नासाको इतिहासमै पहिलोपटक ‘मेडिकल निकासी’, बिरामी अन्तरिक्ष यात्रीलाई पृथ्वी फर्काइँदै
सारांश
- नासाले पहिलो पटक मेडिकल कारण देखाउँदै चार अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनबाट पृथ्वी फर्काउने निर्णय गर्यो।
- एक अन्तरिक्ष यात्रीको स्वास्थ्यमा समस्या देखिएपछि उनीहरूलाई एक महिना अघि नै फर्काउने निर्णय गरियो।
- अमेरिकी, रुसी र जापानी यात्रीहरू स्पेसएक्सको क्याप्सुलमार्फत सान डिएगो नजिकै अवतरण गर्नेछन्।
न्युयोर्क । नासाले आफ्नो ६५ वर्षको इतिहासमा पहिलोपटक मेडिकल निकासी प्रक्रिया अपनाउँदै चार अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाट पृथ्वी फर्काउने निर्णय गरेको छ। एक जना अन्तरिक्ष यात्रीमा चिकित्सकीय हेरचाहको आवश्यकता देखिएपछि बुधबार तीन अन्य चालक दलका सदस्यसहित उनीहरूले स्टेसनबाट प्रस्थान गरेका हुन्।
अमेरिका, रुस र जापानका यी यात्रीहरू स्पेसएक्सको क्याप्सुलमार्फत बिहीबार बिहान सान डिएगो नजिकै प्रशान्त महासागरमा अवतरण गर्ने तयारीमा छन्। चिकित्सकीय गोपनीयताका कारण नासाले बिरामी अन्तरिक्ष यात्रीको पहिचान र स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन।
यद्यपि निवर्तमान स्टेसन कमान्डर माइक फिन्केले ती यात्रीको अवस्था स्थिर र सुरक्षित रहेको जानकारी दिएका छन्। विस्तृत चिकित्सकीय मूल्याङ्कन पृथ्वीमै गर्न उपयुक्त हुने देखिएकाले उनीहरूको मिसन एक महिनाअघि नै छोट्याइएको नासाले जनाएको छ। यसअघि उनीहरू फेब्रुअरीको अन्त्यसम्म स्टेसनमै बस्ने कार्यतालिका थियो।
गत अगस्टमा प्रक्षेपण गरिएका यी यात्रीहरूको फिर्तीका लागि नासाले स्पेसएक्सको नियमित प्रवेश र स्प्ल्यासडाउन प्रक्रिया नै अपनाउनेछ। प्रशान्त महासागरमा रिकभरी जहाजसहित चिकित्सकहरूको टोली तयारी अवस्थामा राखिएको छ।
नासाका अनुसार यो स्वास्थ्य समस्या कुनै आपतकालीन परिस्थिति वा स्टेसन सञ्चालनसँग सम्बन्धित भने होइन। नासाका नयाँ प्रशासक जारेड आइज्याकम्यानले अन्तरिक्ष यात्रीहरूको स्वास्थ्य र कल्याण नै आफ्नो सर्वोच्च प्राथमिकता रहेको बताएका छन्।
यसअघि सन् १९८५ मा सोभियत अन्तरिक्ष यात्री भ्लादिमिर भास्युटिन स्वास्थ्य समस्याका कारण साल्युट–७ स्टेसनबाट चाँडै फर्किएका थिए। नासाले भने आफ्नो इतिहासमा पहिलोपटक यस्तो कदम चालेको हो। हाल आइएसएसमा एक अमेरिकी र दुई रुसी अन्तरिक्ष यात्री बाँकी छन् भने फेब्रुअरीको मध्यतिर नयाँ टोली पठाउने तयारी भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण