शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बालेनलाई शुभकामना दिन बसेका थिए कर्मचारी र जनप्रतिनिधि, तर बालेनले पठाए राजीनामापत्र

आइतबार, ०४ माघ २०८२, १६ : ०८
आइतबार, ०४ माघ २०८२

सारांश

  • काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले राजीनामा दिएका छन्।
  • उपप्रमुख सुनिता डङ्गोलले कार्यवाहक प्रमुखको रूपमा कार्यभार सम्हालेकी छिन्।
  • बालेनले फागुन २१ गते हुने निर्वाचनमा झापा ५ बाट उम्मेदवारी दिने तयारी गरेका छन्।

काठमाडौँ ।काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएका छन् । प्रमुख शाहले राजीनामा दिएसँगै उपप्रमुख सुनिता डङ्गोलले महानगरको कार्यवाहक प्रमुखको रूपमा कार्यभार सम्हालेकी छिन् ।

प्रमुख शाह फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा झापा ५ बाट प्रधानमन्त्री बन्ने लक्ष्यका साथ उम्मेदवारी दिँदैछन् ।  अब काठमाडौँ महानगरको नेतृत्व उपप्रमुख सुनिता डङ्गोलको काँधमा आएको छ ।

सुदीप ढकालमार्फत आयो राजीनामा पत्र

उपप्रमुख डङ्गोलका अनुसार प्रमुख बालेन शाहको राजीनामा पत्र सुदीप ढकालले महानगरपालिकाको कार्यालय (काठमाडौँ प्लाजा) पुर्‍याएका थिए । 

पत्र प्राप्त भएपछि डङ्गोलले प्रमुख शाहसँग फोनमा सम्पर्क गरी राजीनामाको पुष्टि गरेकी थिइन् । ‘पत्र आएपछि मैले मेयरसाबसँग फोनमा कुरा गरेँ । उहाँले आजै स्वीकृत गरिदिनु भन्नुभएपछि मैले प्रक्रिया अगाडि बढाएकी हुँ,’ डङ्गोलले भनिन् ।

बिदाइका लागि कुरिरहेका कर्मचारी र जनप्रतिनिधि

महानगरको मुख्य कार्यालय काठमाडौँ प्लाजामा कर्मचारी र जनप्रतिनिधिहरू प्रमुख शाहलाई बिदाइका क्रममा शुभकामना दिने तयारीका साथ कुरिरहेका थिए ।

‘सुरुमा १० बजेर ३५  मिनेटमा कर्मचारीहरूलाई महानगरमा मेयर बालेनको बिदाइको लागि तयार भएका थिए । पछि उम्मेदवारी दिएपछि स्वतः महानगर प्रमुखको पद जाने भनेर राजीनामा नदिने कुरा आयो तर अहिले सिधै पत्र देखेपछि खिन्न भयौँ’ महानगरका एक विभागीय प्रमुख भन्छन् । कर्मचारीहरूले बालेनलाई प्रत्यक्ष भेटेर आगामी राजनीतिक यात्राको शुभकामना दिने इच्छा राखेका थिए । तर शाह व्यस्तताका कारण कार्यालयमा उपस्थित हुन नसकेको भन्दै उनीहरूसँग प्रत्यक्ष भेटघाट हुन पाएन ।   ‘यत्रो समय उहाँलाई हामीले प्रमुखको रूपमा सम्मान गरेर बस्यौँ, प्रधानमन्त्री नै हुने भएपनि हामीसँग हाँसीखुशी बिदा भएको भए हुन्थ्यो तर त्यो हुन पाएन,’ ती कर्मचारीले भने । 

उपप्रमुख डङ्गोलले भनिन्, ‘हामी सबैको चाहना उहाँलाई राम्रोसँग शुभकामना दिने थियो, तर उहाँ व्यस्त भएका कारण अफिस आउन भ्याउनुभएन ।’ 

रातोपाटीसँगको संक्षिप्त कुराकानीमा उपप्रमुख डङ्गोलले प्रमुख शाहको राजीनामा स्वीकृत भइसकेको र कानुनअनुसार आफूले कार्यवाहक प्रमुखको जिम्मेवारी लिएको स्पष्ट पारिन् ।

छुटाउनुभयाे कि ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप