के एआईले श्रमिक वर्गका पेसाहरू प्रतिस्थापन गर्दैछ ?
सारांश
- एआईको प्रयोगले उद्योग र दैनिक जीवनलाई रूपान्तरण गर्दै श्रमिक वर्गका पेसाहरूलाई प्रतिस्थापन गर्ने बहस सुरु भएको छ।
- विभिन्न अध्ययनहरूले एआईले रोजगारीमा पार्ने प्रभावबारे प्रक्षेपण गरेका छन्, जसमा केही रोजगारी विस्थापित हुने र नयाँ सिर्जना हुने अनुमान छ।
- नेपालमा एआईको जोखिम कम देखिए पनि विश्वव्यापी विस्तारलाई मध्यनजर गर्दै भविष्यमा पेशाहरू विस्थापित नहुने अवस्था छैन।
विगत केही वर्षहरूमा एआईको प्रयोग विज्ञानको सीमित क्षेत्रमा मात्र खुम्चिएर नरही उद्योग र दैनिक जीवनलाई समेत रूपान्तरण गर्ने एक शक्तिशाली प्रविधिका रूपमा विकसित भएको छ । साधारण कामहरूलाई सहज, सरल एवं छिटोछरितो बनाउनका निम्ति एआईको प्रयोग बढ्दो छ ।
एआईको यो तीव्र विकासक्रमलाई हेर्दा यसले निकट भविष्यमा श्रमिक वर्गका पेसाहरूलाई पूर्ण रूपमै प्रतिस्थापन गरिदिने त होइन भन्ने बहस आजको सबै भन्दा महत्त्वपूर्ण प्रश्न बनेको छ ।
आजको एआई प्रविधि मुख्यतः विशेष कार्यहरू गर्न सक्षम छ; जस्तैः डाटा प्रविष्टि गर्न, भाषान्तरण वा ढाँचाको पहिचान गर्न आदि । तर, सृजनशीलता, भावनात्मक बुद्धिमत्ता, नैतिक निर्णय र सामाजिक अन्तरक्रिया जस्ता क्षेत्रमा एआई अझै कमजोर छ ।
उदाहरणका लागि, एआईले तथ्याङ्क संशोधन गर्न सक्छ, तर वित्तीय विश्लेषणको गहिरो निर्णय क्षमता र राजनीतिक सोचलाई पूर्ण रूपमा परिमार्जन गर्न सक्दैन ।
अमेरिकाको ‘म्याककिन्से’ नामक संस्थाको एक अध्ययनले सन् २०३० सम्ममा ३० प्रतिशत कार्य घण्टा स्वचालित प्रविधिमार्फत प्रतिस्थापन हुन सक्ने प्रक्षेपण गरेको छ । विशेष गरी कार्यालय सहयोग, ग्राहक सेवा र खाद्य सेवाका क्षेत्रहरूमा यसको बढी प्रभाव पर्न सक्ने उक्त अध्ययनले देखाएको छ ।
अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार विश्वभरका प्रत्येक चारमध्ये एक रोजगारीमा कम्तीमा त्यस्ता केही कामहरू छन्, जसमा ‘जेनेरेटिभ एआई’ ले प्रभाव पार्न सक्छ । त्यसैगरी, आईएलओले तयार पारेको परिष्कृत सूचकाङ्कका अनुसार करिब ३.३ प्रतिशत विश्वव्यापी रोजगारी एआईको सबैभन्दा उच्च जोखिममा पर्ने अनुमान गरिएको छ ।
उदाहरणका लागि ‘न्यूजविक’ को हालैको विश्लेषणले अमेरिकाका ठुला फास्टफुड चेन र कल सेन्टरहरूले प्रारम्भिक तहका कर्मचारीहरूलाई प्रतिस्थापन गरी एआई च्याटबोट र रोबोटहरू प्रयोग गर्ने सम्भावना खोजिरहेको उल्लेख गरेको छ ।
हालको अवस्थालाई हेर्ने हो भने सबै क्षेत्रमा एआईको समान प्रभाव छैन । यद्यपि, खुद्रा व्यापारमा ‘सेल्फ चेकआउट’, अनलाइन ग्राहक सेवामा ‘स्वचालित च्याटबोट’ जस्ता क्षेत्रमा एआईको प्रभाव फस्टाउँदै गएको छ ।
तर, अर्कोतर्फ उन्नत र जटिल भूमिकाहरूमा अझै पनि मानवको आवश्यकता अपरिहार्य छ । गहिरो मानवीय निर्णय क्षमता, सृजनशीलता र व्यक्तिगत दक्खल आवश्यक पर्ने व्यवस्थापन, वैज्ञानिक अनुसन्धान, शिक्षण तथा स्वास्थ्य क्षेत्रमा पूर्ण रूपमा एआईको प्रयोग गर्न कठिन साबित भएको छ । न्यूजविक अमेरिकाले उद्धृत गरेको एक अध्ययनले नर्सिङ, सर्जन, प्लम्बर तथा दक्ष प्राविधिक पेसाहरूमा एआईको प्रभाव निकै कम रहने निष्कर्ष निकालेको छ ।
तर, ‘वर्ल्ड इकोनोमिक फोरम’ को ‘फ्युचर अफ जब्स रिपोर्ट २०२५’ (सन् २०३० को प्रक्षेपण) अनुसार सन् २०३० सम्म एआईको विकासले हरित उद्योग र अहिलेसम्म कल्पना नगरिएका क्षेत्रहरूमा नयाँ प्रकारका रोजगारी सिर्जना हुनेछन् ।
उक्त रिपोर्टका अनुसार सन् २०३० सम्म विश्वव्यापी रूपमा १७० मिलियन नयाँ रोजगारी सिर्जना हुनेछन् भने ९२ मिलियन रोजगारी एआईको प्रभावले विस्थापित हुने अनुमान छ । यसरी एआईले विशेष प्रकृतिका पेसाहरू पूर्णतः विस्थापित गर्न सक्ने अवस्था हाल नदेखिए तापनि, निकट भविष्यमा यसले जस्तोसुकै काम पनि गर्न सक्ने अनुमान गर्न सकिन्छ ।
त्यसैले, एआईको भूमिका भविष्यमा ठ्याक्कै कस्तो हुन्छ भनेर किटान गर्न कठिन छ ।
नेपालको सन्दर्भमा हेर्दा, हालको अर्थतन्त्रलाई मध्यनजर गर्दा तुलनात्मक रूपमा एआईको जोखिम कम देखिन्छ । ‘वर्ल्ड बैंक’ को ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ ले नेपाललाई एआईको कम जोखिम रहेको देशका रूपमा चित्रण गरेको छ ।
करिब ६० प्रतिशत नेपाली कामदार कृषि वा श्रमप्रधान पेशामा संलग्न छन्, जहाँ एआईको भूमिका हाल निकै सीमित छ । वास्तवमा, दक्षिण एसियामा करिब ७ प्रतिशत रोजगारी मात्र एआईको उच्च जोखिममा पर्ने मूल्याङ्कन गरिएको छ, जुन अन्य उदाउँदो अर्थतन्त्रहरूमा रहेको १५ प्रतिशतको तुलनामा निकै कम हो ।
यसमा पनि नेपालको हिस्सा झनै सानो छ । यद्यपि, नेपालको हालको अवस्था कम जोखिमपूर्ण देखिए तापनि विश्वव्यापी रूपमा एआईको विस्तार बढ्दो क्रममा रहेकाले निकट भविष्यमा नेपालका पेसाहरू विस्थापित नै हुँदैनन् भन्न सकिने अवस्था छैन ।
समग्रमा भन्नुपर्दा, एआईले रोजगारीलाई पूर्ण रूपमा विस्थापित गर्नुभन्दा पनि कामको स्वरूपलाई परिवर्तन गरिदिन्छ । एआईले पेसाहरू पूर्ण रूपमा विस्थापन गर्छ भन्ने धारणा केही हदसम्म अतिरञ्जित देखिन्छ; किनकि अनुसन्धानहरूले स्पष्ट पारेका छन् कि एआईले धेरै कार्यहरू स्वचालित बनाए तापनि सबै कामलाई समाप्त गर्न सक्दैन ।
एआई रोजगारी नष्ट गर्ने संयन्त्र मात्र नभई काम गर्ने तरिकालाई पुनः परिभाषित गर्ने शक्ति हो । यदि सरकार तथा व्यक्तिहरूले समयमै तयारी गरे भने एआई मानव क्षमतालाई कमजोर बनाउने होइन, बरु अझ सशक्त बनाउने प्रभावकारी माध्यम बन्न सक्छ ।
(घिमिरे लुम्बिनी बौद्ध विश्वविद्यालयको स्कुल अफ ल मा अध्ययनरत् छिन्)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण