शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उत्पीडित समुदायको अधिकारका लागि अझै सङ्घर्स गर्नुपर्नेछ : प्रचण्ड

सोमबार, ०५ माघ २०८२, १२ : १८
सोमबार, ०५ माघ २०८२

सारांश

  • प्रचण्डले सोनाम ल्होसारको अवसरमा तामाङ समुदायलाई शुभकामना व्यक्त गर्दै सामाजिक न्याय र समानताका लागि अझै संघर्ष गर्नुपर्ने बताए।
  • उनले तामाङ समुदायको योगदानको प्रशंसा गर्दै विविधता नै राष्ट्रिय एकताको आधार भएको उल्लेख गरे।
  • प्रचण्डले ल्होसारलाई नयाँ वर्षको उत्सव मात्र नभई पहिचान, संस्कृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीकका रूपमा लिनुपर्ने बताए।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, समानता, समावेशिता र उत्पीडित समुदायका अधिकार प्राप्तिका लागि अझै सङ्घर्ष गर्नुपर्ने अवस्था रहेको बताएका छन् । २८६२ औँ सोनाम ल्होसारका अवसरमा तामाङ समुदायलाई शुभकामना दिँदै उनले नेपालको बहुजातीय र बहुसांस्कृतिक चरित्रलाई जीवन्त राख्न तामाङ समुदायको ठुलो योगदान रहेको उल्लेख गरे ।

तामाङ समुदायको ल्हो परम्परा, सेलो संस्कृति र डम्फु–टुङ्नाको धुनले नेपालको विविधतालाई झल्काउने भन्दै प्रचण्डले यही विविधता नै राष्ट्रिय एकताको बलियो आधार भएको स्पष्ट पारे । उनले सोनाम ल्होसारले विभेदविरुद्ध एकजुट हुन र सुशासन, समृद्धि एवं जनताको शासन स्थापना गर्ने अभियानमा लाग्न सबैलाई उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

ल्होसारलाई केवल नयाँ वर्षको उत्सवका रूपमा मात्र नभई पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीकका रूपमा बुझ्नुपर्नेमा उनले जोड दिए । डुक ल्हो (सर्प वर्ष) लाई बिदाइ गरी ता ल्हो (घोडा वर्ष) को स्वागत गरिने यस पर्वले परिवर्तन, गति र नयाँ सङ्कल्पको सन्देश दिने उनको भनाइ छ । शुभकामना सन्देशमार्फत उनले तामाङ समुदायसहित सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र सम्मानपूर्ण जीवनको कामना समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप