मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

इरानसँगको तनाव कम हुने संकेत: ट्रम्पको फेरियो बोली

बिहीबार, ०१ माघ २०८२, ०९ : ०२
बिहीबार, ०१ माघ २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमा प्रदर्शनकारीको हत्या रोकिएको र मृत्युदण्ड स्थगित भएको बताएका छन्।
  • ट्रम्पले इरानसँगको तनाव कम गर्ने संकेत गर्दै महत्त्वपूर्ण स्रोतहरूसँग कुरा गरिरहेको बताए।
  • इरानी विदेशमन्त्रीले प्रदर्शनकारीलाई फाँसी दिने योजना नरहेको र सम्बन्ध सुधारको संकेत दिएका छन्।

तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सरकार विरोधी प्रदर्शनकारीहरूको हत्या रोकिएको र योजनाबद्ध मृत्युदण्डको प्रक्रिया पनि स्थगित भएको आश्वासन पाएको बताएका छन्। बुधबार ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरानका तर्फबाट धेरै राम्रो वक्तव्य आएको भन्दै पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेको जानकारी दिएका हुन्। 

यसअघि इरानमाथि सैन्य आक्रमणको धम्की दिँदै आएका ट्रम्पको पछिल्लो अभिव्यक्तिले अमेरिका इरानसँगको चरम तनावलाई मत्थर पार्ने दिशामा अघि बढेको संकेत गरेको छ। ट्रम्पले आफूले इरान तर्फका धेरै महत्त्वपूर्ण स्रोतहरूसँग कुरा गरेको र अवस्था कसरी विकास हुन्छ भन्नेमा नजर राखिरहेको बताए। 

यद्यपि, उनले भविष्यमा अमेरिकी सैन्य कारबाहीको सम्भावनालाई भने पूर्ण रूपमा अस्वीकार गरेनन्। अमेरिकाले कतारस्थित आफ्नो एयरबेसबाट केही कर्मचारीहरू फिर्ता बोलाउन सुरु गरेलगत्तै ट्रम्पको यस्तो सन्तुलित भनाइ बाहिर आएको हो। राजनीतिक विश्लेषकहरूले ट्रम्पको यो बोलीलाई तत्काल हुन सक्ने युद्धको जोखिमबाट पछि हटेको रूपमा व्याख्या गरेका छन्।

यसैबिच, इरानी विदेशमन्त्री अब्बास अराक्चीले सरकार विरोधी प्रदर्शनकारीहरूलाई फाँसी दिने तेहरानको कुनै योजना नरहेको स्पष्ट पारेका छन्। फक्स न्युजसँगको अन्तर्वार्तामा अराक्चीले भने, ‘इरानमा कसैलाई पनि फाँसी दिने योजना छैन र यो विषय हाम्रो प्राथमिकतामा पनि पर्दैन।’ इरानी विदेशमन्त्रीको यो बयानले अन्तर्राष्ट्रिय समुदायमा व्याप्त चिन्तालाई केही हदसम्म कम गरेको छ।

अमेरिकी राष्ट्रपतिले इरानबाट सकारात्मक सन्देश आएको बताएपछि वासिङ्टन र तेहरानबिचको सम्बन्धमा देखिएको बरफ पग्लिन थालेको अनुमान गरिएको छ। ट्रम्पले राष्ट्रिय सुरक्षा परिषदसँगको परामर्शपछि आफ्नो कडा अडानलाई केही नरम बनाएका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप