सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधेस प्रदेशसभा सदस्य छाडेर चार जनाले दिए प्रतिनिधिसभामा उम्मेदवारी

बुधबार, ०७ माघ २०८२, १४ : ४८
बुधबार, ०७ माघ २०८२

जनकपुरधाम । मधेस प्रदेशसभा सदस्य पद छाडेर चार जनाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका छन्। मंगलबार उम्मेदवारी दिनेमा रामचन्द्र मण्डल, सतिश कुमार सिंह, भरत साह र रहबर अन्सारी रहेका छन्।

मण्डल नेकपा (एमाले)बाट धनुषा क्षेत्र नं. १ मा, पूर्व मुख्यमन्त्री सिंह स्वाभिमान पार्टीबाट सप्तरी क्षेत्र नं. २ मा, साह महोत्तरी क्षेत्र नं. ४ मा नेकपाबाट र अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बारा क्षेत्र नं. ४ मा उम्मेदवार बनेका हुन्।

यस्तै, एकल सिफारिसमा परेका एमालेका सांसदद्वय सरोज यादव र प्रमोद जयसवाल तथा कांग्रेसका विरेन्द्र सिंह भने अन्तिम समयमा आएर उम्मेदवारीबाट पछि हटेका छन्।

प्रदेशसभाबाट राजीनामा दिएर प्रतिनिधिसभामा उम्मेदवारी दिएका मण्डल यसअघि धनुषा १ (ख), सिंह सप्तरी २ (क), साह महोत्तरी १ (क), जयसवाल पर्सा ३ (क) र अन्सारी पर्सा १ (क) बाट निर्वाचित भएका थिए।

महोत्तरी क्षेत्र नं. ४ मा एमालेबाट एकल सिफारिस भएका पूर्व मुख्यमन्त्री सरोज यादव, बारा क्षेत्र नं. ४ बाट पूर्व युवा तथा खेलकुद मन्त्री प्रमोद जयसवाल र सर्लाही क्षेत्र नं. ४ बाट कांग्रेसका विरेन्द्र सिंह अन्तिम समयमा आएर उम्मेदवारीबाट पछि हटेका हुन्। उनीहरूको स्थानमा क्रमशः निलम अधिकारी, कृष्णकुमार श्रेष्ठ (किसान) र कांग्रेस सभापति गगन थापा उम्मेदवार बनेका छन्।

रामचन्द्र मण्डललाई केहीअघि मधेस प्रदेशसभाका बहुमत सांसदले उनको आचरणप्रति आपत्ति जनाउँदै पदबाट हटाएका थिए। शिक्षक पेसाबाट राजनीतिमा आएका मण्डल माओवादी हुँदै एमाले प्रवेश गरेपछि केपी ओली निकट नेता मानिँदै आएको छ । सभामुख हुँदा उनले तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनललाई विश्वासको मत लिनुअघि नै राजीनामा दिन बाध्य बनाएको आरोप खेपेका थिए। सोही विवादपछि बहुमतबाट पद गुमाएपछि चुप रहेका मण्डल प्रतिनिधिसभाको धनुषा क्षेत्र नं. १ बाट उम्मेदवार बनेका हुन्।

मधेस प्रदेशका पूर्व मुख्यमन्त्री सतिश कुमार सिंह पदमा रहँदा आफ्नै पार्टी जनमत पार्टीबाट राजीनामा दिन दबाब सिर्जना भएपछि विवादमा परेका थिए। कार्यकालमा काम गर्न खोजे पनि कार्यशैलीका कारण आलोचित बनेका सिंहले जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरे पनि पछि राजीनामा दिन टारेका थिए। विश्वासको मत लिने क्रममा कुनै दलको समर्थन नपाएपछि उनले संसदबाटै राजीनामा दिएका थिए। त्यसपछि पार्टी परित्याग गरेका सिंहले नयाँ पार्टीबाट उम्मेदवारी दर्ता गराए पनि एमालेको सूर्य चिन्ह प्रयोग गरेका छन्।

मधेस प्रदेशका पूर्व गृह तथा सञ्चार मन्त्री भरत साह नेकपा मधेस प्रदेश संसदीय दलका नेता समेत थिए। कार्यकालमा मनपरी गरेको आरोप लागेपछि उनी विवादमा तानिएका थिए। पार्टी ह्विप नमान्ने प्रवृत्तिका कारण उनकै पार्टीका सांसदहरूले उनलाई संसदीय दलको नेताबाट हटाउने प्रयास गरेका थिए। विवाद चुलिएपछि उनी मन्त्री पदबाट हट्न बाध्य भएका थिए।

मधेस प्रदेशका पूर्व राज्यमन्त्री रहबर अन्सारी कार्यकालमा ठूला विवादमा नपरे पनि प्रदेशसभा सांसदहरूको आचरणप्रति असन्तुष्टि जनाउँदै संसदमा मुखमा कालो पोतेर विरोध जनाएका थिए। तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनल नेतृत्वको सरकार ढाल्न उनको भूमिका रहेको मानिन्छ। 

सांसदहरूको क्रियाशैलीप्रति असहमति जनाउँदै पार्टी परिवर्तन गरेका अन्सारी रास्वपाबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका छन्। युवा नेताका रूपमा परिचित अन्सारी आफ्ना क्षेत्रमा लोकप्रिय मानिन्छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप