चितवनका ३ वटै क्षेत्रमा एमाले फेर्यो उम्मेदवार
सारांश
- एमालेले चितवनका तीनवटै क्षेत्रमा नयाँ उम्मेदवार उठाउने निर्णय गरेको छ।
- एमालेले पुरानो अनुहारलाई परिवर्तन गर्दै युवा उम्मेदवारलाई टिकट दिएको छ।
- चितवनका विभिन्न क्षेत्रमा रास्वपा, नेकपा र कांग्रेसका उम्मेदवारहरूसँग प्रतिस्पर्धा हुनेछ।
हेडौँडा । एमालेले चितवनका ३ वटै क्षेत्रमा नयाँ उम्मेदवार खडा गरेको छ । फागुन २१ का लागि तोकिएको निर्वाचनमा एमालेले ३ वटै क्षेत्रमा नयाँ उम्मेदवार उठाउने निर्णय गरेको हो ।
यसअघिका निर्वाचनहरुमा चितवनबाट सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, लालमणि चौधरी, काशिनाथ अधिकारी, राम न्यौपाने लगायतले चुनाव लड्दै आएका थिए । उनीहरू लड्दै आएको क्षेत्रमा एमालेले युवा उम्मेदवारलाई टिकट दिएर चुनावी प्रतिस्पर्धामा उतारेको छ ।
चितवन १ बाट २०७०, २०७४ र २०७९ मा चुनाव लडेका सुरन्द्र पाण्डे यसपटक क्षेत्रीय र जिल्लाको सिफारिसमा नै परेनन् । २०७० र २०७४ मा सो क्षेत्रमा चुनाव जितेका पूर्व अर्थमन्त्री पाण्डे २०७९ को निर्वाचनमा हरेका थिए । तत्कालीन समयमा नेकपा विवादको क्रममा एमालेको १० भाइ समूहमा रहेका उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिक दिन नै आनाकानी गरेका थिए । त्यतिबेला एक दिन होल्ड गरेर पाण्डेलाई टिकट दिएका ओलीले आगामी निर्वाचनमा एमाले चितवनका अध्यक्ष कमलराज पाठकलाई उम्मेदवार बनाएका छन् ।
पाठकले आगामी निर्वाचनमा रास्वपाका हरि ढकालसँग प्रतिस्पर्धा गर्ने छन् भने नेकपा र कांग्रेसले उम्मेदवार टुंग्याएको छैन । रास्वपाका ढकाल यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भइसकेका पात्र हुन् भने पाठक पहिलो पटक चुनावी प्रतिस्पर्धामा रहेका छन् । चितवन १ मा राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकाका सबै वडाहरू पर्दछ ।
चितवन २ मा रास्वपा सभापति रवि लामिछानेसँग भिड्न एमालेले युवा उम्मेदवार उठाएको छ । कलाकारितासँगै राजनीतिमा सक्रिय एमालेका अस्मिन घिमिरेलाई सो क्षेत्रमा उम्मेदवार बनाउने गरी अध्यक्ष ओलीले टिकट दिएका छन् । २०७४ मा एमालेका कृष्णभक्त पोखरेलले चुनाव जितेको सो क्षेत्रमा २०७९ र सो पछिको उपनिर्वाचन २०८० मा रास्वपाका सभापति लामिछानेले चुनाव जितेका थिए । २०७९ को निर्वाचनमा एमाले १० भाइ समूहका पोखरेललाई टिकट दिएपनि जित्न भने सकेनन् । २०८० को उपनिर्वाचनमा भने एमालेले सो क्षेत्रको टिकट तत्कालीन एमाले अध्यक्ष राम न्यौपानेलाई थमायो । एमाले विभाजनको असर खेपेको अवस्थामा शालिन र भद्र उम्मेदवार न्यौपानेले चुनाव हारे । सो क्षेत्रमा तत्कालीन माओवादीबाट राम बहादुर थापा ‘बादल’ले चुनाव जितेका थिए । थापा हाल एमाले उपाध्यक्ष रहेका छन् । सो क्षेत्रबाट एमालेका काशीनाथ अधिकारीले पनि चुनाव लडेका थिए । रास्वपाका सभापति रवि चुनावी प्रतिस्पर्धा गर्ने सो क्षेत्रमा नेकपा र कांग्रेसले उम्मेदवार छनौट गर्न सकेको छैन ।
चितवन २ अन्तर्गत इच्छाकामना गाउँपालिका, कालिका नगरपालिकाका सबै वडा र भरतपुर महानगरपालिकाका १ देखि ५, ७, १०, ११, १२ र २९ नम्बर वडाहरू पर्दछन् ।
यता चितवन ३ मा पनि एमालेले नयाँ पात्रलाई टिकट दिएको छ । माओवादी (हाल नेकपा) संयोजक अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ चुनाव लड्दै आएको क्षेत्र हो । २०७९ को निर्वाचनमा सो क्षेत्र छाडेर गोरखा पसेका प्रचण्डले २०७९ को निर्वाचनमा डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाएका थिए । सो क्षेत्रमा उक्त निर्वाचनमा एमालेले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई सहयोग गरेको थियो । एमालेले आधिकारिक उम्मेदवार बनाएर प्रतिस्पर्धा गरेपनि जित्न भने सकेन । सो क्षेत्रमा राप्रपाका विक्रम पाण्डेले चुनाव जितेका थिए । सो क्षेत्रमा आगामी निर्वाचनमा एमालेले शंकर थपलियालाई उम्मेदवार बनाएको छ । थपलिया एमाले भरतपुर महानगरपालिकाका अध्यक्ष हुन् । सो क्षेत्रमा एमालेका कृष्णभक्त पोखरेलले २०७० को संविधानसभा सदस्य निर्वाचन जितेका थिए । २०७४ मा एमाले र माओवादी एकतापछिको नेकपाबाट प्रचण्डले सो क्षेत्रमा चुनाव जितेका थिए ।
आगामी निर्वाचनमा सो क्षेत्रबाट रास्वपाले सोविता गौतम र नेकपाले भरतपुर महानगरपालिकाकी मेयर रणु दाहाल, राप्रपाले विक्रम पाण्डेलाई प्रतिस्पर्धामा उतार्ने तयारी गरेको छ भने कांग्रेसले हालसम्म उम्मेदवार छनौट गर्न सकेको छैन । चितवन ३ अन्तर्गत माडी नगरपालिकाका ९ वटा वडा र भरतपुर महानगरपालिकाका पश्चिम तर्फका ६, ८, १३ देखि २९ नम्बर वडाहरू रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण