पोखरामा सूचना–प्रविधि र ‘स्टार्टअप’ मेला हुँदै
सारांश
- पोखरामा सूचना प्रविधि र स्टार्टअप व्यवसाय प्रदर्शनी माघमा हुने भएको छ ।
- राष्ट्रिय युवा परिषद् र पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा मेला आयोजना हुनेछ ।
- मेलामा युवा उद्यमीहरूले उत्पादन गरेका प्रविधि र व्यवसाय प्रदर्शन गरिनेछ ।
कास्की । गण्डकी प्रदेश राजधानी पोखरामा सूचना–प्रविधि तथा ‘स्टार्टअप’ व्यवसाय प्रदर्शनी हुने भएको छ । नवप्रवर्तनमार्फत रोजगारी सृजना र बेरोजगारी अन्त्यका लागि युवापुस्ताका उद्यमीबाट उत्पादित प्रविधि तथा व्यवसाय प्रदर्शनका लागि मेला गर्न लागिएको हो ।
नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्ले पोखरा उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा आगामी माघ अन्तिम साता प्रदर्शनी हुनेछ । मेलामा गण्डकी प्रदेशभित्रबाट छानिएका १५ वटा नवीन सोचमा आधारित उद्यम, वस्तु तथा सेवा वा प्रक्रियामा नवप्रवर्तनसँग सम्बन्धित व्यवसायको प्रदर्शनी गरिनेछ ।
सो प्रदर्शनी प्रतिस्पर्धात्मक हुने र पहिलो हुनेले रु ४० हजार, द्वितीयले रु ३० हजार तृतीय हुनेले रु २० हजार पुरस्कार प्राप्त गर्ने राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले जानकारी दिए । “प्रदर्शनीमा सहभागी हुन चाहनेहरूले अनलाइन फाराम भर्नुपर्नेछ । तीमध्ये छानिएकालाई मेलामा सहभागी गराइने, आवेदकको उमेर ४० वर्ष ननाघेको, उद्योग/व्यवसाय सञ्चालन गरेको १० वर्षभन्दा बढी नभएको तथा सरकारी कार्यालयमा दर्ता भएको एवं वार्षिक कारोबार रु १५ करोडभन्दा बढी नभएको हुनुपर्नेछ”, गौतमले भने ।
पोखराबाट सुरु गरिने यो प्रदर्शनी देशका सातवटै प्रदेशमा आयोजना गरिने छ भने अन्तिममा काठमाडौँमा हुने बृहत् प्रतिस्पर्धात्मक प्रदर्शनीमा समेत प्रदेशमा उत्कृष्ट रहेकालाई सामेल गरिने परिषद्ले जनाएको छ ।
प्रदर्शनीको तयारीको सन्दर्भमा युवा परिषद्ले पोखरामा अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न गरेको छ । कास्कीसहित स्याङ्जा, बागलुङ, तनहुँ, पर्वतका उद्योगी/व्यवसायीको सहभागिता रहेको सो अभिमुखीकरण कार्यक्रममा बोल्दै उद्यमशीलता विकास विज्ञ इन्जिनियर रमेश सुवेदीले नवप्रवर्तनमार्फत रोजगारी सृजना र युवा पलायन रोक्नका लागि मेला आयोजना गरिएको बताए ।
पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले युवापुस्ताको पलायन रोकियोस्, देशमै रोजगारी सृजना होस् भन्ने निजी क्षेत्रको चाहना रहेको बताए । “गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा उद्योगी/व्यवसायीमाथि भएको आक्रमणका कारण निजी क्षेत्र हतोत्साही बनेको अवस्थामा यस्ता प्रदर्शनीले युवापुस्तालाई प्रोत्साहित गर्नेछ”, कार्कीले भने ।
पोखरा महानगरपालिकाको व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारीले उद्यमशीलता विकासका निम्ति पोखरा महानगरपालिकाले चालेका कदमहरूबारे जानकारी दिँदै युवा परिषद्ले आयोजना गर्ने कार्यक्रमले नयाँ सोचको विकास गराउने बताए ।
युवा परिषद्का उपसचिव तारापति खरेलले निजी क्षेत्र र खास गरी युवाहरूलाई सृजनात्मक व्यवसायमा सामेल गराउनका निम्ति मेला आयोजना गरिन लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण