बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इजिप्टलाई पेनाल्टी सुटआउटमा हराउँदै नाइजेरियालाई तेस्रो स्थान

आइतबार, ०४ माघ २०८२, ०९ : २७
आइतबार, ०४ माघ २०८२

सारांश

  • नाइजेरियाले पेनाल्टी सुटआउटमा इजिप्टलाई हराएर अफ्रिका कप अफ नेसन्स २०२५ मा तेस्रो स्थान हासिल गर्‍यो।
  • खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि पेनाल्टीमार्फत नाइजेरियाले जित निकाल्यो, जसमा गोलकिपर स्ट्यान्ली नवाबली नायक बने।
  • भिक्टर ओसिमहेन बिना नै नाइजेरियाले जित हासिल गर्‍यो, र फाइनल खेल मोरक्को र सेनेगलबीच रबातमा हुनेछ।

कासाब्लान्का । इजिप्टलाई पेनाल्टी सुटआउटमा हराउँदै नाइजेरियाले अफ्रिका कप अफ नेसन्स (एफकन) २०२५ मा तेस्रो स्थान हासिल गरेको छ। मोरक्कोको कासाब्लान्कामा भएको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि पेनाल्टीमार्फत निर्णय लिइएको हो। 

यसअघि सेमिफाइनल र विश्वकप छनोटमा समेत पेनाल्टीमै पराजित भएको नाइजेरियाले यसपटक भने आफ्नो खराब लयलाई सुधार्दै जित निकालेको छ।

नाइजेरियाको जितमा गोलकिपर स्ट्यान्ली नवाबली नायक बने। उनले इजिप्टका स्टार खेलाडी मोहम्मद सलाह र ओमार मरमुसका प्रहारलाई उत्कृष्ट ढंगले बचाएका थिए। इजिप्टका गोलकिपर मुस्तफा सोबेइरले मनोवैज्ञानिक दबाब दिने प्रयास गरे पनि एडेमोला लुक्म्यानले निर्णायक गोल गर्दै नाइजेरियाको जित निश्चित गरे। 

खेलको निर्धारित समयमा नाइजेरियाले आक्रामक खेल प्रदर्शन गरेको थियो र दुई पटक बललाई नेटको दिशा दिए पनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) र अफसाइडका कारण ती गोलले मान्यता पाएनन्।

पहिलो हाफमा पल ओनुआचुले गरेको गोललाई रेफ्री जलाली जायेदले भीएआर रिभ्युपछि फाउल भएको भन्दै रद्द गरिदिएका थिए। दोस्रो हाफको सुरुमै विकल्पका रूपमा मैदान छिरेका लुक्म्यानको हेडरलाई पनि अफसाइडका कारण मान्यता दिइएन। 

यो जितसँगै नाइजेरियाले आफकोनको तेस्रो स्थानका लागि हुने भिडन्तमा आफ्नो अपराजित यात्रा कायम राखेको छ। नाइजेरियाले यसअघि आठ पटक तेस्रो स्थानको खेल जितेको छ भने सन् १९७६ मा पनि कास्य पदक जितेको थियो।

टोलीका मुख्य स्ट्राइकर भिक्टर ओसिमहेनलाई मैदान नउतारी निकालिएको यो नतिजाले मोरक्कोका ब्राहिम डियाजलाई गोल्डेन बुट जित्ने बाटो सहज बनाएको छ। डियाज पाँच गोलसहित शीर्ष स्थानमा छन्। 

प्रतियोगिताको फाइनल खेल आइतबार आयोजक मोरक्को र सेनेगलबीच रबातमा हुनेछ। फाइनलको विजेताले महादेशीय उपाधिसँगै १० मिलियन डलर पुरस्कार प्राप्त गर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप