मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

विशेष महाधिवेशनमा गण्डकी कांग्रेसको छुट्टै प्रस्ताव : कम्युनिस्ट एजेन्डा बोकेकोमा माफी मागौँ

शनिबार, २६ पुस २०८२, १५ : ५६
शनिबार, २६ पुस २०८२

सारांश

  • गण्डकी प्रदेश कांग्रेसले विशेष महाधिवेशनमा जनतासँग माफी माग्दै मूल बाटोमा फर्किनुपर्ने माग गरेको छ।
  • कांग्रेसले धर्म निरपेक्षता र शासकीय स्वरूपमा कम्युनिस्ट एजेन्डा बोकेको स्वीकार्दै, विरासतमा फर्कने प्रस्ताव गरेको छ।
  • उनले पार्टीको अस्तित्व संकटमा रहेको भन्दै बीपी कोइरालाको बाटोमा फर्किन बहस चलाउन आग्रह गरे।

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशले विशेष महाधिवेशनमा जनतासँग माफी मागेर मूल बाटोमा फर्किने सङ्कल्प गर्नुपर्ने माग राखेको छ । विशेष महाधिवेशन लक्षित गर्दै गण्डकीका सभापति शुक्रराज शर्माले शनिबार एक अवधारणा पत्र सार्वजनिक गर्दै धर्म निरपेक्षता र वर्तमान शासकीय स्वरूपमा कांग्रेसले कम्युनिस्ट एजेन्डा बोकेको स्वीकार गर्दै जनतासँग सार्वजनिक माफी माग्नुपर्ने माग राखेका छन् ।

कांग्रेस विशेष महाविधेसन पुस २७ र २८ गते भृकुटीमण्डपमा हुँदैछ । विशेष महाधिवेशनको पूर्व सन्ध्यामा गण्डकी प्रदेशले पार्टीको ‘कोर्स करेक्सन’ को एजेन्डालाई मुख्य बहसको रुपमा अघि सारेको हो । २०६१ सालको आन्दोलनपछि कांग्रेसले आफ्नो मौलिक सिद्धान्त (राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र सनातन धार्मिक स्वतन्त्रता) छाडेर अरूकै एजेन्डामा सम्झौता गर्नु ऐतिहासिक भूल भएको अवधारणामा उल्लेख छ ।

‘प्रजातन्त्रको ठाउँमा लोकतन्त्र, समाजवादको ठाउँमा समाजवाद उन्मुख, सनातन धार्मिक स्वतन्त्रताका ठाउँमा निरपेक्ष र संवैधानिक राजतन्त्रका ठाउँमा गणतन्त्र राखेर अन्तरिम संविधान लेख्यौँ,’ अवधारणा पत्रमा भनिएको छ, ‘यसको व्यवस्थापनमा ध्यान पुर्याएनौं, त्यसैले सार्वजनिक रूपमा क्षमा मागौँ ।’ पार्टी अहिले अस्तित्वको सङ्कटमा रहेको भन्दै उनले विरासतमा फर्कने प्रस्तावलाई विशेष महाधिवेशनको मुख्य मुद्दा बनाउन माग गरेका छन् ।

महासमिति बैठकमा १ हजार २ सयभन्दा बढी सदस्यले हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर बुझाउँदा पनि नेतृत्वले छलफल नगराएको भन्दै शर्माले प्रश्न गरेका छन् । प्रस्तावमा भनिएको छ, ‘गुमेका हाम्रा विरासतहरू– राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र सनातन धार्मिक स्वतन्त्रता पुनः बहाल गरौँ’ गणतन्त्रकै विषयमा पनि पुनर्विचार गर्नुपर्ने वा प्रतिक्रियावादीले खेल्न नसक्ने गरी यसको व्यवस्थापन गर्नुपर्ने उनको माग छ ।

जेनजी आन्दोलनपछि देश संकटको भुमरीमा फसेको विश्लेषण गर्दै शर्माले अब खरानी माथिबाट देशको भविष्य निर्धारण गर्नुपर्ने बेला आएको तर्क गरेका छन् । आन्दोलनका क्रममा भएको धनजनको क्षतिको छानबिन र क्षतिपूर्तिको माग पनि विशेष महाधिवेशनले गर्नुपर्ने उनी बताउँछन् । उनले कांग्रेसलाई बिपी कोइरालाको मौलिक बाटोमा फर्कने बहसलाई विशेष महाधिवेशनमा औपचारिक रूपमा प्रवेश गराउनुपर्ने बताए । 

विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता डा.शेखर कोइराला लगायतलाई पनि सहभागिताका लागि उनले आग्रह गरेका छन् । 

612319844_25433479959608523_920265168146503226_n23

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप