बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

यस्तो छ सरकार र दुर्गा प्रसाईँबिचकाे १२ बुँदे सहमति

शुक्रबार, ०२ माघ २०८२, २२ : ४९
शुक्रबार, ०२ माघ २०८२

सारांश

  • सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १२ बुँदे सम्झौता भएको छ, जसमा संवैधानिक सुधारका लागि आयोग गठन हुनेछ।
  • आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता र लघुवित्त ऋणिलाई राहत दिने निर्णय गर्दै सरकारले 'चक्रवर्ती कोष' स्थापना गर्नेछ।
  • कर्मचारीको तलब वृद्धि र ऋण सम्बन्धी प्रावधानलाई कडाईका साथ लागू गर्ने सहमति भएको छ।

काठमाडौँ। सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँबिच शुक्रबार १२ बुँदे सम्झौता भएको छ । सिंहदरबारमा शुक्रबार भएको निर्णायक वार्तामा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र अभियानका तर्फबाट अध्यक्ष प्रसाईँले १२ बुँदे सम्झाैतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा महाअभियानले उठाउँदै आएको किरात र बौद्ध धर्मसहितको हिन्दु अधिराज्य, प्रदेश संरचनाको खारेजी र राजसंस्थाको पुनर्स्थापना सम्बन्धी मागका सन्दर्भमा आवश्यक संवैधानिक र कानुनी सुधारका विषयमा अध्ययन गरी सुझाव पेस गर्न सरकारले एक ‘उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग’ गठन गर्ने निर्णय गरेको छ । यसैगरी, आन्दोलनका क्रममा दुर्गा प्रसाईँ लगायतका अभियन्ताहरूमाथि लागेका संगठित अपराध र फौजदारी मुद्दाहरू फिर्ता लिने प्रक्रियालाई सरकारले मन्त्रिपरिषद्को बैठकबाट तुरुन्तै अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

आर्थिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि लघुवित्त र सहकारीका ऋणीहरूलाई राहत दिने गरी विशेष सहमति भएको छ । जसअनुसार साना बचतकर्ता र ऋणीहरूको हकमा आगामी असार मसान्तभित्र १ लाख रुपैयाँसम्म फिर्ता गराउन सरकारले राष्ट्रिय सहकारी प्राधिकरणलाई ऋण दिएर ‘चक्रवर्ती कोष’ स्थापना गर्ने भएको छ । साथै, बैंक तथा वित्तीय संस्थाहरूले ऋण प्रवाह गर्दा ऋणीबाट भविष्यको मिति राखेर चेक लिन नपाउने व्यवस्था कडाइका साथ लागू गरिने र कालो सूचीमा परेकाहरूलाई सहजै सूचीबाट हटाउने कार्यविधि बनाइने सम्झौतामा उल्लेख छ ।

निजामती कर्मचारी, सेना, प्रहरी र सशस्त्र प्रहरीको मासिक तलबमा २० हजार रुपैयाँ वृद्धि गर्ने मागमा सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा वित्तीय स्रोतका आधारमा सकारात्मक निर्णय लिने उल्लेख गरिएकाे छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप