प्रथम नारी नाटककार सावित्री पोखरेलको जीवनी
सारांश
- सावित्री पोखरेलको जीवन र साहित्यिक यात्राको बारेमा लेखिएको छ, जसले बाल्यकालमा सामाजिक कुप्रथाको सामना गरेकी थिइन्।
- उनले 'कलङ्की समाज' नामक नाटक लेखिन्, जसले नेपाली साहित्यमा नारीवादी दृष्टिकोण प्रस्तुत गर्यो र उनलाई विभिन्न पुरस्कारहरू प्राप्त भए।
- सावित्री पोखरेलको जीवन दुःख, संघर्ष र प्रेमले भरिएको थियो, जसले उनलाई समाजसेवा र साहित्यमा योगदान पुर्याउन प्रेरित गर्यो।
कुनै बेला हाम्रो देशमा पशु बेचेजस्तै गरी मान्छे बेच्ने पनि छ्यापछ्याप्ती चलन थियो । मान्छेमा पनि नारी जातिलाई दान दिने चलन अझै विद्यमान छ र त्यस दानलाई कन्यादान भनिन्छ । नेपाललाई त्यो रीतले अझै ढकमक्क फुलाएको छ । एउटी सुन्दरीले लङ्गडो, लाटो, कानो, बैरो अथवा विरूप जसको स्वास्नी भए पनि त्यसलाई स्वीकार्नै पथ्र्यो । त्यस रीतले अझै विश्रान्ति लिन पाएको छैन ।
आफ्नी छोरीलाई बाबुआमाले जसलाई सुम्पे पनि कन्याले त्यसलाई स्वामी मानी वरण गर्नै पर्ने हिन्दू परम्पराले सिकाएको यो पाठले अझै नेपालका पहाडी भागलाई रङ्गाइरहेको छ । आफ्नी छोरी कन्यादान गरेर आमाबाबु ज्वाइँको खुट्टा धोएर खुट्टाबाट आएको पानी खाँदै भन्छन्– ‘पाले पुण्य, मारे पाप ! त्यही पाठको सिकार हुने एउटी स्रष्टा थिइन्, सावित्री पोखरेल ।
सावित्री पोखरेलका आमाबुबा कालीप्रसाद आचार्य र मन्दोदरी आचार्यको धन थियो तर उनीहरूको आधुनिक मन थिएन । उनीहरूको मुटु थियो तर उनीहरूसँग परम्परागत विकृतिसँग लड्ने साहस थिएन । उनीहरूसँग गतिली छोरी पनि थिइन् तर छोरीको संवेदना बुझ्न सक्ने सामथ्र्य थिएन । त्यसैले चलनचल्तीकै पारामा लागेरउनीहरूले आफ्नी चौध वर्षीय सुन्दरी छोरी विराटनगरका विष्णु दङ्गाललाई दान दिएका थिए । अनि सावित्री पनि पशुसरह दुलहाको पछि लागिन् । तर पतिगृहमा प्रवेश भएका दिनदेखि सावित्री अशान्तको भुमरीमा नै जाकिइरहिन् । बिहे भएका दिनदेखि उनीहरू एकअर्कामा सदैव जुधिरहे । पतिपत्नीको अनमेल जारी रहेकै बेला माई लागेर विष्णुको निधन भयो । त्यति बेला यिनीहरूले बिहे गरेको नौ महिना मात्र पुगेको थियो ।
विष्णुप्रसाद दङ्गालको निधनपछि पनि सावित्रीले सुख पाइनन् । त्यसपछि पनि उनले उजाडमा नै आफ्नो जीवन व्यतीत गर्नुपर्ने अवस्था आइपर्यो । उनलाई चिनेजाने सबैले पोइटोकुवी र अलच्छिनीको आरोप लगाए । त्यति बेला उनीसँग बोल्ने मान्छे पनि बोल्दा अशुभ हुन्छ भन्ने ठानेर तर्केर अर्कै बाटो लाग्थे । त्यस बखत सबैले उनलाई हियाउने मात्र गर्थे । सामाजिक कुप्रथाका कारणले आफ्ना माइतीपट्टिबाट पनि उनलाई माया र दया राखिएको थिएन । तर उनी हिम्मतबाट विचलित भएर भागिनन् । उनले माइतै गएर दिन फ्याँक्ने निर्णय गरिन् ।
त्यस बेलाको सावित्रीको त्यो वेदनाले उनलाई साहित्यकारमा रूपान्तरण गराइदियो । वास्तवमा रूढिवादी संस्कारको जाँतोभित्रकी घुन भएपछि उनले एउटा नाटक लेखिन् । तर पनि त्यहाँ उनलाई बुझ्ने कोही मान्छे फेला परेनन् । अनेक रूपले सम्हालिन खोज्दा पनि उनका लागि धरान उराठलाग्दो ठाउँ भयो । त्यस ठाउँमा शान्ति नपाएपछि उनले धरान छाड्ने प्रतिज्ञा गरिन् । अनि एउटी वृद्ध बिधुवा पछ्याउँदै उनी भौँतारिएर भारतको बनारस लागिन् । उनले आफ्नो बाँकी जीवन त्यहीँको पञ्चे गङ्गेश्वरमा बिताउने लक्ष्य राखिन् । त्यहाँ ‘रामराम’को भजनको संसारमा नै केन्द्रित भइन् र उनी भगवान्कै आराधनामा डुबिन् ।
सावित्री पोखरेलका बुबाका दाजुको नाउँ हो– भैरवप्रसाद आचार्य । उनी सकारात्मक विचारका कुबेर थिए । उनी मानवीय पीडाले चुलिएको जुनसुकै पहाड बोक्न सक्ने हनुमान् थिए । तिनै हनुमान्ले अनेक प्रलोभन देखाएर सावित्रीलाई बनारसबाट जुरुक्कै बोकेर काठमाडौँ ल्याए । काठमाडौँ भित्रिएपछि नै सावित्रीको जीवनको पनि आधा चोला तुरुन्तै फेरियो । उनको फुस्रो अनुहार पनि उमङ्गले चिल्लो हुन थाल्यो । उनको जिन्दगीलाई नयाँ सञ्चारको सञ्जीवनीले छायो र उनको मनको बारीमा उत्साह झाँगिन थाल्यो ।
सावित्रीले जम्मा १० कक्षा मात्र पढेकी थिइन् । त्यस पढाइको अर्थ नभेटेर उनले वैकल्पिक स्रोत पनि खोजिन् । भावनालाई अनेक ठाउँमा उडाएपछि उनले ‘म टाइप सिक्छु र जागिर खान्छु’ भन्ने निष्कर्ष निकालिन् । त्यसैअनुरूप उनी टाइप सिक्न थालिन् र उनी त्यसमा पारङ्गत पनि भइन् । त्यस बेला उनी सत्ताइस वर्षमा हिँडिरहेकी थिइन् ।
सावित्री पोखरेलले टाइप सिकेपछि साझा प्रकाशनमा टाइपिस्टको जागिर पाइन् । त्यसै ठाउँमा विराटनगरका तन्नेरीले धरानकी तरुनी देखे । पहिलो हेराइमा नै ती युवायुवती एकअर्कामा आकर्षित भए । अनि तेजप्रसाद उपाध्याय पोखरेल सावित्रीको पछि लागे । तेजप्रसाद उपाध्याय मीठामीठा कुरा गर्थे । उनी राम्राराम्रा कुरा गरेर मान्छेलाई हात लिन सिपालु थिए । जीवनमा एउटा सहाराको खोजी सावित्रीको अन्तर्मनले पनि गरेकै थियो । त्यसैले उनीहरूको भेट्ने क्रमले पनि जरा गाड्न थाल्यो । त्यति बेलासम्ममा उनीहरू एकअर्कामा नछाडिने हिसाबमा पुगिसकेका थिए ।

सावित्री पोखरेलले तेजप्रसाद पोखरेलसँग ज्यादै गहिरो प्रेम गरिन् । त्यस प्रेमको लहराले क्रमशः तेजप्रसाद बेरिन थाले । वास्तवमा त्यति मात्र होइन तेजप्रसाद पोखरेलका पनि हरेक आकर्षणले सावित्रीलाई जित्न थाल्यो । एउटी परित्यक्ता नारीका लागि त्यस घडी तेजप्रसाद सुन भए । तेजप्रसादसँगको प्रेममा डुबेपछि सावित्रीको मनोभावना पनि आकासिएर बढ्न थाल्यो । तेजप्रसादको प्रेममा डुबेर त्यति बेला उनले सोच्न थालिन्, ‘मलाई यही समाजले कलङ्की मानेको थियो र यही समाजका अगाडि म यो वीर पुरुषसँग सिन्दूरपोते गरेर हिँड्छु । सबैका अगाडि म यो जिन्दगीमा यही मर्दको हात समाएर हिँड्छु ।’ त्यसपछि शाखा अधिकृत तेजप्रसाद पोखरेल र टाइपिस्ट सावित्रीको वैवाहिक लगनगाँठो कसियो । सावित्री आफू सत्ताइस वर्ष भएदेखि तेजप्रसाद उपाध्याय पोखरेलकी उपपत्नी भइन् ।
आफूले बिहे गरेपछि सावित्रीले थाहा पाइन्– उनका पति निक्कै सहृदयी रहेछन् । त्यति मात्र होइन तेजप्रसाद पोखरेल ठूलो मनले भरिएका पनि रहेछन् । सावित्रीलाई झैँ उनले अमेरिकाकी बरबरा स्प्रेन र नेपालकी रमा प्रधानसँग पनि तन, मन र धन जोड्न छाडेका रहेनछन् । त्यति मात्र होइन तेजप्रसादसँग माया लाउने केटीहरूको पनि सावित्रीले क्रमशः भिड देख्न थालिन् । कति जना त उनका सौता हुन पनि पसे र कति जनाले उनका पतिलाई फुस्काउन पनि खोजे । तर उनले कतिलाई सम्झाइबुझाइ पनि गरेर डाँडो कटाइन् । उनले कति जनालाई तर्साएर पनि खेदिन् । वास्तवमा तेजप्रसाद सुरा र सुन्दरीका प्रेमी थिए । यसै प्रसङ्गमा उनी भन्छिन्, ‘मेरा श्रीमान्का घनिष्ठ केटीहरू एक सय जनाभन्दा बढी नै थिए ।’
सावित्री पोखरेलले जीवनमा अत्यन्तै दुख पनि खेपिन् र सुख पनि भोगिन् । अथवा भनौँ उनले जीवनको परिभाषा आफैँले बनाइन् । उनले रुँदारुँदै रगतका आँसु पनि झारिन् र खुसीले भरिएका मोतीका आँसु पनि पोखिन् । त्यही क्रममा उनी एउटा छोराकी आमा पनि भइन् । ईश्वरीय अनुकम्पाबाट उनले नवीनलाई पाइन् र हुर्काईबढाई घरजम पनि गराइदिइन् । साथै उनका सौताका छ सन्तानलाई पनि उनले आफ्नै सन्तान ठानिन् । वास्तवमा उनी मायालु स्वभावकी थिइन् । वैवाहिक जीवन गाँसेपछि पनि उनी आफ्नी सौतासँग मिलेर सात वर्ष सँगै बसिन् ।
सावित्री पोखरेलका जिन्दगीका पुराना घाउ पनि कहिलेकाहीँ चर्किने गथ्र्यो । त्यसैले सानो कुरामा पनि उनको मन दुख्ने गथ्र्यो । सकेसम्म आफूलाई प्रसन्न राख्न खोजे तापनि कहिलेकाहीँ उनको चित्त फाट्ने गथ्र्यो । त्यति बेला उनी धुरुधुरु रुने गर्थिन् । धेरै चित्त बुझेन भने उनी नइगृहमा आएर गुनासो पनि गर्थिन् । उनी आफ्ना पतिसित भने सधैँ, सधैँ र सधैँ नै समर्पित थिइन् । अनि तेजप्रसादले पनि यिनलाई आकाश ओढाएरै माया गर्थे ।
सावित्रीको जन्म संवत् १९९५ को फुलपातीमा धनकुटाको सिबुवामा भएको थियो । आमाबुबाका नौ सन्तानमा उनी प्रथम सन्तान थिइन् । उनको चिनाको नाउँ दिव्यकुमारी थियो । त्यसपछि उनको नाउँ सुभद्रा कायम भयो । त्यही सुभद्राका नाउँबाट सुरुमा उनले आफ्नो साहित्यिक व्यक्तित्व अघि सारिन् ।
सुभद्राले २०१४ सालमा ‘कलङ्की समाज’ लेखिन् । त्यति बेलाको त्यो कृति सुभद्रादेवी दङ्गालको नाउँमा अङ्कित थियो । त्यस कृति उनले भद्रपुर झापाका दाताराम रिजाललाई सुनाएकी थिइन् । रिजालले पनि त्यो कृति मन पराए । त्यसैले दाताराम रिजालकै सक्रियतामा ‘कलङ्की समाज’ २०१५ सालमा पूर्वाञ्चल प्रेस भद्रपुरमा मुद्रण भई प्रकाशनमा आयो । नेपाली भाषासाहित्यमा नाटकको प्रथम कृति त्यही रह्यो । पछि त्यो कृति नइ एकेडेमीबाट २०५० सालमा पुनः प्रकाशनमा आयो । सुभद्रादेवी दङ्गालको ठाउँमा दोस्रो संस्करणमा उनले त्यस कृतिकी लेखक सावित्री पोखरेल राखिन् ।
आफू बिधुवा हुँदा सावित्रीले ‘कलङ्की समाज’ लेखेकी थिइन् । कुरा के भने त्यस बेला धरानमा उनले ‘हरिश्चन्द्र’ नामक नाटक हेरेकी थिइन् । त्यो नाटक हेरेपछि उनले दुइटा कुरा बुझिन्; एउटा उनले नाटक लेखिनुपर्दो रहेछ भन्ने बुझिन् र दोस्रो नाटकमा आफ्नै जिन्दगीका कथा लेखे पनि हुने रहेछ भन्ने बुझिन् । त्यसैले उनले अलिअलि गर्दै आफूलाई सविस्तार प्रस्तुत गरिन् । अन्ततः नेपाली भाषासाहित्यमा पहिलो चोटि नारीकृत नाटकको कृति २०१५ सालमा प्रकाशन आयो । त्यही ऐतिहासिक नाटककारको नाउँ हो सावित्री पोखरेल । उनको ‘कलङ्की समाज’ स्तरीय भन्दा ऐतिहासिक महत्वको छ । उनको त्यो कृति पनि उनीजस्तै सरल र सादा छ । त्यस नाटकमा नेपाली महिलाको कारुणिक कथा र व्यथा छ ।

सुभद्राको पछिल्लो नाउँ सावित्री पोखरेल कायम भयो । त्यो नाउँ उनका पति तेजप्रसाद उपाध्यायले राखिदिएका थिए । तेजप्रसाद भन्नु तत्कालीन श्री ५ को सरकारका सचिव थिए । तेजप्रसादको निधन २०७४ सालमा भएको थियो । त्यसपछि सावित्रीको जिन्दगी पनि निराशामा रुपान्तर भएको थियो । यति हुँदाहुँदै पनि सावित्रीले नेपाली साहित्यप्रति माया गाँस्तै आइन् । उनको घामछाया नै लेखरचना र पुस्तक पढ्नुमा नै केन्द्रित भयो । वास्तवमा जीवनको उत्तरार्धमा पनि उनका हातमा कलम र मसी चाहिँ थियो । अठासी वर्षको उमेरमा उनले पनि आफ्नो भौतिक चोला विसर्जन गरिन् । भनौँ उनी २०८२ साल पुस २५ गते काठमाडौँमा स्वर्गीय भइन् ।
‘कलङ्की समाज’ सावित्रीको कलिलो उमेरको आँकुरो हो । तर पनि उनी त्यही कृतिले नेपाली साहित्यमा बाँचिन् । त्यति बेलाको उनको जीवनको घात नै अमर भयो । ‘कलङ्की समाज’ पछि उनले केही फुटकर कविताको रचना गरे तापनि कृतिगत रूपमा उनको ‘कुमारीगाथा’ (कवितासङ्ग्रह, २०६४) र ‘वीर पुरुष’ (कवितासङ्ग्रह, २०७४) प्रकाशनमा आयो ।
सावित्री पोखरेलले नेपालका प्रमुख ठाउँ घुमिन् र उनी आफ्ना पतिको दौराको फेर समाएर जापान, सिङ्गापुर, हङकङ र थाइल्यान्ड पनि पुगिन् । उनले कलेज अफ एजुकेसनबाट शिक्षक तालिमको प्रमाणपत्र हासिल गरिन् । त्यसपछि उनले शहीद शुक्र माध्यमिक विद्यालयमा पाँच वर्ष पढाइन् । त्यसै बेला उनले ल्याबोटरी स्कुलबाट स्काउटको मास्टर ट्रेनिङ लिइन् र श्री ५ महेन्द्रबाट प्रमाणपत्र थापिन् । उनले वीर अस्पतालमा स्वयंसेवक भएर काम पनि गरिन् । उनको त्यो काम निक्कै सराहनीय थियो । त्यसैले श्री ५ बडामहारानी ऐश्वर्यबाट उनले प्रशंसाका अक्षर खामेर प्रमाणपत्र पाइन् । वास्तवमा पोखरेल एउटी समाजसेवीका रूपमा पनि चर्चित नाउँ हो । उनको जीवनको सबैभन्दा ठूलो विशेषता उनी सफा मनकी लखपति हुन् । उनको मन लालीगुराँसजस्तै निश्चल छ ।
सावित्री पोखरेलले नेपाली भाषासाहित्यमा आबद्ध नाटक लेखनका सन्दर्भमा एउटा बेग्लै इँटा थपिन् । उनको योगदानको कदरस्वरूप उनले नेपाल सरकारबाट भानुभक्त पुरस्कार, त्रिमूर्ति निकेतनबाट देवकोटा शताब्दी सम्मान र बालकृष्ण सम पुरस्कार पाइन् । उनले विश्वनारी नेपाली साहित्य पदक र विश्व नारी नेपाली साहित्य सम्मान पनि पाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण