आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

शनिबार, १० माघ २०८२, १२ : ११
शनिबार, १० माघ २०८२

काठमाडौँ । डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्य जाँचसम्बन्धी तीनवटा पुस्तक सार्वजनिक गरिएको छ । सेन्टर फर मिडिया रिसर्च नेपाल र जर्नलिजम एकेडेमीले शुक्रबार आयोजना गरेको कार्यक्रममा डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्य जाँचका साथै डिजिटल परिदृश्य पुस्तक विमोचन गरिएको हो । 

डिजिटल युगमा पत्रकारिता पुस्तक जर्मनीका पत्रकारहरू स्टेफान मोल र तन्जिभ शुल्जले लेखेका हुन्। जर्मन भाषामा लेखिएको सो पुस्तकलाई लक्ष्मण श्रेष्ठ, तिलक पाठक र उज्ज्वल आचार्यले नेपाली भाषामा अनुवाद एवं सम्पादन गरेका छन् ।

पुस्तकमा डिजिटलाइजेसनको युगमा मिडिया र पत्रकारिता, पत्रकारिताका शैली, सम्पादकीय व्यवस्थापन, सम्पादकीय जिम्मेवारी, पत्रकारिताको गुणस्तर लगायतका पक्षमा बहुआयामिक ढंगले चर्चा गरिएको छ । 

उज्ज्वल आचार्य र उमेश श्रेष्ठले लेखेको मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी पुस्तकमा मिथ्या सूचना, मिथ्या सूचनाको प्रतिकार, तथ्यजाँच प्रक्रिया, मिडिया साक्षरतालगायतका विषय समावेश गरिएको छ । 

डिजिटल परिदृश्य पुस्तक पत्रकार तथा त्रिभुवन विश्वविद्यालय उपप्राध्यापक ऋषिकेश दाहालले लेखेका हुन् । यो पुस्तकमा प्रतिमान परिवर्तनमा पत्रकारिता, अनलाइन समाचारको मूल्य, डिजिटल मिडिया र पत्रकारिता, युट्युबमा सम्पादकहरूको यात्रा, समाचारमा प्रतिलिपि अधिकारसहितका विषयलाई केलाइएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले पत्रकारिता र सोसल मिडियामा मिथ्या सूचनाको प्रभाव परेको उल्लेख गर्दै निर्वाचनमा हुन सक्ने मिथ्या सूचनाप्रति सजग हुन जरुरी रहेको बताइन्। 

वरिष्ठ पत्रकार प्रतीक प्रधानले प्रविधि, सोसल मिडिया र नागरिक पत्रकारिताका कारण पत्रकारितामा चुनौती थपिएको र पत्रकारिताले विश्वास जगाउन सक्ने पर्ने धारणा व्यक्त गरे । 

डिजिटल युगमा पत्रकारिताका लेखक स्टेफान मोलले विज्ञापन इन्टरनेटमा आधारित मिडियामा केन्द्रित हुँदै गइरहेको र पत्रकारहरू मिथ्या सूचना विरुद्ध लड्नु पर्ने भएकाले पत्रकारितामा चुनौती थपिएको बताए । 

सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष नविन खतिवडाले नेपालमा निर्वाचनका बेला मिथ्या सूचनालाई न्यूनीकरण गरी सत्यलाई स्थापित गर्न आवश्यक रहेको बताए । 

  

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप