मुलुकलाई निकास दिन फागुन २१ को निर्वाचन सफल पारौँ : राष्ट्रपति पौडेल
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन सफल पार्न आग्रह गरेका छन्, जसले सुरक्षित भविष्य र निकास दिनेछ।
- उनले शान्ति, सुशासन, विकास र समृद्धिको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन महत्त्वपूर्ण रहेको बताए।
- शिक्षा र रोजगारीका लागि युवा विदेश पलायन भइरहेको अवस्थामा स्वदेशमै उद्यमशीलता विकास गर्नुपर्ने उनको भनाइ छ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षित भविष्य र मुलुकको निकासका लागि आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन सफल पार्न सबै नेपालीलाई आग्रह गरेका छन्। बागलुङको बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयको हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले शान्ति, सुशासन, विकास र समृद्धिको जनआकाङ्क्षा पूरा गर्ने दायित्वका लागि यो निर्वाचन महत्त्वपूर्ण रहेको बताएका हुन्।
ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रले जनताको चाहना पूरा गर्नुपर्नेमा उनले जोड दिए। जनताको हितलाई केन्द्रमा राखेर सुशासनको माध्यमबाट भ्रष्टाचार र विकृति अन्त्य गर्दै विकासको गति तीव्र पार्नु आजको मुख्य आवश्यकता रहेको राष्ट्रपतिको भनाइ छ।
उनले परिवर्तित सन्दर्भमा नवपुस्ताको चाहना सम्बोधन गर्न र मुलुकलाई राजनीतिक दुष्चक्रबाट बचाउन आपसी समझदारी र सहकार्यबाट निर्वाचनको महायज्ञ सफल पार्नुपर्ने उल्लेख गरे। शिक्षा र रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले स्वदेशमै उत्पादन र उद्यमशीलताका नवीन आयामहरू विकास गर्नुपर्ने बताए।
बदलिँदो विश्व परिवेशमा गुणस्तरीय र प्रविधिमैत्री शिक्षाको आवश्यकता रहेको औँल्याउँदै राष्ट्रपति पौडेलले विद्यालयहरूले ज्ञानसँगै नैतिकता, सीप र संस्कार सिकाउनुपर्ने बताए। राष्ट्र निर्माणको आधारशिला नै शिक्षा भएकाले यसलाई सरकारले सधैँ प्राथमिकतामा राख्नुपर्ने उनको तर्क छ।
कृषि क्षेत्रलाई आधुनिकीकरण र औद्योगिकीकरण गर्न सघाउने खालको शिक्षा नै अहिलेको आवश्यकता रहेको भन्दै उनले शिक्षालाई अनुसन्धान र व्यवसायमार्फत जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण