३३ वर्षको सङ्घर्ष, वडा सदस्यदेखि सांसदको यात्रामा देवकोटा
सारांश
- बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा गीता देवकोटा विजयी भइन्, उनले नेकपाकी सरोजकुमारी झालाई पराजित गरिन्।
- देवकोटाले ३३ वर्षअघि कांग्रेसबाट राजनीति सुरु गरेकी थिइन्, उनले एकल महिला भएर पनि संसदको यात्रा तय गरिन्।
- देवकोटा रत्ननगर नगरपालिकाकी हुन् र उनले स्थानीय निर्वाचनमा वडा सदस्य जितेर राजनीतिक यात्रा थालेकी थिइन्।
हेटौँडा । राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा बागमती प्रदेश तर्फबाट गीता देवकोटा विजयी भएकी छिन् । उनले कुल ६ हजार २३९ मत सहित नेकपाकी सरोजकुमारी झालाई पराजित गरेकी हुन् ।
चितवन रत्ननगर नगरपालिकाकी स्थानीय देवकोटा ३३ वर्षअघि नेपाली कांग्रेसको साधारण सदस्यबाट सक्रिय राजनीति सुरु गरेकी थिइन् । वि.सं. २०२८ सालमा चितवनमा जन्मिएकी देवकोटाले व्यक्तिगत जीवनका सामाजिक चुनौतीहरूलाई चिर्दै संसद्को यात्रा तय गरेकी हुन् ।
रत्ननगर नगरपालिका–१४, डुम्री चोक निवासी देवकोटालाई ३२ वर्षे राजनीतिक यात्रामा पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएकी हुन् । पञ्चकन्या माध्यमिक विद्यालयबाट औपचारिक शिक्षा सुरु गरेकी देवकोटा २०४४ सालदेखि नै राजनीतिमा आबद्ध भएकी थिइन् ।
१६ वर्षको कलिलो उमेरमा गोरखाका वीरबहादुर देवकोटासँग वैवाहिक बन्धनमा बाँधिएकी उनको जीवनमा २०४९ मा एकल हुनुपर्यो । विवाह भएको केही वर्षमै सडक दुर्घाटनामा श्रीमान् गुमाएकी उनले साढे तीन वर्षको छोरालाई काखमा लिएर जीवन र राजनीतिको यात्रा अघि बढाएकी थिइन् ।
उनी २० वर्षको उमेरमा एकल महिला भएकी थिइन् । उनका श्रीमान् नेपाल वायुसेवा निगममा कार्यरत थिए । २०४९ सालमा कार्यालयबाट घर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो । कलिलो उमेरमा श्रीमान् गुमाएकी उनले राजनीति र पेसालाई आफ्नो शक्तिमा परिणत गरिन् ।
‘२०४९ मा सडक दुर्घटनामा श्रीमानको निधन भयो । एकल भएपछि एक वर्ष शोकमा बित्यो । २०५० सालदेखि फेरि कांग्रेसको झोला बोकेर हिँडे ।’ उनी भन्छिन्, ‘समाज र दिदी बहिनीहरूको साथले मलाई आफूलाई सम्हाल्न र राजनीतिमा अगाडि बढ्न मद्दत गर्यो ।’
देवकोटाको राजनीतिक यात्रा वडा तहबाटै सुरु भएको थियो । वि.सं. २०५४ सालको स्थानीय निर्वाचनमा रत्ननगर नगरपालिकाबाट उनी वडा सदस्यमा विजयी भएकी थिइन् । त्यसयता उनी पार्टीको विभिन्न तहका सङ्गठनहरूमा रहेर काम गरिन् । उनी दुई पटक महाधिवेशन प्रतिनिधि भएर काम गरिन भने हाल महासमिति सदस्य रहेकी छिन् ।
राजनीतिसँगै उनी एक सफल उद्यमी र सामाजिक अभियन्ताको रूपमा पनि रहेकी छिन् । रत्ननगरमा ‘गीता बि फार्म’ सञ्चालन गरेर १३० घार मौरी पालेकी उनी सफल मौरी पालक किसानको रूपमा चिनिन्छिन् ।
उनले ‘सृजनशील महिला सहकारी’ मा तीन कार्यकाल अध्यक्ष भएर १ हजार १०० बढी महिलाहरूलाई गोलबद्ध गरेकी छिन् । ३३ वर्षको राजनीतिक लगानीपछि राज्यको नीति निर्माण तहमा पुग्दा पार्टीले मूल्याङ्कन गरेर अवसर दिएको उनी बताउँछिन् ।
‘पार्टीले मेरो मूल्याङ्कन गरेर यो ठाउँमा ल्याएको छ । धैर्यता र लगनशील भएर सङ्गठनमा लागिरहे एक दिन सफलता मिल्ने रहेछ भन्ने मलाई महसुस भएको छ ।’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण