ट्राफिक सप्ताह–२०८२ः ट्राफिक सचेतनासम्बन्धी बृहत् सांस्कृतिक कार्यक्रम आयोजना
सारांश
- सवारी दुर्घटना कम गर्न ट्राफिक सचेतना जगाउन सांस्कृतिक कार्यक्रम गरियो।
- कार्यक्रममा ट्राफिक नियम, सुरक्षित सवारी र पैदलयात्रुको जिम्मेवारीबारे सन्देश दिइयो।
- प्रहरी अधिकारीहरूले दुर्घटना कम गर्न सबैको सहयोग आवश्यक रहेको बताए।
काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित ट्राफिक प्रहरी प्रभाग कलङ्कीले मंगलबार काठमाडौँको कलङ्की क्षेत्रमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । सवारी दुर्घटना न्यूनीकरण विशेष महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ को अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा ट्राफिक सचेतनालाई केन्द्रमा राखी विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो ।
कलङ्की चोक नजिक आयोजित कार्यक्रममा लोकगीत, दोहोरी तथा देउडा गीतमार्फत ट्राफिक नियम पालना, सुरक्षित सवारी सञ्चालन र पैदलयात्रुको जिम्मेवारीबारे सन्देश प्रवाह गरिएको थियो । चर्चित लोक तथा दोहोरी गायक–गायिकाहरूले आफ्ना प्रस्तुति राख्दा दर्शकको उल्लेख्य उपस्थिति थियो ।
विशेषगरी लोकगायक पशुपति शर्माले प्रस्तुत गरेको ट्राफिक सचेतनासम्बन्धी गीतले दर्शकको ध्यान तानेको थियो भने गीतमार्फत दिएको सन्देशलाई दर्शकले सकारात्मक रूपमा ग्रहण गर्नुभएको विश्वास गरिएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) ईश्वर कार्कीले सवारी दुर्घटना न्यूनीकरण विशेष महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ नागरिकको ज्यानको सुरक्षा र सवारी दुर्घटना न्यून गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको बताए ।
उनले सवारी दुर्घटना न्यूनीकरण प्रहरीको मात्र जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको उल्लेख गरे । उनले भने, “जेनजी आन्दोलनपछि हाम्रा भवन तथा संरचनाहरू ध्वस्त भए पनि हामी नागरिकको सुरक्षाका लागि पुनः सडकमा खटिएका छौँ । हाम्रो प्रमुख उद्देश्य सवारी दुर्घटना न्यूनीकरण गर्नु र नागरिकको अमूल्य ज्यान जोगाउनु हो । यसका लागि सबैको साथ, सहयोग र सचेतना आवश्यक छ ।”
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सवारी दुर्घटना अन्त्य गर्ने लक्ष्यसहित ट्राफिक सप्ताह–२०८२ आयोजना गरिएको जानकारी दिए । उनले सवारी चालकसँगै पैदलयात्रुले पनि ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए ।
उनले भने, “हाम्रो चाहना सवारी दुर्घटना शून्य बनाउने हो । त्यसका लागि सवारी चालक मात्र होइन, पैदलयात्रुले पनि ट्राफिक नियमको पूर्ण पालना गर्न आवश्यक छ । सडक सबैको साझा सम्पत्ति भएकाले यसको प्रयोग जिम्मेवारीपूर्वक गर्नुपर्छ । सानो लापर्वाहीले ठुलो दुर्घटना निम्त्याउन सक्छ ।”
कार्यक्रममार्फत ट्राफिक नियम पालनाको महत्त्व, हेल्मेट र सिट बेल्टको प्रयोग, मदिरा सेवन गरी सवारी नचलाउनुपर्ने, जेब्रा क्रसिङको प्रयोग तथा सुरक्षित गतिमा सवारी चलाउनुपर्ने विषयमा जनचेतना अभिवृद्धि गरिएको थियो ।
सांस्कृतिक कार्यक्रमलाई जनस्तरमा ट्राफिक सचेतना फैलाउने प्रभावकारी माध्यमका रूपमा प्रयोग गरिएको ट्राफिक प्रहरीले जनाएको छ । कार्यक्रममा विभिन्न जनप्रतिनिधि, नागरिक समाजका अगुवा, यातायात व्यवसायी, सवारी चालक तथा सहचालक, ट्राफिक तथा जनपथ प्रहरीको उल्लेख्य सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण