टी-२० विश्वकप : टेस्ट राष्ट्रलाई हराउने लक्ष्य लिएको नेपाली टोली
सारांश
- नेपालले टी-२० विश्वकप २०२६ का लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गर्यो।
- टोली छनोटमा कन्डिसन, खेलाडीको क्षमता, टिम संयोजन र रणनीतिक पक्षलाई ध्यान दिइएको छ।
- स्पिनरमा ललितनारायण राजवंशी, शेर मल्ल र सन्दीप लामिछाने मुख्य हतियार हुनेछन्।
काठमाडौं । भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप-२०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भइसकेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली सार्वजनिक गरेसँगै क्रिकेटप्रेमीहरू उत्साहित भएका छन् ।
यसपटकको टी-२० विश्वकप नेपालका लागि ठुलो परीक्षा हुनेछ । वेस्ट इन्डिजलाई हराएपछि बढेको अपेक्षालाई यो नेपाली राष्ट्रिय क्रिकेट टोलीले पूरा गर्न सक्छ कि सक्दैन भन्नेमा धेरैको चासो देखिन्छ । नेपाली टोलीले टी-२० विश्वकपमा कुनै टेस्ट नेसनलाई हराउन सक्ला ? प्रतियोगिता सुरु हुनुअघि नेपाली क्रिकेटप्रेमीहरूमा जागिरहेको प्रश्न हो यो ।
विश्वकप जस्तो ठुलो प्रतियोगिताका लागि खेलाडी छनोट गर्दा क्षमता, टिम कम्बिनेसन र रणनीतिक पक्षलाई विशेष ध्यान दिनुपर्ने हुन्छ । क्लोज क्याम्पमा रहेका २४ खेलाडीबाट १५ जनालाई छनोट गर्दै क्यान म्यानेजमेन्ट र छनोट समितिले अन्तिम टोली तयार पारेको हो ।

नेपाल प्रिमियर लिग (एनपीएल) को प्रदर्शनलाई विश्वकपको टिकटका रूपमा हेरिएको थियो । तर अन्तिम छनोटमा अनुभव, अन्तर्राष्ट्रिय स्तरमा दबाब झेल्ने क्षमता र कन्डिसन अनुसार खेल्न सक्ने खेलाडीलाई प्राथमिकता दिइएको देखिन्छ । दबाबमा निर्णय लिन सक्ने क्षमता, आफ्नो भूमिकामा स्पष्टता र अन्तर्राष्ट्रिय अनुभवलाई मध्यनजर गर्दै टिम बनाइएको क्यानको बुझाइ छ ।
यसपटक नेपालले स्पष्ट रूपमा कन्डिसन–आधारित टोली छनोट गरेको छ । नेपालले आफ्ना सबै समूह चरणका खेल मुम्बईको वानखेडे स्टेडियममा खेल्नेछ । वानखेडे ब्याटिङका लागि उपयुक्त मानिने पिच हो । रातिको समयमा यहाँ ब्याटिङ गर्नुलाई ‘ब्याटिङ प्याराडाइज’ नै मानिन्छ । तर रातो माटोको पिच भएकाले दिउँसोको खेलमा स्पिनरले राम्रो सहयोग पाउने गर्छन् । नेपालले आफ्ना चारमध्ये तीन खेल दिउँसो खेल्ने भएकाले मध्यक्रमको ओभरमा स्पिनले निर्णायक भूमिका खेल्ने देखिन्छ ।
पछिल्ला वर्षहरूमा भारतले पनि स्पिनलाई प्राथमिकता दिँदै आएको छ । सन् २०२४ पछि भारतले लिमिटेड ओभर क्रिकेटमा ‘स्पिन टु विन’ रणनीति अपनाउँदै आएको सन्दर्भमा घरेलु मैदानमा स्पिनमैत्री पिच बनाउने सम्भावना उच्च छ ।

यही सम्भावनालाई ध्यानमा राख्दै नेपालले तीन जना प्रमुख स्पिनरलाई टोलीमा समावेश गरेको छ । ललितनारायण राजवंशी, शेर मल्ल र सन्दीप लामिछाने नेपाली टोलीका प्रमुख स्पिन हतियार हुन् । यसले नेपाललाई सुरुवाती ओभरमा तीव्र गतिका बलर र मध्यक्रमको ओभरमा स्पिन प्रयोग गर्ने सन्तुलित विकल्प प्रदान गर्छ ।
अन्तर्राट्रियस्तरका टी–२० लिगहरुमा खेलेको राम्रो अनुभव भएका सन्दीप यो पटक टिमका लागि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको रुपमा हुनेछन् । उनको प्रदर्शन र उनको अनुभव टिमका लागि महत्त्वपूर्ण बन्न सक्छ । फास्ट बलिङतर्फ नेपाली टोलीमा अनुभवी सोमपाल कामी र करण केसी छन् । त्यस्तै गुलसन झालाई पनि फास्ट बलिङको अतिरिक्त विकल्पका रूपमा हेरिएको छ । ह्वाइट बल क्रिकेटमा मिडिल ओभरमा खेल नियन्त्रण गर्न स्पिन आज पनि एकदमै प्रभावकारी ट्याक्टिकल हतियार मानिन्छ ।

एनपीएलमा शाहब आलमको प्रदर्शन ललित राजवंशीको भन्दा राम्रो देखिए पनि अनुभवका आधारमा ललितलाई टोलीमा स्थान दिइएको छ । बायाँहाते स्पिनर ललितले अन्तर्राष्ट्रिय स्तरमा दबाब झेलिसकेका छन् । म्यानेजमेन्टले यही अनुभवमाथि भरोसा गरेको देखिन्छ । शाहबले एनपीएलमा एउटा खेलमा ह्याट्रिकसहित ६ विकेट लिएका थिए, तर अन्य खेलमा जम्मा ८ विकेट मात्र लिन सके । त्यसैले उनको प्रदर्शनलाई ‘एक्स्ट्राअर्डिनरी’ मानिएको छैन ।
शेर मल्लको टोलीमा आगमन भने नेपाली क्रिकेटका लागि उत्साहजनक मानिएको छ । घरेलु क्रिकेटमा लामो समयदेखि संघर्ष गरिरहेका मिस्ट्री स्पिनर शेरले एनपीएलमा गरेको प्रदर्शनकै कारण विश्वकप डेब्यु गर्ने अवसर पाएका हुन् । उनी घरेलु क्रिकेटबाटै निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडी हुन् ।

समग्रमा हेर्दा नेपाली टोलीमा धेरै ठुलो परिवर्तन गरिएको छैन । परिस्थिति अनुसार खेल्न सक्ने, टिमको आवश्यकतामा फिट हुने र भूमिका स्पष्ट भएका खेलाडीलाई प्राथमिकता दिइएको छ । ब्याटिङमा नेपालसँग बलियो लाइनअप छ भने बलिङमा विविधता र स्पिन आक्रमण मजबुत देखिन्छ ।
ब्याटिङतर्फ नेपालका लागि ओपनर आसिफ शेख र कुशल भुर्तेलले महत्त्वपूर्ण भूमिका खेल्नेछन् । यी दुवै खेलाडीले एक विश्वकप खेलेको अनुभव बटुलिसकेका छन् । वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक जित र लामो समयको अन्तर्राष्ट्रिय अनुभवले उनीहरूलाई ठुला टोलीविरुद्ध दबाब झेल्न सक्षम बनाएको छ ।

तेस्रो नम्बरमा कप्तान रोहित पौडेलले आफ्नो अनुभवलाई भरपुर प्रयोग गर्दै ब्याटिङ लाइन सम्हाल्नेछन् । उनले यसअघि पनि तेस्रो नम्बरमा आएर नेपाली टोलीका लागि महत्त्वपूर्ण इनिङ्स खेलेका छन् ।
चौथो नम्बरमा आरिफ शेख नेपाली टोलीका लागि संकटमोचक खेलाडीका रूपमा देखिन्छन् । कठिन परिस्थितिमा टोलीलाई टिकाइराख्ने, इनिङ्स बिल्ड गर्ने र खेललाई स्थिर बनाउने क्षमता उनीसँग छ । पछिल्लो समय उनले टी–२० फर्म्याटमा पनि आफूलाई फिट प्रमाणित गरेका छन् ।
पाँचौँ नम्बरमा अलराउन्डर दीपेन्द्र सिंह ऐरी नेपालका लागि प्रमुख हतियार हुनेछन् । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा प्रभावशाली दीपेन्द्रको डाइरेक्ट हिट क्षमता चर्चित छ । हालै सम्पन्न एनपीएलमा सुदूरपश्चिम रोयल्सलाई फाइनल पुर्याउन उनको भूमिका निर्णायक थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकै उत्कृष्ट अलराउन्डरमध्ये एकको रूपमा परिचय बनाएका दीपेन्द्र यो विश्वकपमा नेपालका लागि अत्यन्त महत्त्वपूर्ण खेलाडी हुनेछन् ।

गुलसन झा नेपाली टोलीका अर्का महत्त्वपूर्ण खेलाडी हुन् । फिनिसरको भूमिकामा उनी टोलीका लागि निर्णायक बन्न सक्छन् । उनले यसअघि पनि धेरै पटक अन्तिम ओभरमा आएर खेल जिताएका छन् । उनको पेस बलिङले टिमलाई बलिङमा पनि थप विकल्प दिनेछ ।
नेपालले अहिले लिएको एउटा अर्को महत्त्वपूर्ण निर्णय भनेको बसिर अहमद हो । एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका उनी अहिले नेपालका लागि मिडिल अर्डरमा फिट हुने देखिन्छ । उनलाई नेपालले मिडिल अर्डर भन्दा पनि पछिल्लो क्रममा ब्याटिङमा उतार्दै टिमलाई राम्रो नतिजा दिलाउन सक्ने खेलाडीको रुपमा हेरिएको छ ।

त्यस्तै छुट्टाउनै नहुने खेलाडी हुन् सन्दीप जोरा । एनपीएलमा सन्तुलित प्रदर्शन गरेका उनलाई नेपालले चौथो नम्बरमा उतार्न सक्नेछ । सन्दीपसँग लामो इनिङ्स खेल्न र ठुलो सटहरु हान्न सक्ने क्षमता छ ।
नेपालले टोली छनोटमा देखाएको यही सोच मैदानमा पनि उतार्न सके नतिजा जे आए पनि नेपाली क्रिकेट सही दिशामा अघि बढिरहेको सन्देश जानेछ । भारत र श्रीलंकामा हुने विश्वकपमा नेपालले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । विश्वकपमा कम्तीमा एउटा टेस्ट नेसनलाई हराउने लक्ष्य भने पक्कै हुनेछ । वेस्ट इन्डिजलाई हराइसकेको नेपाली टोलीसँग अहिले टेस्ट नेसनलाई हराउने क्षमता बनिसकेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण