बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

जासुसी गरेको आरोपमा ताइवानमा पत्रकार पक्राउ

आइतबार, ०४ माघ २०८२, १४ : ४५
आइतबार, ०४ माघ २०८२

ताइपेई । ताइवानी प्रहरीले एक जना पत्रकारलाई पक्राउ गरेको छ । ताइवानमाथि चिनियाँ प्रभाव र घुसपैठविरुद्ध कडा कारबाही भइरहेका बेला सैन्य अधिकारीहरूलाई घुस दिएर मुख्यभूमि चीनतर्फ संवेदनशील सूचना पठाएको आरोपमा एक टेलिभिजन पत्रकारलाई पक्राउ गरिएको हो । ताइवानको किआओताउ जिल्ला अभियोजन कार्यालयका अनुसार अदालतले एक पत्रकारसहित पाँच जना वर्तमान तथा अवकाशप्राप्त सैनिक अधिकारीलाई थुनामा राख्ने आदेश दिएको हो । 

अभियोजन कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा पत्रकारको पूरा नाम खुलाइएको छैन । यसमा उनको थर ‘लिन’ मात्र उल्लेख गरिएको छ । यद्यपि सीटीआई टीभीले आफ्ना पत्रकार लिन चेन–योउलाई पक्राउ गरिएको पुष्टि गरेको छ । सीटीआईले घटनाबारे विस्तृत जानकारी आफूलाई नभएको जनाउँदै निष्पक्ष न्यायिक प्रक्रिया अपनाउन आग्रह गरेको छ । 

अभियोजकहरूका अनुसार लिनले केही वर्तमान सैनिक अधिकारीलाई केही हजारदेखि दशौँ हजार ताइवानी डलरसम्म रकम दिएर प्राप्त सैन्य सूचना ‘चिनियाँ व्यक्तिहरू’लाई उपलब्ध गराउन लगाएका थिए । ती चिनियाँ व्यक्ति को हुन्, उनीहरू चिनियाँ सरकारसँग जोडिएका छन् कि छैनन् भन्ने कुरा भने स्पष्ट गरिएको छैन । 

यस प्रकरणमा भएको अनुसन्धानअन्तर्गत शुक्रबार पत्रकार र नौ जना वर्तमान तथा पूर्वसैनिक अधिकारीहरूको घरमा छापा मारिएको थियो । यो अनुसन्धान ताइवानको राष्ट्रिय सुरक्षा, भ्रष्टाचार ऐन तथा गोप्य सूचना चुहावटसँग सम्बन्धित छ । यस मामिलामा आफ्ना कार्यालयमा छापा नपरेको सीटीआई टीभीले जनाएको छ । 

सामाजिक सञ्जालमा लिनले आफूलाई ताइवानको संसद् गतिविधि कभर गर्ने राजनीतिक रिपोर्टर तथा एंकर बताएका छन् । ताइवानमा सरकारी र सैनिक क्षेत्रभित्र जासुसीका मुद्दा बेला–बेला सार्वजनिक हुने गरे पनि पत्रकारमाथि यस्तो आरोप लाग्नु असामान्य मानिएको छ ।

बेइजिङले ताइवानलाई आफ्नो भू–भाग दाबी गर्दै आवश्यक परे बल प्रयोग गरेर नियन्त्रण लिने चेतावनी दिँदै आएको छ । हालै अमेरिकाले ताइवानलाई ठुलो मात्रामा हतियार बिक्रीको घोषणा गरेपछि चीनले टापु वरिपरि दुई दिनसम्म ठुला सैन्य अभ्यास गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप