बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सरकारद्वारा ‘रोल्ड ओट्स’ को नयाँ गुणस्तर मापदण्ड निर्धारण

बिहीबार, ०८ माघ २०८२, १९ : २७
बिहीबार, ०८ माघ २०८२

सारांश

  • कृषि मन्त्रालयले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै 'रोल्ड ओट्स'को नयाँ गुणस्तर मापदण्ड निर्धारण गरेको छ।
  • नयाँ मापदण्डले ओट्समा पोषक तत्वको मात्रा र हानिकारक रासायनिक तत्वको सीमा तोकेको छ, जसमा ओस र प्रोटिनको मात्रा निर्धारण गरिएको छ।
  • ओट्समा ढुसी, कीरा, र कृत्रिम रंगको प्रयोग निषेध गरिएको छ, साथै प्याकेजिङ र लेबलमा खाद्य स्वच्छता सम्बन्धी विवरण खुलाउनुपर्नेछ।

काठमाडौँ । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपभोक्ताको स्वास्थ्य र खाद्य स्वच्छतालाई मध्यनजर गर्दै ‘रोल्ड ओट्स’को नयाँ गुणस्तर मापदण्ड निर्धारण गरेको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३ ले दिएको अधिकार प्रयोग गर्दै मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी ओट्सको उत्पादन, प्रशोधन र बिक्री वितरणका लागि कडा प्राविधिक सीमाहरू तोकेको हो । 

यसअघि खाद्यान्न तथा दलहनजन्य पदार्थको समूह अन्तर्गत रहेका पदार्थहरूमा अब रोल्ड ओट्सका लागि छुट्टै सङ्केत नं. ०७.३१ कायम गरिएको छ ।

मन्त्रालयले जारी गरेको नयाँ परिभाषा अनुसार ‘रोल्ड ओट्स’ भन्नाले स्वच्छ र सफा एभेना सेटिभा वा एभेना बिजान्टिन  प्रजातिको ओट्सलाई बुझाउँछ । यसलाई भुस हटाएर, बफ्याएर  र रोलर वा अन्य उपयुक्त विधिबाट चेप्टो पारेर वा भुटेर तयार पारिएको हुनुपर्नेछ ।

यो मापदण्ड बजारमा उपलब्ध हुने चाँडो पाक्ने ओट्स र तत्काल तयार हुने ओट्स दुवैको हकमा लागू हुने मन्त्रालयले स्पष्ट पारेको छ ।

नयाँ मापदण्डले ओट्समा हुनुपर्ने पोषक तत्व र अन्य रासायनिक तत्वहरूको सीमासमेत निर्धारण गरेको छ । जसअनुसार रोल्ड ओट्समा ओसको मात्रा बढीमा १२.० प्रतिशत र प्रोटिनको मात्रा सुक्खा तौलको आधारमा न्यूनतम १०.० प्रतिशत हुनुपर्नेछ ।

त्यसैगरी, कुल भष्म २.० प्रतिशत, क्रुड फाइबर २.० प्रतिशत र युरिक एसिड बढीमा १०० मिलिग्राम प्रति किलोग्राम हुनुपर्ने सीमा तोकिएको छ । 

स्वास्थ्यका लागि हानिकारक मानिने एफ्लाटोक्सिनको मात्रा बढीमा १५ माइक्रोग्राम प्रति किलोग्राम मात्र हुनुपर्ने व्यवस्था गरिएको छ ।

स्वच्छताका सम्बन्धमा मन्त्रालयले निकै कडा प्रावधान राखेको छ । ओट्समा ढुसी लागेको, कीरा लागेको, सडेको वा ओसिएको हुनुहुँदैन । 

यसमा कुनै पनि प्रकारको कृत्रिम रङ्ग प्रयोग गर्न पाइने छैन । उत्पादनमा ढुङ्गा, बालुवा, काँच, माटो वा धातुका टुक्रा जस्ता ‘अजैविक’ र कपाल, भुस, चोकर, पराल वा मुसाको अंश जस्ता ‘जैविक’ बाह्य पदार्थको उपस्थिति पूर्णतः निषेध गरिएको छ । यस्ता पदार्थहरू पाइएमा उक्त ओट्सलाई गुणस्तरहीन मानिनेछ ।

प्याकेजिङ र लेबलिङका हकमा अबदेखि रोल्ड ओट्सलाई अनिवार्य रूपमा सफा र सुक्खा ‘खाद्य ग्रेड’को सामग्रीमा सिलबन्द गरी प्याकेजिङ गर्नुपर्नेछ । 

प्याकेटको लेबलामा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ ले तोके बमोजिमका विवरणहरू स्पष्ट रूपमा खुलाउनुपर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप