बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

आचारसंहिता कार्यान्वयनको चुनौती : आफ्ना उम्मेदवार बचाउनै गाह्रो पर्ने साना दलको चिन्ता

शुक्रबार, ०२ माघ २०८२, १५ : ३०
शुक्रबार, ०२ माघ २०८२

सारांश

  • साना दलका प्रतिनिधिहरूले निर्वाचन आचार संहिताको कार्यान्वयनमा साना दलमाथि विभेद हुने गुनासो गरे।
  • निर्वाचन आयोग र प्रहरी प्रशासनले साना दललाई सहयोग नगरेको र पहुँचवालाले आचारसंहिता उल्लङ्घन गरेको आरोप छ।
  • आचारसंहिता व्यवहारिक नभएको र प्रविधिको दुरुपयोग नियन्त्रण गर्नुपर्ने विषयमा छलफल भयो।

काठमाडौँ । साना दलका प्रतिनिधिहरूले निर्वाचन आचार संहिता सबैलाई बराबरी लागू हुने भए पनि साना दलमाथि हुने गरेको थिचोमिचोबारे निर्वाचन आयोग र प्रहरी प्रशासनले सहयोग नगर्ने गरेको बताएका छन् । 

निर्वाचन आयोगले शुक्रबार निर्वाचन आचारसंहिता २०८२ कार्यान्वयनबारे दलहरूसँग गरेको छलफलका क्रममा साना पार्टी नेताहरूले यस्तो गुनासो गरेका हुन् । 

कार्यक्रममा राष्ट्रिय यथार्थवादी पार्टी नेपालका डा.जितेन्द्रप्रसाद घिमिरे निर्वाचनमा जतिसुकै र जस्तासुकै निर्वाचन आचारसंहिता लागू गरिए पनि त्यो सानाका लागि मात्र सीमित हुने र पहुँचवालाले त्यसको उल्लङ्घन गरिरहने विगतका घटनाले देखाएको बताए । 

‘मनी, मसल र मिडियाको कुरा आयो तैपनि एआईले छुट्याएन’, उनले भने, ‘कसको टाउको काटेर कहाँ हालिन्छ थाहा हुँदैन ।’ उनले आयोगले तयार पारेको आचारसंहिता राम्रो हुँदाहुँदै पनि घुमिफिरी रुम्जाटार भनेजस्तो त्यसको कार्यान्वयनको पक्ष फितलो हुने गरेको बताए । 

उनले १० वटा झन्डा आचार संहितामा राखिए पनि उम्मेदवारी दर्ताकै दिनबाट त्यो व्यवस्था उल्लङ्घन हुनसक्ने बताए ।  ‘अरू पार्टीका झन्डाले हामी पनि अरू नै पार्टीका सदस्य हौँ कि हामी के हौ भन्ने अवस्था हुन्छ । त्यस्तो हुँदा हामीले आयोगलाई के गर्ने ?’, प्रश्न गर्दै उनले भने, ‘सानो दलको ट्याग भिरेकाहरू उम्मेदवारी दर्ता गराउन जाँदा बचाउनै गाह्रो हुन्छ ।’ 

घिमिरेले यस्ता कुरामा आयोग र प्रहरी प्रशासनले ध्यान दिनुपर्नेमा जोड दिँदै अघिल्लो निर्वाचनमा चितवनमा गेटै भाँचेर रविजी र एमालेका मान्छे आउँदा पनि प्रहरी मूकदर्शक बनेको बताए । 

छलफल कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादीका चिरञ्जीवी ढकालले आचारसंहिता धेरै राम्रो आएको भन्दै निर्वाचन स्वच्छ, मर्यादित र पारदर्शी बनाउन सबैले पालना गर्न जरुरी रहेको भए पनि आचारसंहिता कति पनि व्यवहारिक नभएको बताए ।

‘यो व्यवहारिक देखिँदैन । त्यसका लागि राजनीतिक दलहरूले निकै ठुलो प्रतिबद्धता गर्नुपर्ने देखिन्छ’, उनले समानुपातिक निर्वाचन प्रणालीमा दलहरूले बुझाएको सूची हेर्दा नै प्रस्ट हुने बताए । ‘जुन इसेन्सले समानुपातिक निर्वाचन प्रणाली अपनाइयौ त्यो हुन सकेन । पैसाको बलमा समानुपातिकमा नाम दलहरूले समेटेका छन् । त्यसैले कानुन बनाएपछि लागू गर्न सक्नुपर्छ’,ढकालको भनाइ छ । उनले आचारसंहिताको १३ नम्बर सबैभन्दा बढी उल्लङ्घन हुनसक्ने बताए । 

एमालेका नेता राजन भट्टराईले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन आचारसंहिताको आवश्यक पर्ने र त्यसको कार्यान्वयन जरुरी रहेको बताए । 

‘निर्वाचन आयोगले अघिल्लो निर्वाचनमा दिइएका सुझावहरूलाई ध्यान दिनुपर्छ’, उनले भने, ‘आचारसंहिताका केही बुँदा अत्यन्त अव्यवहारिक छन् ।’ उनले बालबालिका कार्यक्रममा सहभागी गराउन नपाइने विषय जायज उक्त बुँदा थप प्रस्ट पार्नुपर्ने भन्दै आयोगको ध्यानाकर्षण गराए । 

आयोगले तयार पारेको आचार संहितामा उम्मेदवारी दर्ता गर्न जाँदा २५ जनाभन्दा बढी जान नपाउने र १० वटा मात्र झन्डा प्रयोग गर्ने भन्ने विषय व्यवहारिक नभएको भट्टराईको भनाइ छ । त्यस्तै उनले प्रदेशका मन्त्री र जनप्रतिनिधिहरु निर्वाचनका कार्यक्रममै सहभागी हुन नपाउने सवाल पनि व्यवहारिक नहुने दाबी गरे । 

उनले मतदानको १७ दिनअघिबाट मात्र प्रचार प्रसारमा जानु भन्ने तर डेढ महिनाअघि नै उम्मेदवारी दर्ता गराएर कुनै पनि उम्मेदवार घरमा नबस्ने भन्दै यसमा आयोगको मनिटरिङ कस्तो हुन्छ भनेर प्रश्न गरे । साथै उनले निर्वाचनमा उम्मेदवारहरूले सुरक्षाका सवालमा अझै ढुक्क हुन सक्ने अवस्था नरहेको बताए । 

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले मुलुक विशिष्ट अवस्थामा निर्वाचनमा जान लागेको भन्दै आयोगले बनाएको आचारसंहिता कार्यान्वयनका सवालमा अनुगमनको मेकानिजम दरिलो बनाउनुपर्ने सुझाव दिए । 

‘हामी डिजिटल युगमा छौँ’, उनले भने, ‘भोलि रातारात फलाना उम्मेदवारले फलाना उम्मेदवारलाई समर्थन गर्‍यो भनेर भिडिओ, अडिओ बन्यो भने त्यो नियन्त्रण गर्ने आयोगको क्षमता छ ?’ आफूहरूले यसैबारेमा यसअघि पनि प्रमुख निर्वाचन आयुक्तको ध्यानाकर्षण गराएको भन्दै प्रविधिको दुरुपयोग नियमन गर्ने विज्ञता छ कि छैन भनेर प्रश्न गरे । 

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अहिले सबैभन्दा बढी दुरुपयोग हुने भनेकै सूचना प्रविधिको भएको बताए । उनले यसको नियन्त्रण गर्ने क्षतमा आयोगले नै राख्नुपर्नेमा जोड दिए । 

‘सामाजिक सञ्जालमा फलानो प्रधानमन्त्री भनेर आइसक्यो । यसले निर्वाचन शब्दकै दुरुपयोग भयो’, उनले भने, ‘निर्वाचन भनेको नबोली चयन गर्ने हो ।’ त्यसपछि उनले राष्ट्रिय झन्डाको बढी मात्रामा दुरुपयोग भएको बताए । सिंहदरबार जलाउँदा पनि राष्ट्रिय झन्डा, संसद् जलाउँदा पनि राष्ट्रिय झन्डा प्रयोग भएको छ यो दुर्दशा दोहोरिनुहुँदैन । 

छलफलमा सहभागी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) की नेतृ ओजस्वी भट्टराईले तीन वटा टिप्पणी गर्दै प्राविधिकतर्फ बैंक खाताको सवालमा नेपालभन्दा बाहिरबाट गरिने खर्च डलर एकाउन्टबाट गर्न मिल्छ कि मिल्दैन भनेर प्रश्न गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप