बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
चुनावी चर्चा

गण्डकीमा रास्वपाभित्र उम्मेदवारीका लागि आन्तरिक प्रतिस्पर्धा बढ्दो

एक तिहाई सिटमा बालेन पक्षको दाबी, सुदन गुरुङलाई सघाउने तयारी
मङ्गलबार, २९ पुस २०८२, १२ : ०४
मङ्गलबार, २९ पुस २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा गण्डकी प्रदेशमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न आन्तरिक प्रतिस्पर्धा सुरु भएको छ।
  • बालेन शाह पक्षले गण्डकीमा एक तिहाइ सिटमा उम्मेदवारीको दाबी गरेको छ भने विभिन्न क्षेत्रबाट उम्मेदवार बन्ने तयारी छ।
  • रास्वपाले विभिन्न क्षेत्रबाट ८ देखि १२ सिट जित्ने लक्ष्य राखेको छ, जसमा बालेन समूहका उम्मेदवारहरू पनि सहभागी हुनेछन्।

पोखरा । प्रतिनिधि सभा सदस्य पदका लागि प्रत्यक्षतर्फ उम्मेदवार बन्न गण्डकी प्रदेशभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आन्तरिक प्रतिस्पर्धा बढ्न थालेको छ । रास्वपाबाट उम्मेदवार बन्न इच्छुकले अनलाइनमार्फत आवेदन दिएका छन् । उम्मेदवार चयनको प्रक्रिया सुरु हुन बाँकी छ ।

उम्मेदवार छनोट प्रक्रिया सुरु हुनु अघि सिट बाँडफाँटबारे छलफल भइरहेको रास्वपा स्रोत बताउँछ । खासगरी भर्खरै एकता प्रक्रियामा आएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह पक्षलाई गण्डकीमा कति सिट दिने भन्नेबारे छलफल भइरहेको हो ।

गण्डकीमा बालेन पक्षले एक तिहाई सिटमा उम्मेदवारीको दाबी गरेको छ । गण्डकीमा प्रतिनिधि सभा अन्तर्गत १८ सिट छन् । एउटा सिटमा भने रास्वपाले उम्मेदवारी नदिने योजना बनाएको छ ।

जेनजी अभियन्ता सुदन गुरुङले सामाजिक सञ्जाल फेसबुक मार्फत गोरखा–१ बाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । सो क्षेत्रमा रास्वपाले उम्मेदवारी नदिएर उनलाई सघाउने तयारी गरेको हो । ‘उहाँ पार्टीको आधिकारिक उम्मेदवार होइन, तर उहाँले उम्मेदवारी दिँदा सघाउनुपर्छ भनेर आन्तरिक छलफल भइरहेको छ,’ रास्वपाका एक नेताले भने, ‘उहाँले उम्मेदवारी दिएको खण्डमा सम्भवतः त्यो क्षेत्रमा रास्वपाले उम्मेदवारी नदिन सक्छ ।’

गण्डकी प्रदेशमा रास्वपाबाट बालेन समूहले ८ सिटमा दाबी गरेको छ । ‘२ क्षेत्र भएको जिल्लाबाट एउटा सिट लिने र एउटा मात्रै क्षेत्र भएको जिल्लामध्ये ३ जिल्ला लिने कुरामा छलफल चलिरहेको छ,’ बालेन निकट स्रोतले भन्यो । यद्यपि कुन क्षेत्र लिने भन्ने निधो भइनसकेको ती नेताले बताए ।

कास्की क्षेत्र नम्बर १ मा बालेन समूहको दाबी छ । यहाँबाट केन्द्रीय सदस्यसमेत रहेका नेता खड्कराज पौडेल (गनेस)ले उम्मेदवारी दिने लगभग पक्का छ । केन्द्रमा पार्टी एकता भइसके पनि तल्लो तहसम्म समायोजन प्रक्रिया टुङ्गिएको छैन ।

रास्वपाका सदस्यहरूले अनलाइनमार्फत उम्मेदवारी दर्ता गराएका छन् भने बालेन समूहबाट उम्मेदवार हुनेको सूची गनेसले तयार गरिरहेका छन् । ‘सबै क्षेत्रबाट नाम पठाइएको छ । कुन क्षेत्र पाउने भन्ने टुङ्गिएको छैन,’ उनले भने, ‘हामी बहुमत ल्याउने गरी चुनावमा सहभागी हुँदैछौँ । जसले चुनाव जित्छ, उसैलाई टिकट दिने योजना छ ।’

उम्मेदवारी दिँदा बालेन र रास्वपा भनेर विभाजित नहुने गनेसले बताए । ‘बालेन समूहबाट सिफारिस भएको उम्मेदारले जित्ने देखिए उसैलाई टिकट दिने, रास्वपाबाट सिफारिस भएकाले जित्ने देखिए उसैलाई दिने रणनीति हो,’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गण्डकीका सबै क्षेत्रबाट उम्मेदवार आकाङ्क्षीको नाम सङ्कलन गरिसकेको छ । अनलाइनमार्फत उनीहरूले नाम टिपाएका हुन् । गण्डकीबाट ८ देखि १२ सिट चुनाव जित्ने रास्वपाको आन्तरिक रिपोर्टिङ छ ।

रास्वपाले तनहुँ–१, नवलपुर–१, गोरखा–२, स्याङ्जा–१ लगायत क्षेत्रमा हेभिवेट उम्मेदवारलाई उतार्दैछ । तनहुँ–१ बाट उपसभापति स्वर्णीम वाग्ले, गोरखा–२ बाट महामन्त्री कविन्द्र बुर्लाकोटी, नवलपुर–१ बाट प्रदेश सभापति राजन गौतम, स्याङ्जा–१ बाट धनन्जय रेग्मीलाई टिकट दिने तयारी छ । यद्यपि यी क्षेत्रमा अरुले पनि उम्मेदवार बन्ने आकाङ्क्षा व्यक्त गरेका छन् ।

तल्लो तहमा समायोजन प्रक्रिया बाँकी रहे पनि पार्टीका आन्तरिक कार्यक्रमहरूमा बालेन समूह पनि सामेल हुन थालेको छ । रास्वपामा यसअघि नै क्रियाशील भएका कतिपयले आन्तरिक प्रतिस्पर्धाबाट टिकट नपाउने सम्भावना देखेर बालेन समूहबाट सिफारिस हुन पहल गरेका छन् । उम्मेदवार बन्न आकाङ्क्षी धेरै भएपछि रास्वपाबाट प्रत्येक क्षेत्रमा आन्तरिक प्रतिस्पर्धा बढ्ने देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप