चमा पारदर्शिता र न्यूनतम आम्दानी विस्तारमा ध्यान दियो । तर नेतृत्व विवाद, नीति अस्पष्टता र अनुभवहीनताका कारण यसको विद्रोही छवि कमजोर भयो र अहिले M5S मुख्य रूपमा विपक्षी दलको रूपमा रहँदै आएको छ । 

अन्य युरोपेली उदाहरणहरू पनि यस्तै प्रवृत्ति देखाउँछन् । फ्रान्समा ला रेपुब्लिक एन मार्च (LREM), जसलाई इमानुएल माक्रोँ ले २०१६ मा स्थापित गरे र तुरुन्तै राष्ट्रपति र संसदीय बहुमत प्राप्त भयो । तर सांगठानिक कमजोर आधार र येलो भेस्ट आन्दोलन ले जनविश्वासमा चुनौती पैदा गर्‍यो । दोस्रो पटक निर्वाचन जिते पनि प्रधानमन्त्री फेरिँदैमा समय बितेको छ ।अर्को चुनावमा उनको पार्टीले जित्ने सम्भावना देखिँदैन । स्पेनमा पोडेमोस र सियुदादानोस आर्थिक संकट र बेरोजगारीको विरोधमा उदाए तर आन्तरिक विवाद, अस्पष्ट नीति र गठबन्धन रणनीति अभावका कारण उनीहरू अल्पकालीन प्रभावमा सीमित भए ।

जर्मनीको पाइरेट पार्टी डिजिटल अधिकार र पारदर्शिताको प्रतीक बने तर अनुभव र नीति अभावका कारण स्थायी प्रभाव कायम राख्न सकेन । बेलायतमा युकीपको मुख्य उद्देश्य ब्रेक्सिटको जनमतसंग्रहमा जित्नु थियो । त्यसपछि पार्टी पटक–पटक फेरिएर अहिले फेरि रिफर्मको नाममा नाइजल फराज देखापरेका छन् । 

ब्राजिलमा मजदुर आन्दोलन र वामपन्थी अभियानबाट सत्तामा आएको वर्कर्स पार्टीको दिल्मा रुसफ सरकार २०१६ मा आर्थिक मन्दी र भ्रष्टाचार काण्डपछि बिचमै पतन भयो । चिलीमा २०१९ को विशाल जनआन्दोलनपछि बनेको नयाँ वाम गठबन्धनले गाब्रिएल बोरिचलाई सत्तामा त ल्यायो, तर संविधान संशोधन असफल भएपछि सरकार छिट्टै कमजोर अवस्थामा पुग्यो । इक्वेडोरमा आदिवासी र सामाजिक आन्दोलनको समर्थनमा बनेका सरकारहरू (विशेषतः २००० को दशकपछि) स्थिर रहन सकेनन् र बारम्बार परिवर्तन भए ।

ग्वाटेमालामा भ्रष्टाचारविरोधी आन्दोलनबाट उदाएका नेताहरू छोटो समयमै पुराना शक्ति संरचनासँग टकराएर कमजोर बने । यी सबै उदाहरणले देखाउँछन् कि आन्दोलनबाट सत्ता पुग्नु सम्भव भए पनि संस्थागत तयारी, नीति स्पष्टता र दीर्घकालीन संगठनबिना सरकार टिकाउन अत्यन्त कठिन हुन्छ । 

भारतको अनुभव पनि यही सत्यको पुष्टि हो । आम आदमी पार्टीजस्ता दलहरूले क्षेत्रीय तहमा ठोस काम देखाए पनि राष्ट्रियस्तरमा संगठन, वैचारिक स्पष्टता र आन्तरिक स्थायित्वको अभावले गति गुमाएका छन् । तेलुगु देशम पार्टी, जनता दल र अन्य आन्दोलनजन्य दलहरू पनि समयसँगै गुटबन्दी, व्यक्तिकेन्द्रित नेतृत्व र अवसरवादी राजनीतिका कारण कमजोर बनेका छन् । 

यी सबै उदाहरणहरूले विश्वव्यापी रूपमा केही साझा राजनीतिक सत्य उजागर गर्छन् । राजनीतिमा आशा प्रायः उज्यालोझैँ देखिन्छ । नयाँ अनुहार, नयाँ नारा र परिवर्तनका सपना बोकेर आउने शक्तिले जनतामा उत्साह जगाउँछ । पुराना दलप्रतिको निराशा, अन्याय र असमानताले थिचिएका नागरिकहरू त्यही उज्यालोतर्फ आकर्षित हुन्छन् । तर जब त्यो आशा संस्थागत तयारी, स्पष्ट नीति र व्यवहारिक क्षमतासँग जोडिँदैन, उज्यालो बिस्तारै ओझेल पर्न थाल्छ र निराशाको अँध्यारो फैलिन थाल्छ । 

आन्दोलनबाट जन्मिएको उत्साह सत्ता पाउनेसम्म बलियो हुन्छ, तर शासन सुरु भएपछि वास्तविक चुनौती देखापर्छ । वाचा पूरा नहुँदा, आन्तरिक द्वन्द्व बढ्दा र निर्णयहरू व्यक्तिकेन्द्रित हुँदा जनविश्वास खस्किन्छ । त्यसबेला आशाको उज्यालो क्षणिक देखिन्छ र निराशाको अँध्यारो दीर्घकालीन बन्छ । यसैले राजनीतिमा साँचो उज्यालो केवल नारा वा व्यक्तित्वमा होइन, बलियो संस्था, सामूहिक नेतृत्व र दीर्घकालीन दृष्टिमा बस्छ । त्यही आधारबिना, आशा बारम्बार जन्मिए पनि अन्ततः निराशामै हराउने खतरा रहिरहन्छ । 

नेपालमा देखिएको परिवर्तनको संकेतले पनि अन्ततः यही विश्व घटनालाई पछ्याउनेजस्तो देखिन्छ । तर यी पाठहरू सिकेर समयमा नै सजग हुने र जनहितको काम गर्ने हो भने वैकल्पिक शक्तिहरूको केही टिकाउ हुन सक्छ । हैन भने नागरिकहरूमा फेरि निराश जन्मिने र उनीहरूले अर्को उपाय खाज्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेन्द्र नेपाल श्रेष्ठ
सुरेन्द्र नेपाल श्रेष्ठ
लेखकबाट थप