सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावरविरुद्ध स्थानीय आन्दोलित
सारांश
- दार्चुलाको अपिहिमाल गाउँपालिकाका स्थानीय बासिन्दाले मकरीगाड हाइड्रोपावरविरुद्ध आन्दोलन गरेका छन्।
- स्थानीयहरूले सेयर वितरणमा प्रत्यक्ष लाभ लिनुपर्ने र प्रभावित क्षेत्रका नागरिकलाई सेयर सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।
- संघर्ष समितिले हाइड्रोपावर बन्द गर्ने चेतावनी दिँदै गाउँपालिकासँग समन्वयको माग गरेको छ।
दार्चुला । अपिहिमाल गाउँपालिका–३, ४ र ५ मा निर्माण सम्पन्न भएको १० मेगावाट क्षमताको मकरीगाड हाइड्रोपावर कम्पनी लिमिटेडविरुद्ध स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । आयोजना प्रभावित क्षेत्रका नागरिकलाई सेयर दिनुपर्ने मागसहित स्थानीय आन्दोलित भएका हुन् ।
हाइड्रोपावर कम्पनीले सेयर जारी गर्ने तयारी गरिरहेको अवस्थामा स्थानीयले प्रत्यक्ष लाभ लिन नसक्ने अवस्था सिर्जना भएको आरोप लगाउँदै मकरीगाड सेयर वितरण सङ्घर्ष समिति गठन गरी कम्पनीलाई ज्ञापनपत्र बुझाएका छन् ।
सङ्घर्ष समितिका संयोजक देवेन्द्रसिंह रोकायाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आर्थिक रूपमा कमजोर तथा गरिब स्थानीय नागरिकलाई निःशुल्क सेयर उपलब्ध गराउनुपर्ने र आयोजना प्रभावित क्षेत्रका नागरिकलाई कम्तीमा ८० प्रतिशत सेयर सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।
ज्ञापनपत्रमा आयोजनाका कारण प्रभावित सडकमा पक्की पर्खाल र तटबन्ध निर्माण गर्नुपर्ने माग राखिएको छ । यस्तै प्रभावित क्षेत्रमा आवश्यक पूर्वाधार विकास, पानीका मुहान सुक्ने स्थानमा खानेपानी योजना निर्माण तथा विस्थापित पुराना घट्टको सट्टा नयाँ पानी घट्ट निर्माण गर्नुपर्ने मागमा उल्लेख छ । यसअघि मकरीगाडमा परम्परागत घट्ट थिए ।
त्यसैगरी, आयोजना प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माण तथा आधारभूत स्वास्थ्य संस्थामा आवश्यक उपकरण उपलब्ध गराउन कम्पनीसँग माग गरिएको छ । मकरीगाड हाइड्रोपावरलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेखित माग तीन दिनभित्र सम्बोधन नगरिए हाइड्रोपावर बन्द गर्ने चेतावनी पनि दिइएको छ ।
हाइड्रोपावरलाई ज्ञापनपत्र बुझाएको सङ्घर्ष समितिले अपिहिमाल गाउँपालिकासँग पनि सेयर वितरण र आयोजनाका विषयमा आवश्यक समन्वय गर्न आग्रह गर्दै ज्ञापन बुझाएको छ । गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहरालाई ज्ञापन बुझाउँदै स्थानीयले पाउने सेवा–सुविधाका विषयमा प्रभावकारी भूमिका निर्वाह गर्न माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण