बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
मतदाता मनोविज्ञान

गण्डकीका मतदाताको ‘क्रस भोटिङ’ ट्रेन्ड

प्रदेशसभामा अरू दललाई मत हाल्दा संघमा रोजेका थिए वैकल्पिक शक्ति
मङ्गलबार, २९ पुस २०८२, १४ : ००
मङ्गलबार, २९ पुस २०८२

पोखरा । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै देशभर राजनीतिक सरगर्मी बढेको छ । फागुन २१ मा हुने चुनावका लागि नयाँ र वैकल्पिक राजनीति दलहरू जेनजी आन्दोलनको मर्म र भावना अनुसार आफूलाई उभ्याउने प्रयासमा छन् । तर परम्परागत दलहरूको आन्तरिक तयारी फितलो देखिन्छ । 

यसपटकको निर्वाचन नयाँ भर्सेस पुरानाको कित्तामा बाँडिएको छ । वैकल्पिक मूलधारको शक्तिको रूपमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई पार्टीमा भित्र्याएर आफूलाई थप बलियो बनाएको छ । 

उता, कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी लगायत पुराना दलहरू पनि आन्तरिक गठबन्धनको तयारीमा छन् । त्यसो त नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले वा कांग्रेससँग चुनावी गठबन्धन नहुने घोषणा नै गरेका छन् । तर पुराना दलहरूमा गबठन्धनको गृहकार्य जारी नै छ ।

नयाँ समीकरणले गर्दा २०७९ को मत परिणामले आगामी निर्वाचनको सोझो अनुमान गर्न नसकिए पनि त्यसबेलाको मतदाताको मनोविज्ञानले आगामी परिणामको संकेत भने गर्नेछ । विशेषगरी गण्डकी प्रदेशको समानुपातिक मत परिणामले मतदाताले कसरी क्रस भोटिङ मार्फत नयाँ शक्तिको खोजी गरेका थिए भन्ने प्रष्ट पार्छ ।

२०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक मत परिणामलाई विश्लेषण गर्दा गण्डकी प्रदेशका मतदाताले ‘क्रस भोटिङ’को अभ्यास अत्यधिक गरेको देखिन्छ । प्रदेशसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपस्थिति नहुँदा अन्य दलमा बाँडिएको मत प्रतिनिधिसभामा भने एकै ठाउँमा केन्द्रित भएको थियो । निर्वाचन आयोगको तथ्यांक अनुसार गण्डकीमा प्रदेश सभातर्फ ३१ दल सहभागी थिए भने प्रतिनिधिसभामा ४७ दलको सहभागिता थियो ।

गण्डकीबाट प्रतिनिधिसभामा सहभागी ४७ दलमध्ये ११ वटा दलले १०० मत पनि कटाउन सकेनन् । अझ रोचक त के छ भने ३२ वटा दलको मत १ हजार भन्दा कम थियो । प्रदेशसभामा सहभागी ३१ दलमध्ये २ वटा दलले १०० भन्दा कम मत पाए भने १ हजार भन्दा कम मत ल्याउने दलको संख्या १६ थियो । संघमा धेरै दलले उम्मेदवारी दिए पनि गण्डकीका मतदाताले मुख्य रूपमा नयाँ उदाएको शक्ति रास्वपा र पुराना स्थापित दलहरूलाई नै रोजेको प्रष्ट देखिन्छ ।

ठुला दललाई ठुलै घाटा

प्रदेशसभामा रास्वपाले भाग नलिँदा एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी लगायतले पाएको मत प्रतिनिधिसभामा भारी मात्रामा घटेको छ । सबैभन्दा धेरै एमालेको मत घटेको देखिन्छ । एमालेले गण्डकीका ११ जिल्लाबाट प्रदेशमा ३ लाख ६७ हजार ९८९ मत पाएको भएपनि प्रतिनिधिसभामा ४३ हजार १०७ मत गुमाउँदै ३ लाख २४ हजार ८८२ मा चित्त बुझाउनुपर्‍यो ।

धेरै मत गुमाउने दोस्रो दल कांग्रेस हो । प्रदेशसभामा ३ लाख ४९ हजार ६२८ मत पाएको कांग्रेसले प्रतिनिधिसभामा ३६ हजार ९०८ कम अर्थात् ३ लाख १२ हजार ७२० मत मात्रै पायो । प्रदेशमा ५९ हजार ४८३ मत ल्याएर बलियो उपस्थिति देखाएको राप्रपा पनि प्रतिनिधिसभामा साह्रै खुम्चियो । राप्रपाले गण्डकी प्रदेश सभामा समानुपातिकबाट २ सिट पाएको छ । प्रतिनिधिसभामा २० हजार ६४९ मत राप्रपाले गुमाएको छ । राप्रपाले ३८ हजार ८३४ मत मात्रै प्रतिनिधिसभामा पाएको थियो ।

प्रदेशमा १८ हजार ७३७ मत ल्याएर झण्डै सांसद बनाउन लागेको हाम्रो नेपाली पार्टीले पनि प्रतिनिधि सभामा निकै मत घटाएको देखिन्छ । हाम्रो नेपाली पार्टीले प्रतिनिधिसभामा ४ हजार ६६५ मत मात्रै पाएको हो । उक्त पार्टीको १४ हजार भन्दा बढी मत रास्वपामा सिफ्ट भएको सहजै अनुमान गर्न सकिन्छ ।

माधव नेपाल नेतृत्वको तत्कालीन एकीकृत समाजवादीले गण्डकीमा निकै मत गुमाएको छ । प्रदेशसभामा १५ हजार ७६ मतदाताले कलम चिह्नमा भोट हाले पनि प्रतिनिधिसभामा त्यो संख्या ९ हजार ५७३ मा खुम्चियो । अर्थात्, प्रदेशमा यो पार्टीलाई भोट हाल्ने ३६.५ प्रतिशत मतदाताले संघमा अर्कै दललाई रोजेका थिए ।

बागलुङमा बलियो पकड मानिने चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले पनि प्रदेशको तुलनामा संघमा ठुलो क्षति व्यहोर्‍यो । प्रदेशमा १४ हजार ९४० मत ल्याएको जनमोर्चाले प्रतिनिधि सभामा ४ हजार ७४१ मत कम पायो । प्रदेशमा गिलास रोज्ने करिब ३२ प्रतिशत (एक तिहाइ) मतदाताले संघमा अर्कैलाई भोट दिए ।

माओवादी केन्द्रको मत अन्य दलको तुलनामा अलि स्थिर देखिए पनि ८ हजार मत घटेको छ । प्रदेशमा १ लाख १६ हजार ९४५ मत पाएको माओवादीले संघमा १ लाख ८ हजार ४६७ मत मात्र पायो । डा. बाबुराम भट्टराईको नेसपासँग गठबन्धन गरेर एउटै चिह्न (हँसिया हथौडा) मा लड्दा पनि ८ हजार ४७८ मतदाताले संघमा माओवादीलाई रोजेनन् ।

भोटका हिसाबले सबैभन्दा बढी क्षति एमालेलाई भएपनि प्रतिशतका हिसाबले हाम्रो नेपाली पार्टीलाई भयो । उक्त पार्टीले प्रदेशमा पाएको भन्दा ७५ प्रतिशत कम मत प्रतिनिधिसभामा पायो । समग्रमा नेपाल आमा पार्टीले ६३ प्रतिशत, जनता समाजवादीले ५१ प्रतिशत, एकीकृत समाजवादीले ३६ प्रतिशत, राप्रपाले ३४ प्रतिशत, नागरिक उन्मुक्तिले ३२ प्रतिशत मत घटाए । एमालेको १२ प्रतिशत, कांग्रेसको ११ प्रतिशत र माओवादीको ७ प्रतिशत मत अन्यत्र गएको देखिन्छ ।

प्रदेशमा अन्य दललाई भोट हालेका मतदाताले संघको मतपत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिएको देखिन्छ । रास्वपाले गण्डकीबाट १ लाख ७७ हजार २५ मत पाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप