सिन्धुलीको बैंक लुट : घरधनीले सूचना दिए, हतियार व्यवस्थापन गरे
सारांश
- सिन्धुलीको एसबीआई बैंक लुटपाटमा घरधनीको संलग्नता पुष्टि भएको छ, प्रहरीले उनलाई पक्राउ गरेको छ।
- प्रहरीले बैंकबाट लुटेको २ करोड ६८ लाख ५५ हजार नगद बरामद गरेको छ, लुटपाटमा प्रयोग भएको पेस्तोल नक्कली थियो।
- प्रहरीले यस घटनामा संलग्न ७ जनालाई पक्राउ गरेको छ र उनीहरूले २०८२ असोजदेखि नै बैंक लुट्ने योजना बनाएका थिए।
काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नम्बर–२ स्थित हायुटारमा अवस्थित एसबीआई बैंक लुटपाटमा घरधनीकै संलग्नता देखिएको छ । पुस २९ मा साँझ बैंक लुटमा संलग्न आरोपमा प्रहरीले बैंकको शाखा रहेको घरका धनी छविलाल स्याङ्तानलाई पनि पक्राउ गरेको छ ।
घरधनी सहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्य प्रकाश सुवेदीले रातोपाटीलाई बताए । पक्राउ परेका ७ जना र उनीहरूको भूमिकाबारे प्रहरीले शुक्रवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
पक्राउ पर्नेमा काभ्रेको बनेपा घर भएका ४९ वर्षीय भागवत सिंह थापा, सिन्धुली घ्याङलेख गाउँपालिका घर भएका ४७ वर्षीय चतुरमान बज्यु, चितवन भरतपुर घर भएका २४ वर्षीय शशाङ्क श्रेष्ठ, नुवाकोट पञ्चकन्या–५ घर भएका २३ वर्षीय मिलन गिरी, सोही ठाउँका १९ वर्षीय विवेक मगर, सिन्धुली घ्याङलेख–२ बस्ने ४४ वर्षीय छविलाल स्याङ्तान र १६ वर्षीय बालक छन् ।
बैंकबाट लुटेको २ करोड ६८ लाख ५५ हजार नगद प्रहरीले बरामद गरेको छ । लुटेराहरूले घटनास्थलमा देखाएको पेस्तोल नक्कली रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । नक्कली प्लास्टिकको पेस्तोल र खुकुरी देखाएर बैंक लुटिएको डीएसपी सुवेदीले जानकारी दिए । प्रहरीले लुटमा प्रयोग भएको नक्कली पेस्तोल र खुकुरी बरामद गरेको छ ।
घरधनी स्याङ्तानले लुटेराहरूलाई हतियार व्यवस्थापन गरिदिएका थिए । उनले सूचना आदान प्रदान पनि गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । डीएसपी सुवेदी भन्छन्, ‘घरधनीले नै त्यहाँको बस्तुस्थितबारे सूचना दिएको देखिन्छ ।’
घ्याङलेख गाउँपालिका–२ बस्ने चतुरमान बज्यु र घरधनी छविलाल स्याङ्तानले २०८२ असोजबाट नै बैंक लुट्ने योजना बनाएको अनुसन्धान अधिकृतहरूलाई बताएका छन् ।
लुटेराहरू पुस २३ मा काठमाडौँबाट २ वटा मोटरसाइकलमा सिन्धुली गएका थिए । तर, त्यसबेला परिस्थिति अनुकूल नभएर फर्केको र दोस्रो प्रयासमा लुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पुस २९ मा कोटेश्वरमा भेला भएर लुटेराहरू बनेपासम्म सार्वजनिक यातायातमा गएका थिए । बनेपाबाट टाटा सुमो रिजर्भ गरेर घटनास्थलमा पुगेका हुन् ।
एसबीआई बैंकको शाखा कार्यालयका अनुसार ३ करोड ७ लाख लुटपाट भएको छ । आरोपीहरू विरुद्ध प्रहरीले चोरी तथा डाँका सम्बन्धी कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण