माघीले अन्धकार हटाएर समृद्धिको नयाँ युग ल्याओस् : प्रचण्ड
सारांश
- प्रचण्डले माघी र मकर सङ्क्रान्तिको अवसरमा शुभकामना व्यक्त गरे।
- उनले पर्वलाई बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानको रूपमा व्याख्या गरे।
- प्रचण्डले राष्ट्रिय एकता, शान्ति, सुशासन र समृद्ध नेपालको सपना साकार पार्न एकजुट हुन आह्वान गरे।
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले माघी तथा मकर सङ्क्रान्तिको अवसरमा शुभकामना दिएका छन्। बिहीबार एक सन्देश जारी गर्दै उनले थारु समुदायको मुख्य पर्व माघी तथा मगर, छन्त्याल लगायत अन्य समुदायले मनाउने माघे सङ्क्रान्तिको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका हुन्।
प्रचण्डले माघी र माघे सङ्क्रान्तिलाई नेपाली समाजको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक जीवन्त पहिचानको रूपमा व्याख्या गरे। उनले यी पर्वले विविधताभित्रको एकता, आपसी सम्मान, भाइचारा र सामाजिक सद्भावको सन्देश बोकेको बताए। सन्देशमा उनले उत्तरायणको सुरुवातसँगै दिन लम्बिँदै र रात छोटिँदै जाने प्राकृतिक नियमलाई राष्ट्रिय जीवनसँग जोडेका छन्। राष्ट्रिय जीवनबाट पनि अन्धकार हटेर उज्यालो, प्रगति र समृद्धिको नयाँ युग सुरु हुने विश्वास उनले व्यक्त गरे।
तराईदेखि हिमालसम्मका नेपालीले परिवारसँग बसेर खिचडी, घिउ, चाकु र तरकारीका परिकार खाँदै रमाइलो गरी मनाउने यो चाडको आफ्नै महत्त्व रहेको प्रचण्डको भनाइ छ। यस्तो आपसी आत्मीयता र सामूहिकताले समाजलाई थप सुदृढ र बलियो बनाउने उनले उल्लेख गरे।
शुभकामना सन्देशमार्फत प्रचण्डले प्राप्त उपलब्धिहरूको रक्षा गर्दै संविधानको पूर्ण कार्यान्वयनमा जोड दिएका छन्। उनले राष्ट्रिय एकता, शान्ति, सुशासन र समृद्ध नेपालको सपना साकार पार्न सबैलाई एकजुट भएर अघि बढ्न अपिल समेत गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण