माघे सङ्क्रान्तिको रौनक: टोखामा पाँच करोडको चाकु बिक्री
सारांश
- माघे सङ्क्रान्तिको अवसरमा टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ, र यस वर्ष ५ करोडभन्दा बढीको कारोबार भएको छ।
- टोखाका १८ उद्योगले चाकु र लड्डु उत्पादन गर्छन्, जसले नेपालको चाकु मागको ६० प्रतिशत हिस्सा ओगटेको छ र विदेशमा पनि निर्यात हुन्छ।
- टोखा नगरपालिकाले चाकुको ऐतिहासिकता जोगाउन 'चाकु स्तम्भ' बनाउने योजना बनाएको छ र यसलाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने लक्ष्य राखेको छ।
काठमाडौं । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा काठमाडौंको ऐतिहासिक सहर टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ। यसवर्ष टोखाबाट मात्रै ५ करोड रुपैयाँभन्दा बढी मूल्यको चाकु बिक्री भएको छ। टोखामा हाल सञ्चालित १८ वटा उद्योगले चाकु र विभिन्न प्रकारका लड्डु उत्पादन गर्दै आएका छन्। यीमध्ये १० उद्योगले विशेषगरी चाकु र बाँकी ८ उद्योगले तिल तथा भूजाको लड्डु लगायतका परिकार बनाउने गर्छन्।
टोखा नगरपालिकाको वडा नम्बर २ र ३ मा रहेका यी उद्योगले नेपालको कुल चाकु मागको करिब ६० प्रतिशत हिस्सा ओगट्ने गरेका छन्। यहाँ उत्पादित चाकु काठमाडौँ उपत्यकाका असन, इन्द्रचोक, भक्तपुर, पाटन र कीर्तिपुर मात्र नभई उपत्यका बाहिरका नारायणघाट, पोखरा, बुटवल र विराटनगर जस्ता ठूला सहरमा समेत पुग्ने गरेको छ। टोखा परम्परागत चाकु संरक्षण समाजका अनुसार यहाँको चाकुको माग नेपालमा मात्र सीमित छैन; जापान, अमेरिका र अष्ट्रेलिया जस्ता देशमा समेत यहाँको उत्पादन निर्यात हुने गरेको छ।
नेवारी भाषामा ‘टु’ को अर्थ उखु र ‘ख्यः’ को अर्थ फल्ने ठाउँ हुन्छ, जसबाट टोखा नाम रहन गएको हो। कुनै समय उखु खेतीका लागि प्रख्यात यो ठाउँमा सहरीकरण बढेसँगै उखु खेती मासिए पनि चाकु बनाउने परम्परा भने अझै जीवित छ। अचेल कपिलवस्तुको चन्द्रौटाबाट सख्खर ल्याएर यहाँ चाकु बनाउने गरिन्छ। टोखामा सादा चाकु, मसला चाकु, स्पेसल चाकुसहित सेतो र कालो तिलको लड्डु, पुष्टकारी र बदाम लड्डु जस्ता परिकार उत्पादन हुन्छन्। बजारमा सादा चाकु प्रतिकिलो १४० र मसला चाकु १५० रुपैयाँमा बिक्री भइरहेको छ।
टोखा नगरपालिकाले यस ऐतिहासिक विशेषतालाई जोगाउन 'चाकु स्तम्भ' निर्माण गर्ने योजना अघि सारेको छ। नगर प्रमुख प्रकाश अधिकारीका अनुसार टोखा–२ मा स्तम्भ निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भइसकेको छ। नगरपालिकाले टोखाको चाकुलाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने लक्ष्य समेत राखेको छ। माघे सङ्क्रान्तिमा चाकु खानैपर्ने सांस्कृतिक परम्परा र जाडोमा यसको स्वास्थ्यवर्धक गुणका कारण टोखाको चाकुको लोकप्रियता बर्सेनि बढ्दो छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण