शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस नेताहरु भन्छन् : आयोगको निर्णयले आगामी निर्वाचन बिथोलिन हुन्न

शुक्रबार, ०२ माघ २०८२, १३ : ४६
शुक्रबार, ०२ माघ २०८२

काठमाडाैँ । नेपाली कांग्रेसका नेताहरुले निर्वाचन आयोगले आगामी फागून २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई असर गर्ने कुनै निर्णय गर्न नहुने बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्न आयोगमा पुगेका सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले यस्तो बताएका हुन् ।

उनीहरुले आयोगले संविधान, राजनीतिक दलसम्बन्धि ऐन, नेपाली कांग्रेसको विधान र आफूहरुले उपलब्ध गराएको कागजातको आधारमा नै निर्णय गर्ने विश्वास व्यक्त गरे । कांग्रेसको आधिकारिकता आफूहरुले पाउने र छुट्टिएर गएकाहरु पनि मूलधारमा नै फर्किने नेताहरुको विश्वास छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले निर्वाचन हुने कि नहुने आशंका भइरहेका बेलामा थप जटिल परिस्थिति उत्पन्न हुनेगरी निर्णय गर्न नहुने बताए ।

उनले कांग्रेस चुनावको लागि पूर्णरुपमा तयार भएर जिल्ला जिल्लामा खटिइसकेको बताए । सिन्धुपाल्चोकमा आफूहरुले चुनावी सभा समेत थालेको उनको भनाइ छ । यस्तो स्थितिमा आयोगले संविधान विपरित, कांग्रेसको विधान विपरित निर्णय गरेमा देशमा निर्वाचनको प्रक्रिया नै विथोलिने उनले बताए । निर्वाचन बिथोलिएमा त्यसको जिम्मेवारी आयोगले लिनुपर्ने उनको भनाइ छ ।

उनले कसैको बहकावमा, दबाबमा र स्वार्थमा गलत निर्णय नगर्न पनि आग्रह गरे । उनले भने, ‘निर्वाचन हुने कि नहुने भनेर कोलाहल मच्चाइरहेको छ, यतिसम्म कि जसले सरकार बनायो, जेनजी कै मान्छेहरुले चुनाव हुँदैन भनिरहेको अवस्थामा नेपाली कांग्रेस पार्टी चुनावको लागि तयार भएर आफ्नो आफ्नो जिल्लामा खटिइसकेको अवस्था, खटाइसकेको अवस्थामा छ । सिन्धुपाल्चोकमा त हामीले चुनावी सभा पनि गर्यौँ, अन्यत्र पनि सुरु भएको छ । त्यो स्थितिमा निर्वाचन आयोगले गरेको निर्णयको कारण, जुन निर्णय संविधान विपरित, नेपाली कांग्रेसकाे विधान विपरित भएको खण्डमा भोलि देशमा निर्वाचनको प्रक्रिया बिथोलियो भने त्यसको जिम्मेवारी निर्वाचन आयोगले लिनुपर्छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पनि निर्वाचन आयोगले कानून नियम, संविधान र विधानअनुसार आफूहरुको पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गरे । उनले कांग्रेस विभाजनलाई रोक्न अन्तिमसम्म प्रयास गरेपनि असफल भएको बताए । विभाजनले निर्वाचनसँगै देशको राजनितिमा पनि ठूलो असर पर्ने उल्लेख गरे । उनले सिंहदरबार, संसद, सर्वोच्च अदालत जलाएजस्तै नेपाली कांग्रेसलाई पनि जलाएर प्रजातन्त्रलाई नै समाप्त पार्न केही तत्वहरु लागिरहेको आरोप लगाए । यसमा सबै सचेत हुनुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘कांग्रेसको विभाजनले निर्वाचनमा असर पर्छ । राजनीतिमा असर नपर्ने भन्ने कुरा हुँदैन तर समग्रतामा मिलेर जानको लागि हाम्रो कोशिस अन्तिमसम्म थियो । निर्वाचन आयोगले कानुन, नियम, संविधान र विधानअनुसार निर्णय गर्ने विश्वास हामीले लिएका छौँ । अरु कुरा हेर्दै जानुहोला, नेपालको राजनीतिमा सिंहदरबार जल्यो, संसद भवन जल्यो, सर्वोच्च अदालत जल्यो । अझै कांग्रेस नजलाई केही हुँदैन भनेर कोही लागेका छन् र प्रजातन्त्रलाई नै समाप्त गर्न लागेका छन् भने यसको असर धेरै ठूलो पर्नसक्छ, यसमा हामी बुझेर लाग्नुपर्छ ।’

नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङले कांग्रेसको आधिकारिक सभापति शेरबहादुर देउवा नै रहेको बताए । उनले प्रतिनिधिसभाको निर्वाचनका लागि देउवाले नै टिकट बाढ्ने दाबी गरे । उनले शनिबारबाट नै सभापति देउवाले टिकट बाढ्न सुरु गर्ने जानकारी दिए । उनले कांग्रेस पार्टी विभाजन नभएको पनि बताए । गगन थापा, विश्वप्रकाश शर्माहरुले अर्को पार्टी गठन नगरेकोले उनीहरु पनि देउवाको हातबाट टिकट लिएर चुनाव लड्न जाने दाबी गरे ।

उनले भने, ‘नेपाली  कांग्रेसको सभापति शेरबहादुर देउवा नै हो । शेरबहादुर देउवाले भोलिबाट ६ गते प्रतिनिधिसभाको लागि मनोनयन गर्न टिकट बाँड्नुहुन्छ । नेपाली कांग्रेस पार्टी फुटेको छैन । उहाँहरु (गगन–विश्व) ले अर्को पार्टी गठन गर्नुभएको छैन । उहाँहरु पनि भोलि आएर टिकट लिएर चुनाव लड्न जानुहुन्छ ।’

नेपाली  कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा.शेखर कोइराला लगायतका नेताहरु पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग गएका थिए । – न्युज एजेन्सी नेपाल

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप