बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

छुट्टाछुट्टै घटनामा ९ जनाले ज्यान गुमाए

बिहीबार, ०८ माघ २०८२, १२ : ५८
बिहीबार, ०८ माघ २०८२

सारांश

  • विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ।
  • मोरङ, झापा, इलाम, मकवानपुर, गुल्मी र नवलपरासीमा भएका दुर्घटनामा नागरिकको ज्यान गएको हो।
  • प्रहरीले दुर्घटनाका चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।

काठमाडौँ– देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ। बुधबार र बिहीबार भएका यी दुर्घटनाहरूमा मोरङ र झापादेखि नवलपरासीसम्मका नागरिकले ज्यान गुमाएका हुन्।

मोरङको विराटनगर–४ कञ्चनबारी चोकमा बसको ठक्करबाट ७५ वर्षीया पैदलयात्री डम्बर कुमारी नेपालको मृत्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ३३९९ नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको कोशी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

मोरङकै रतुवामाई नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको छ। को २ त १९३६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सुनवर्षी नगरपालिकाका २१ वर्षीय किसन कुमार मण्डल, २० वर्षीय रबिन पासवान र ३५ वर्षीय राज मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।

झापाको शिवसताक्षीमा गुडिरहेको ट्याक्टरबाट खसेर सहचालक २२ वर्षीय नारायण राजवंशीको मृत्यु भएको छ। मे १ त ७५६३ नम्बरको ट्याक्टरबाट खसेका उनलाई दमकस्थित आम्दा अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरे। त्यस्तै, इलामको देउमाई नगरपालिकामा अटो दुर्घटना हुँदा १८ वर्षीय चालक युनिस लुईटेलले ज्यान गुमाएका छन्।

मकवानपुरको इन्द्रसरोवरमा बोलेरो दुर्घटना हुँदा सर्लाहीका १७ वर्षीय रोहन मण्डलको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ। सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र. ०३–००१ च ६७२१ नम्बरको बोलेरो सिमखोला पुल नजिकै अनियन्त्रित भएको थियो। यता गुल्मीको रुरुक्षेत्रमा लु १ च ६९८५ नम्बरको बोलेरो दुर्घटना हुँदा पाल्पाका २६ वर्षीय टिकाराम कुमालको मृत्यु भएको छ।

यसैगरी, नवलपरासी पूर्वको गैंडाकोटमा पिकअप गाडीको ठक्करबाट पैदलयात्री ६२ वर्षीय प्रेम बहादुर क्षेत्रीको ज्यान गएको छ। ना २ च ४०९८ नम्बरको पिकअपको ठक्करबाट घाइते क्षेत्रीको भरतपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। सबै घटनाका चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप