बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ, भने– 'पेन्सन खाएर मात्र बस्न मनले मानेन'

आइतबार, २७ पुस २०८२, १४ : २१
आइतबार, २७ पुस २०८२

सारांश

  • नेपाली सेनाका पूर्व उपरथी बाबुराम श्रेष्ठ प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन्।
  • उनलाई पार्टीका शीर्ष नेताहरूले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा स्वागत गरे।
  • श्रेष्ठले देशको विषम परिस्थिति र नयाँ पुस्ताको विद्रोहले आफूलाई राजनीतिमा ल्याएको बताए।

काठमाडौँ । नेपाली सेनाका पूर्व उपरथी बाबुराम श्रेष्ठ सक्रिय राजनीतिमा होमिएका छन् । ३७ वर्ष लामो सैनिक सेवाबाट अवकाश पाएका उनी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा प्रवेश गरेका हुन् ।

आइतबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच श्रेष्ठलाई प्रलोपाका शीर्ष नेताहरू डा. बाबुराम भट्टराई, जनार्दन शर्मा, सन्तोष परियार लगायतले खादा ओढाएर पार्टीमा स्वागत गरे ।

33ed332d-67bf-4235-afe4-13b47d9864ef

पार्टी प्रवेश गर्दै श्रेष्ठले देशको वर्तमान विषम परिस्थिति र नयाँ पुस्ताको विद्रोह तथा त्यागले आफूलाई राजनीतिमा आउन प्रेरित गरेको बताए । 'देशको राजनीतिक परिदृश्य सामान्य भएको भए म सरकारले दिएको पेन्सन खाएर बस्ने थिएँ,' श्रेष्ठले भने, 'तर, अहिलेको परिस्थितिले मेरो सोच बदलिदियो । आरामको जिन्दगी छोडेर राजनीतिको नाममा व्याप्त विकृतिको जालो तोड्न र आवाजविहीनहरूको आवाज बन्न म अघि सरेको हुँ ।'

को हुन् बाबुराम श्रेष्ठ ?
गोरखाको सिरानचोक गाउँपालिका–८, जौबारीको साधारण किसान परिवारमा जन्मिएका श्रेष्ठ २०३९ सालमा परोपकार आदर्श माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण भएका थिए । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेपछि उनी २०४४ सालमा सहायक सेनानीको रूपमा नेपाली सेनामा प्रवेश गरेका थिए ।

44d268ba-3254-46fb-810b-29e2492a58ac

भारतको 'कलेज अफ मिलिटरी इन्जिनियरिङ' पुणेबाट विशिष्ट श्रेणीमा सिभिल इन्जिनियरिङमा स्नातक गरेका श्रेष्ठले भारत, पाकिस्तान र नेपाल (त्रिभुवन विश्वविद्यालय) बाट स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् । हाल उनी द्वन्द्व, शान्ति र विकास विषयमा विद्यावारिधि गर्दैछन् ।

सेनामा रहँदा उनले गुल्मपति, गणपति, बाहिनीपति, पृतनापति, कमान्ड सेनापति लगायत महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका थिए । विशेषतः पहाडी सडक निर्माण परियोजनाहरू (त्रिशुली-शोम्दाङ्ग, बेनी-जोमसोम आदि) मा ८ वर्ष काम गरेर विकास निर्माणमा प्रत्यक्ष योगदान पुर्‍याएको अनुभव उनीसँग छ । उनी गत २०८१ कात्तिक १ गते उपरथी दर्जाबाट सेवा निवृत्त भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप