बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जिल्लामा फ्लप भएका जयराम बने केन्द्रीय सदस्य

शुक्रबार, ०२ माघ २०८२, ०६ : ३०
शुक्रबार, ०२ माघ २०८२

सारांश

  • जयराम लामिछाने नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
  • उनी यसअघि मकवानपुर कांग्रेसको सभापति पदमा पराजित भएका थिए र २०७० को निर्वाचनमा पनि पराजित भएका थिए।
  • लामिछाने गगन कुमार थापाको नेतृत्वमा खुल्ला तर्फको केन्द्रीय सदस्य बनेका हुन् र उनी निर्माण व्यवसायी संघको पूर्व अध्यक्ष पनि हुन्।

मकवानपुर । उत्तरी मकवानपुरका जयराम लामिछाने नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका छन् । गगन कुमार थापा नेतृत्वमा उनी सर्वसम्मत रूपमा खुल्ला तर्फको केन्द्रीय सदस्य बनेका हुन् ।

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–९ का स्थानीय लामिछाने पहिलो पटक पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा पुगेका हुन् । २०७० को संविधानसभा निर्वाचनमा मकवानपुर–२ का उम्मेदवार लामिछानेले तेस्रो स्थानमा चित्त बुझाएका थिए ।

लामिछाने कांग्रेस मकवानपुरको सभापति पदमा पराजित भएका पात्र हुन् । २०७८ मा सम्पन्न मकवानपुर कांग्रेसको सभापति पदको पहिलो चरणमा नै पराजित भएका थिए । कांग्रेस १४ औँ महाधिवेशन अन्तर्गत भएको अधिवेशनमा इतर पक्षबाट उम्मेदवार बनेका उनलाई संस्थापन पक्षका दुई उम्मेदवार बुद्ध लामा र आनन्द पराजुलीसंग पराजित भएका थिए ।

त्यसअघि उनी २ कार्यकाल कांग्रेस मकवानपुरको जिल्ला सदस्य भएका थिए । मकवानपुरको उत्तरी क्षेत्रमा कांग्रेसको सङ्गठन निर्माण तथा विकास निर्माणको काममा सक्रिय रहेका उनी नेपाल निर्माण व्यवसायी सङ्घको पूर्व अध्यक्ष समेत हुन् । निर्माण व्यवसायी लामिछाने तत्कालीन इन्द्रबहादुर बानियाँ २ कार्यकाल सभापति रहँदा मनोनित सदस्य बनेका थिए । पछि बानियाँसँग सम्बन्धी बिग्रिए पछि उनी इतर समूहको नेता बनेर सभापति पदमा उम्मेदवार बनेका थिए ।

सभापति हारेका लामिछाने महाधिवेशन प्रतिनिधि रहेका थिए । विशेष महाधिवेशनको क्रममा गगन कुमार थापालाई साथ दिएर अघि बढेका उनी केन्द्रीय सदस्य बनेका हुन् । २०७० मा मकवानपुर क्षेत्र नम्बर–२ बाट चुनावी प्रतिस्पर्धा गरेका उनी पराजित भएका थिए । सो निर्वाचनमा एमालेका उम्मेदवारले जितेका थिए । सो पछि उनले कुनै पनि चुनावमा सहभागिता जनाएका थिएनन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप