बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आईजीपी कार्की भन्छन्– प्रहरीका खुट्टामा जुत्ता नहुँदा पनि सडकमै थियौँ

शनिबार, २६ पुस २०८२, १६ : ०७
शनिबार, २६ पुस २०८२

सारांश

  • आईजीपी दानबहादुर कार्कीले कठिन परिस्थितिमा पनि प्रहरी नागरिकको सुरक्षामा खटिएको बताए।
  • उनले जेनजी प्रदर्शनमा भएको क्षति र प्रहरीको मनोबल उच्च रहेको कुरा उल्लेख गरे।
  • सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह-२०८२ सुरु भएको छ।

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले कठिन परिस्थिति र ठुलो भौतिक क्षतिका बाबजुद पनि प्रहरी टोली नागरिकको सुरक्षाका लागि अविचलित रूपमा खटिएको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित 'सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह-२०८२' को शुभारम्भ गर्दै उनले प्रहरीको मनोबल उच्च रहेको स्पष्ट पारेका हुन्।

गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा प्रहरीका विभिन्न कार्यालयमा आगजनी गरिएको र ट्राफिक संरचनामा ठुलो क्षति पुगेको स्मरण गर्दै महानिरीक्षक कार्कीले प्रहरीले सधैँ कर्तव्यलाई प्राथमिकता दिएको उल्लेख गरे। "त्यस कठिन घडीमा प्रहरीका खुट्टामा जुत्ता र शरीरमा लुगा नहुँदा समेत टोली नागरिकको सुरक्षाका लागि सडकमा उभिइरह्यो," उनले भने, "हामी अहिले खरानीबाट उठेर पनि नागरिकको सुरक्षा सुनिश्चित गर्न सडकमै छौँ।" उनले ट्राफिक प्रहरीले सडकमा हात हल्लाएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न सबै नागरिकलाई सभ्य र जिम्मेवार बन्न आग्रह गरे।

कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले आन्दोलनका क्रममा ट्राफिकका महत्त्वपूर्ण उपकरण र नागरिकका कागजात जलेर नष्ट भएको जानकारी दिए। उनले अहिले पुनर्निर्माणको चरणमा रहेको भन्दै भविष्यमा यस्ता ध्वंसात्मक गतिविधि नदोहोरिने विश्वास व्यक्त गरे। यस्तै, काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोलले शिक्षित वर्गबाटै ट्राफिक नियम बढी उल्लङ्घन हुने गरेको भन्दै यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिइन्।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) ईश्वर कार्कीले बढ्दो सवारी चाप र दुर्घटना न्यूनीकरणका लागि प्रहरी, चालक र यात्रु सबैको साझा जिम्मेवारी रहने बताए। आजदेखि सुरु भएको यो अभियान आगामी माघ ३ गतेसम्म सञ्चालन हुनेछ, जसअन्तर्गत ट्राफिक सचेतना, सवारी अनुशासन र पैदल यात्री सुरक्षासम्बन्धी विविध कार्यक्रम गरिनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप