पर्यटकको रोजाइमा वेतना सिमसार
सारांश
- वेतना सिमसार आन्तरिक पर्यटकको रोजाइमा परेको छ, जहाँ चरा, माछा, र कछुवा जस्ता जीवजन्तु पाइन्छन्।
- सिमसार क्षेत्रमा चिसो पानी, स्वच्छ हावा र मनोरम दृश्यका कारण पर्यटक आकर्षित भइरहेका छन्।
- यहाँ दुर्लभ प्रजातिका कछुवा र चरा पाइन्छन्, जसले यसलाई महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बनाएको छ।
मोरङ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार आन्तरिक पर्यटकको रोजाइमा परेको छ । हिउँदका महिनामा प्रायः दैनिक पाँच सयको हाराहारीमा आउने आन्तरिक पर्यटकलाई सिमसारमा प्रत्यक्ष रूपमा देख्न पाइने साइबेरियाबाट आउने पर्यटक चराका साथै कछुवा, माछा, अजिङ्गर, साथै हरिणलगायत जीवजन्तुुले लोभ्याउने गरेको छ ।
सुुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पुर्वतर्फ गएपछि हरियो वनले ढपक्कै ढाक्छ, त्यससँगै केही मिटर पर पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा वेतना सिमसार रहेको छ । दुई प्रजातिका वेत वनस्पतिको जङ्गल रहेकाले यस क्षेत्रलाई वेतना सिमसार क्षेत्र भनिएको वेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शम्भु भट्टराईले बताए । यहाँ विशेषगरी चिसो पानी, स्वच्छ हावा र मनोरम दृश्यसँगै चरा, माछा र कछुुवा भएकाले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको उनको भनाइ छ ।
राजमार्गसँगै जोडिएकाले जाडोयाममा वनभोज खान आउनेको दैनिक घुइँचो नै हुने गरेको समितिका सहसचिव राजन प्रसाईँ बताउँछन् । उनका अनुसार सिमसार घुम्न आउने पर्यटकका लागि पाइडल डुङ्गाको पनि व्यवस्था गरिएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशको सहयोगमा रु २० लाखको लागतमा पानीको फोहोरा पनि निर्माण सुरु गरिएको उनले बताए ।
करिब ६५ बिघा क्षेत्रफल ओगटेको यस सिमसारमा साइबेरियाबाट आउने चराका साथै २५ प्रजातिका दुर्लभ चरा पाइन्छन् । साथै अतिसङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा फेलापरेको अध्यक्ष शम्भु भट्टराईले जानकारी दिए । यहाँ पाइने वनस्पति, पशुपन्छीको संरक्षणमा उपभोक्ता समिति लागिरहेको उनको भनाइ छ । उनका अनुसार विश्वमै दुर्लभ प्रजातिका कछुवा, विभिन्न जातका माछा, जीवजन्तु, वनस्पति यस क्षेत्रमा पाइन्छन् ।
बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईका अनुसार वेतना सिमसारलाई पूर्वी नेपालको एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने बताए । पछिल्लो समय यस सिमसार क्षेत्रमा विभिन्न जीवविज्ञहरू जीव अनुुसन्धानका क्रममा समेत यहाँ आउने गरेको अध्यक्ष भट्टराई बताउँछन् । “यहाँका जीवजन्तुुको संरक्षण हाम्रो मुुख्य दायित्व भएकाले संरक्षणमा जोड दिएका छौँ”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण