पुराना राजनीतिक दल सुध्रिए नयाँ आवश्यक छैन
सारांश
- नेपाली राजनीतिमा वैकल्पिक राजनीतिको खोजी भइरहेको छ, तर नयाँ दलहरूको व्यवहार र सत्ता मोहले निराशा बढाएको छ।
- राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नयाँ दलहरू छिट्टै सरकारमा सामेल भए र पुराना दलहरूसँग मिलेर काम गरे, जसले गर्दा जनतामा असन्तुष्टि बढेको छ।
- पुराना दलहरू सुध्रिनुपर्ने र नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याइएको छ, साथै राजनीतिक रिक्तताको अनुभूति भएको बताइएको छ।
नेपाली राजनीतिमा नयाँ राजनीतिक सम्भावना र वैकल्पिक राजनीतिको खोजी पछिल्लो एक दशकदेखि भइरहेको छ ।
राजनीतिक रूपमा व्यवस्था परिवर्तनसँगै र आन्दोलनहरूको मर्म अनुरूप नागरिकमा आउनुपर्ने खुसी र सन्तुष्टि उनीहरूका लागि सपना जस्तै भयो । त्यसैले अहिले देशमा असन्तुष्टि तीव्र छ । त्यही असन्तुष्टिलाई क्यास गर्दै अहिले नयाँ राजनीतिक प्रयत्नहरू भइरहेका छन् । मुख्यतः नागरिक असन्तुष्टिलाई नागरिक आशामा बदल्ने राजनीतिक प्रयत्नका लागि वैकल्पिक राजनीति वा नयाँ राजनीतिका प्रयत्नहरू भइरहेका छन् । वस्तुतः वैकल्पिक राजनीति वा नयाँ राजनीति मुख्यतः यी असन्तुष्टिहरुको सही कारण पत्ता लगाई नागरिकको रोजगार, शिक्षा, स्वास्थ्य, पहिचान र शान्ति जस्ता आकांक्षा पुरा गर्ने राजनीति हो । यो अर्थमा वैकल्पिक चिन्तन केवल राजनीतिक प्रणाली र अर्थतन्त्रको सवाल मात्र होइन । यो आत्मसम्मान साथ बाच्न पाउने सपनाहरूको अभिव्यक्ति र सामाजिक सार्वजनिक चिन्तनको नवीन प्रयोग पनि हो । यो अर्थमा वैकल्पिक राजनीतिको माग स्वाभाविक हो ।
वैकल्पिक वा नयाँ राजनीतिक चिन्तनले केवल राजनीतिक प्रसङ्ग र सत्ताको छिनाझपटीमा सीमित रहँदैन । विज्ञानमा आउने वैकल्पिक चिन्तनले समाजलाई नयाँ अनुसन्धानतिर डोर्याउँछ । प्रविधिमा आउने नयाँ चिन्तनले समाजलाई नयाँ नयाँ वस्तुको आविष्कार गर्न मदत गर्छ । श्रम सिप माथि आउने नयाँ चिन्तनले समाजलाई कला संस्कृतिको जगेर्ना मात्रै गराउँदैन बरु सामाजिक अग्र गतिलाई समेत यथोचित न्याय दिलाउँछ । विज्ञान प्रविधिको विकासलाई सार्थकता दिन्छ भने, राजनीतिमा देखा पर्ने वैकल्पिक चिन्तनले यी सबै कुराको यथोचित व्यवस्थापनका साथै देश काल परिस्थितिको मागमुताबिक प्रयोग गर्ने र सामाजिक आवश्यकताहरूको नयाँ खोजी गर्न सिकाउँछ । अन्यथा यसो नगर्ने राजनीति के को वैकल्पिक, के को नयाँ ?
बितेको एक दशकमा हामीले वैकल्पिक राजनीतिको अभ्यास र वैकल्पिक भनिएका राजनीतिक दलहरूको राजनैतिक चरित्र हेर्यौँ । विवेकशील नेपाली दल हुँदै विवेकशील साझा, नयाँ शक्ति हुँदै लोसपा र राष्ट्रिय स्वतन्त्र पार्टीलाई वैकल्पिक राजनीतिको रूपमा मात्रै हेरेनौँ ती दलहरूलाई स्थापित गर्न प्रकारान्तरले भूमिका पनि खेल्यौ । तर, विवेकशील नेपाली दल पछि मूल्य–मान्यता र राजनीतिक विचारको हिसाबले नयाँ भनिएका वैकल्पिक राजनीतिक दलहरू विकल्पका रूपमा उदाएका जस्ता देखिन्छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई वैकल्पिक राजनीतिक पार्टी भन्न सकिरहेको छैन । त्यहाँ पुराना राजनीतिक दलमा स्पेस नपाएका, पुराना दलहरूले समातेको राजनीतिक अपराधीकरणको बाटो र व्याप्त भ्रष्टाचारले गर्दा आजित भएका फ्रस्टेड व्यक्तिहरूले विकल्पका रूपमा आफूलाई उभ्याएका मात्रै हुन् ।
यिनै नयाँ भनिएका दल छोटो अवधिमै सकारमा सामेल भए पुरानै दलको नेतृत्वमा बनेको सरकारलाई समर्थन दिए । यी दलले गठबन्धनको वैचारिक र चरित्रलाई समेत ध्यान दिएको देखिएन। एमाले–माओवादी गठबन्धनलाई पनि यी रास्वपाको समर्थन थियो, १०० दिन नपुग्दै बदलिएको नेपाली कांग्रेस–माओवादी केन्द्र लगायतको गठबन्धनलाई समेत विश्वासको मत दिए ।
रास्वपाको चरित्र र व्यवहार यसबिच झनै अनौठो रह्यो । पुराना दलको बदलामा एक नयाँ राजनीतिक वैकल्पिक शक्ति बन्ने उद्घोष गरेर चुनाव लडेको यो दल लगत्तै सरकारमा सामेल भयो । सरकारमा सहभागिताका लागि केही समय एमाले र यसका अध्यक्ष केपी शर्मा ओलीसँग निकट भयो । एमाले–माओवादी केन्द्र लगायतको गठबन्धनमा सामेल भयो । त्यहाँभित्र भागबन्डा खोज्यो । आफ्ना कर्तुत छोप्न शक्तिशाली मन्त्रालय रोज्यो ।
सभापति रवि लामिछानेको नागरिकता विवाद, राहदानी, सहकारी ठगी, संगठित अपराध आदि जोगाउन पछिल्लो समय महान्यायाधिवक्ताको कार्यालय समेत जोडिएको विषयले झनै रास्वपालाई षडयन्त्रको राजनीति गर्ने पार्टीको रूपमा चरितार्थ गरेको देखिन्छ । यस्तो जटिल नैतिक तथा राजनीतिक सङ्कटबिच रास्वपालाई जनताले अनुमोदन गर्लान् ?
नयाँ भनिएका दलले छोटो समयमै देखाएको सत्ता मोह, अकर्मण्यता र अपरिपक्वतालाई जनताले मन पराएका छैनन् । यसले गर्दा दुई प्रकारका मनोविज्ञान विकसित हुन खोजेको छ ।
एक– नयाँ दलको यस्तो चरित्रले बरु पुरानै पो ठिक थिए कि, यी नयाँ भनिएकाहरू झन् पुराना जत्तिका पनि भएनन्, पुरानै दल सुध्रिदिए हुन्थ्यो भन्ने मनोभावनालाई बल प्रदान गरेको छ ।
दोस्रो– पुराना दल सुध्रिने कुनै सम्भावना छैन, नयाँ दलको पनि हालत, हविगत देखियो । यी गम्भीर विचार, सिद्धान्त र एजेन्डाप्रति प्रतिबद्धभन्दा बढी सत्तालोलुप, पपुलिस्ट र हावादारी देखिए । तसर्थ गम्भीर र संवेदनशील प्रकृतिका वैकल्पिक दलको स्पेस र आवश्यकता पूरा भएन भन्ने निराशा बिच नेपाली काँग्रेसमा गगनको विद्रोहले झनै पुराना दलहरू प्रति आशा जगाएको छ ।
पुराना दल सुध्रिनै पर्छ । यदि पुराना दल नसुध्रिने, नयाँ भनिएकाको चरित्र अझै कमजोर, सन्दिग्ध हुने र आफूलाई लोकतन्त्रको हिमायती ठान्ने नेपाली काँग्रेसले जुटको आकार लिन नसक्ने हो भने लोकतन्त्र कसरी चल्ला ? देश कसरी बन्ला भन्ने चिन्ता छाएको छ । यो कोणबाट हेर्दा देशमा एक प्रकारको राजनीतिक रिक्तता वा शक्ति शून्यताको अनुभूति स्वाभाविक हुन्छ ।
यहाँनेर सबैले बुझ्नुपर्ने कुरा के छ भने राजनीतिक समस्याहरूको समाधान निरपेक्ष हुँदैन समयसापेक्ष हुन्छ । विकल्प आफै निर्विकल्पक रूपमा कहिल्यै रहँदैन त्यो पनि विकल्पहरूको लामो ताँतीमा असल मध्य असल चयन गर्ने हो । समय गतिशील छ, समाज गतिशील छ, समस्या र समाधानहरुपनि गतिशील नै हुने कुरा नै प्रगतिवादी मान्यता हो । यदि कसैले एउटै कुरालाई सधैँको लागि निरपेक्ष विकल्पको रूपमा प्रस्तुत गर्छ भने त्यसले समय, समाज वा वस्तुको गतिशीलतालाई नबुझेको वा बुझ पचाएको ठहर्छ । नेपाली राजनीतिमा हाल रहेको कलुषित आचरणलाई चिर्न युवा काँग्रेसले जुन जागरूकता देखायो यो नै अहिलेको विकल्प प्रस्तुत भइरहेको छ ।
पुराना दलहरू भित्रको विद्रोहले एकाध व्यक्तिले बाँचुन्जेल नेतृत्व गर्ने एकाङ्गी प्रणालीलाई प्रश्न मात्रै गरेन । यसले राष्ट्रिय राजनीतिमा सुधारको प्रारम्भ पनि गर्यो । पुराना राजनीतिक दलहरू प्रति उठेका प्रश्नलाई चिन्तनको स्वरूप ग्रहण गर्ने सामर्थ्य पनि राख्यो । तर अझै केही व्यक्तिका कारण राजनीतिको भाष्यलाई तोडमोड गरेर समय, काल परिस्थितिलाई दोष थुपार्दै व्यक्तिगत स्वार्थका आडमा लामो विरासत र ठुलो आन्दोलनको जगबाट उठेको राजनीतिलाई नयाँ पुस्ताको हातमा जिम्मा नलगाई विसर्जनको बाटोमा लैजान खोजिँदै छ , त्यसो हुनु हुँदैन ।
आजको पपुलिजमलाई काउन्टर गर्न सक्ने र अनुभवी एउटा भरपर्दो पुस्ता पुराना राजनीतिक पार्टीभित्रै छन् त्यसको खोजी पहिचान हुनुपर्छ । ती सामाजिक प्रजातन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य बोकेका व्यक्ति हुन्। सबैजसो पार्टीमा नयाँ नेतृत्वको ‘स्वर्ण आरती’ भइरहँदा समयको पदचाप बुझेर अब कुर्सी छाड्दा पुराना नेताहरूको राजनीति सकिँदैन । झनै उनीहरूको योगदानले राजनीतिमा अर्को इँटा थपिन्छ । इतिहासले सम्मानपूर्वक सम्झनेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण