बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राष्ट्रिय सभा निर्वाचन

सुदूरपश्चिमबाट राष्ट्रिय सभामा निर्वाचित लीला र खम्मबहादुर को हुन् ?

आइतबार, ११ माघ २०८२, १८ : ३३
आइतबार, ११ माघ २०८२

सारांश

  • सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेकी लीला कुमारी भण्डारी र कांग्रेसका खम्मबहादुर खाती विजयी भए।
  • निर्वाचनमा प्रदेश सभा सदस्य र पालिकाका प्रमुख/उपप्रमुखको मतभार निर्धारण गरिएको थियो, जसमा केही मत बदर पनि भए।
  • विजयी भएका भण्डारी र खातीले राष्ट्रिय सभामा सुदूरपश्चिमको प्रतिनिधित्व गर्नेछन्, जसमध्ये उनीहरूको राजनीतिक यात्रा र योजनाहरू छन्।

धनगढी । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभामा दुई जनालाई पठाइएको छ । आइतबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभामा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा (एमाले) की लीला कुमारी भण्डारी र नेपाली कांग्रेसका खम्मबहादुर खाती विजयी भएका छन् ।

प्रदेश निर्वाचन कार्यालय धनगढीमा भएको मतदान र त्यसपछिको मतगणना अनुसार दुवै उम्मेदवार फराकिलो मतान्तरसहित विजयी भएका हुन् ।

प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टका अनुसार महिला समूहबाट उम्मेदवार बनेकी एमालेकी लीला कुमारी भण्डारीले ३ हजार ९ सय ८४ मतभार प्राप्त गरिन् । 

उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६ सय ७६ मतभारमा चित्त बुझाउनुपर्‍यो । त्यस्तै, अन्य समूह तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खम्मबहादुर खाती ३ हजार ९ सय ६९ मतभारसहित विजयी भए । 

उनका प्रतिद्वन्द्वी नेकपाका टिकाराम जैशीले १ हजार ८ सय ५ मतभार प्राप्त गरे । यस निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) बिच गठबन्धन भएको थियो, जसको बलमा दुवै उम्मेदवारले सहज जित हासिल गरे ।

निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ५३ र पालिकाका प्रमुख तथा उपप्रमुखको मतभार १९ निर्धारण गरिएको थियो । विजयी भएकी भण्डारीले स्थानीय तहतर्फ १ सय २६ र प्रदेश सभातर्फ ३० जनाको मत प्राप्त गरिन्। यी दुवै जोड्दा उनको कुल मतभार ३,९८४ पुग्यो ।

अर्कोतर्फ खातीले स्थानीय तहतर्फ १ सय २८ र प्रदेश सभातर्फ २० जनाको मत पाए। उनको कुल मतभार ३,९६९ कायम भयो ।

मतदान प्रक्रियामा केही मतहरू बदर पनि भए । प्रदेश सभा तर्फ एक जना महिला सांसद र एक जना पुरुष सांसदको मत बदर भयो भने स्थानीय तहतर्फ ७ जना महिला र १ जना पुरुष गरी जम्मा ८ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

कुल २ सय २४ मतदाता रहेको सुदूरपश्चिममा ४९ प्रदेश सभा सदस्य र १७१ स्थानीय तहका प्रमुख/उपप्रमुख गरी २ सय २० जनाले मात्र मतदान गरे । 

चार जना मतदाता भने अनुपस्थित रहे । मतदान नगर्नेहरूमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाश देउवा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रदेश सभा सदस्य खेमा विष्ट, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र जोशीपुर गाउँपालिकाकी उपाध्यक्ष रेखा कठरिया रहेका छन् ।

जितको औपचारिक घोषणासँगै धेरैको चासोको विषय बनेको छ–राष्ट्रिय सभामा सुदूरपश्चिमको प्रतिनिधित्व गर्न गइरहेका लीला र खम्मबहादुर को हुन् ? उनीहरूको विगत र भविष्यको योजना कस्तो छ ?

विद्यार्थी राजनीतिदेखि राष्ट्रिय सभासम्मः लीला कुमारी भण्डारी

नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी लीला कुमारी भण्डारीको राजनीतिक यात्रा सामान्य छैन। २०३३ साल भदौ २९ गते धनगढी उपमहानगरपालिका–३ मा जन्मिएकी भण्डारीले सानै उमेरमा राजनीतिलाई नजिकबाट चिन्ने मौका पाइन् ।

कक्षा ७ मा पढ्दादेखि नै अनेरास्ववियुमा सङ्गठित भएर उनको राजनीतिक यात्रा सुरु भयो।

‘विद्यार्थी जीवनमा समाज परिवर्तनका लागि र जनताको आर्थिक अवस्था सुधार्न राजनीति नै चाहिन्छ भन्ने बाल मनोविज्ञानले मलाई विद्रोह गर्न सिकायो,’ भण्डारीले भनिन् । राजनीतिले नै समाज र देशको नेतृत्व गर्न सक्छ भन्ने बुझाइ उनमा सानैदेखि गहिरो थियो ।

उनी बुझेर भन्दा पनि गरेर सिक्दै परिपक्व भएकी नेतृ आफूलाई मान्छिन् ।

‘परिपक्व भएपछि राजनीति गर्छु भनेर होइन, काम गर्दै जाँदा परिपक्व भइन्छ भन्ने लागेर निरन्तर लागिरहेँ, राजनीति कहिल्यै छोडिनँ,’ उनले भनिन् ।

उनी २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ६ बाट प्रत्यक्ष निर्वाचित संविधान सभा सदस्य थिइन्। २०७० सालमा पनि उम्मेदवार बनेकी थिइन्, तर त्यसबेला पराजय भोग्नुपर्‍यो। अहिले गठबन्धनको तर्फबाट उनी पुनः संसद् भवन छिर्दै छिन् ।

सुदूरपश्चिमका ८८ वटा पालिका र प्रदेश सभाप्रति आफू बढी जवाफदेही हुने उनको भनाइ छ । ‘स्थानीय तह र प्रदेश सरकारलाई काम गर्न कहाँ कठिनाइ परेको छ, कस्ता कानुन चाहिन्छन्, त्यो विषयमा हामी सल्लाह गरेर राष्ट्रिय सभामा भूमिका खेल्नेछौँ,’ उनले भनिन् ।

३२ वर्षे वकालतदेखि महान्यायाधिवक्तासम्मः खम्मबहादुर खाती

बाजुराको बुढीगंगा नगरपालिका–४ स्थायी घर भएका खम्मबहादुर खाती पेसाले वरिष्ठ अधिवक्ता हुन् । २०४८ सालदेखि निरन्तर वकालत पेसामा सक्रिय खातीले कानुनी क्षेत्रमा बलियो पकड जमाएका छन् ।

उनी काठमाडौँ जिल्ला बार एशोसियसनको नेतृत्वदेखि २०७२ सालमा नेपाल बार एशोसियसनको महासचिव बने। यस्तै देशको महान्यायाधिवक्ता सम्मको जिम्मेवारी सम्हालिसकेका छन् ।

राजनीतिमा पनि उनको लगानी पुरानो छ । २०५१ सालमा सांसदका लागि सिफारिस भएका खाती २०५३ सालको स्थानीय तहको निर्वाचनमा पनि प्रतिस्पर्धा गरेका थिए । 

३२ वर्ष लामो वकालत पेसाको अनुभव सँगालेका खाती अब आफ्नो कानुनी दख्खललाई नीति निर्माण तहमा प्रयोग गर्न चाहन्छन् ।

‘मैले पेसाबाट राज्यलाई के गर्न सक्छु, नीति निर्माण तहमा के योगदान दिन सक्छु भनेर नै राष्ट्रिय सभामा जान खोजेको हुँ,’ खातीले भने। उनी विभिन्न ऐन–कानुनमा रहेका बाधा अड्चन फुकाउन आफ्नो विज्ञता प्रयोग गर्ने योजनामा छन् ।

मतदाताहरू मेयर, उपमेयर, प्रदेश सांसदले भोगिरहेका कानुनी जटिलताहरू समाधान गर्न स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्ने उनको भनाइ छ ।

‘हामीले बनाउने विधेयक, संविधान र प्रचलित कानुनलाई समयसापेक्ष परिवर्तन गर्नुपर्ने छ। जनतालाई केन्द्रबिन्दुमा राखेर सेवा गर्न सकिन्छ भन्ने मेरो दृष्टिकोण हो,’ उनले भने ।

राष्ट्रिय सभालाई स्थायी सदन मान्दै उनले आफ्नो ६ वर्षे कार्यकाललाई देश र जनताको सेवामा समर्पित गर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप