बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी खुलामञ्च

लोकतन्त्रको मर्म र बालेन प्रवृत्ति

मङ्गलबार, १३ माघ २०८२, १० : ३४
मङ्गलबार, १३ माघ २०८२

लोकतन्त्रलाई हामीले मतदानकै दिनमा मात्र किन सीमित गरिरहेको ? के मतदानको दिन मात्र लोकतन्त्रको उत्सव हो ? पाँच वर्षमा एकपटक मतपेटिकामा कागज खसाल्ने र त्यसपछि मौन बस्ने अभ्यासलाई नै लोकतन्त्रको पूर्णता ठान्ने प्रवृत्ति हाम्रो चेतनामा गहिरोसँग गढेको छ । 

तर, लोकतन्त्र कुनै चाडपर्व होइन, जुन एक दिन आएर सकियोस् । यो त निरन्तर बगिरहने नदी हो, जहाँ बहस यसको धार हो, प्रश्न यसको छाल हो र जबाफदेहिता यसको जीवनदायी जल ।

निर्वाचन लोकतन्त्रको प्रवेशद्वार मात्र हो, गन्तव्य होइन । ढोका खोलेर भित्र पसिसकेपछि घरलाई थामिराख्न बलिया स्तम्भहरू चाहिन्छन् । ती स्तम्भ भनेकै बहस, आलोचना, पारदर्शिता र निरन्तर संवाद हुन् । यदि यी स्तम्भ कमजोर भए भने लोकतन्त्रको भवन बाहिरबाट भव्य देखिए पनि भित्रबाट खोक्रो बन्दै जान्छ ।

जब नागरिकलाई केवल मतदाताका रूपमा सीमित गरिन्छ, तब लोकतन्त्रको आत्मा क्रमशः सुक्न थाल्छ । यस्तो अवस्थामा नागरिक सहभागिता, सार्वजनिक निगरानी र प्रश्न गर्ने अधिकार ओझेलमा पर्छन् । लोकतन्त्र मतदाता र प्रतिनिधिबिचको औपचारिक सम्झौता मात्र होइन, यो नागरिक र सत्ताबिचको निरन्तर संवाद हो । 

सार्वजनिक बहस त्यही संवादको खुला आकाश हो, जहाँ विचारहरू ठोकिन्छन्, सत्यको मन्थन हुन्छ र नीतिहरू परिष्कृत हुन्छन् । बहस बिनाको समाज सजग हुन सक्दैन र प्रश्न बिनाको सत्ता उत्तरदायी बन्दैन ।

सार्वजनिक बहस लोकतन्त्रमा सत्ताको वैधता नाप्ने तराजु हो । यही बहसको रापमा नेतृत्वको दृष्टि, नैतिकता र नीतिगत स्पष्टताको परीक्षण हुन्छ । लोकप्रियता बहसभन्दा माथि हुन सक्दैन, बरु लोकप्रियता स्वयं बहसको विषय बन्नुपर्छ । 

लोकतन्त्रमा नेतृत्व कुनै देवता होइन, न त यो प्रश्नभन्दा परको सत्ता नै । यो त निरन्तर जनपरीक्षणमा रहनुपर्ने जिम्मेवारी हो । जहाँको नेतृत्व प्रश्नबाट भाग्छ, त्यहाँ लोकतन्त्र सङ्कुचित हुन थाल्छ । पछिल्लो समय नेपाली राजनीतिमा देखिएको बालेन प्रवृत्ति यसको एउटा उदाहरण हो ।

अमेरिकामा राष्ट्रपतिका लागि हुने बहस केवल औपचारिकता होइन, त्यो लोकतान्त्रिक संस्कृतिको मेरुदण्ड हो । त्यहाँ उम्मेदवार बहसबाट भाग्नुलाई राजनीतिक अपराधसरह मानिन्छ । अस्ट्रेलियामा संसद्को प्रश्नोत्तर समय सरकारमाथिको दैनिक निगरानी हो । 

बेलायत, क्यानडा र युरोपेली मुलुकहरूमा बहसलाई शासनको कमजोरी होइन, बरु संस्थागत शक्तिको प्रमाण मानिन्छ । त्यहाँ संवादलाई इन्कार गर्नु शक्ति होइन, डरको सङ्केत मानिन्छ ।

तर, नेपाली राजनीतिको दृश्य भने केही फरक देखिन्छ । यहाँ बहसलाई अझै पनि अवरोधका रूपमा लिने गरिन्छ । प्रश्न सोध्नुलाई व्यक्तिगत आक्रमण र दलभित्रको फरक मतलाई विद्रोहको संज्ञा दिइन्छ । मौनतालाई स्थिरता र प्रश्नलाई अस्थिरता ठान्ने यो सोच लोकतान्त्रिक चेतनासँग मेल खाँदैन । 

लोकतन्त्र बहसले कमजोर हुँदैन, बरु बहस नहुँदा कमजोर हुन्छ । यही पृष्ठभूमिमा नेपाली समाजमा विकसित हुँदै गएको नयाँ राजनीतिक लहर र यसको गहिराइलाई बुझ्न आवश्यक छ । कतै यो लहर सत्ता केन्द्रित राजनीति र अपारदर्शिताको नयाँ रूप त होइन ?

नयाँपन केवल नयाँ अनुहार वा लेबलमा मात्र सीमित हुनु हुँदैन । यो त दृष्टिकोण र एजेन्डामा देखिनुपर्छ । आज व्याख्या गरिएको वैकल्पिक राजनीति सकारात्मक छ वा नकारात्मक ? यो पदका लागि हो वा देशका लागि ? देश बनाउने स्पष्ट एजेन्डा र रोडम्याप कस्तो छ ? नयाँ शक्तिका रूपमा उदाएका दलहरूको भिजन के हो ? संविधानको कार्यान्वयन, सङ्घीयताको सबलीकरण, परराष्ट्र नीति, आर्थिक संरचना र सामाजिक न्यायका सवालमा उनीहरूको ठोस योजना के छ ? के केवल उमेर, ऊर्जा र आवेगले मात्र देशमा आमूल परिवर्तन सम्भव छ ?

बालेन शाह र रवि लामिछानेजस्ता पात्रहरूले यी प्रश्नको उत्तर दिनैपर्छ । कम्तीमा हामीजस्ता भुइँमान्छेहरूले नबुझेसम्म उनीहरूले जवाफ दिनुको विकल्प छैन । सडकले प्रश्न सोधिरहनेछ, र विभिन्न आन्दोलनमा बलिदानी दिनेहरूका सपनाले यसको हिसाब खोजिरहनेछन् ।

लोकतन्त्रमा नेतृत्व सुरक्षित किल्लाभित्र लुकाइने वस्तु होइन । नेतृत्व भनेको आलोचनाको खुला मैदानमा उभिने साहस हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुझ्नैपर्ने कुरा के हो भने, यदि पार्टीले आफ्नै नेतृत्वलाई प्रश्नको कठघरामा उभ्याउन सक्दैन भने भविष्यमा नागरिकप्रति उत्तरदायी हुने क्षमतामा ह्रास आउँछ । 

स्वतन्त्र राजनीतिक पात्रका रूपमा उदाएका बालेन शाह आज व्यक्ति मात्र होइनन्, उनी एक आशा र सम्भावित नेतृत्व हुन् । उनको उदय जनआक्रोश र वैकल्पिक खोजको प्रतिफल थियो । तर, परिवर्तन भनेको अनुहार फेरिनु मात्र होइन, बरु संवाद, पारदर्शिता र आलोचनालाई स्विकार्ने संस्कृतिको रूपान्तरण पनि हो ।

बहस, पत्रकार सम्मेलन र सार्वजनिक प्रश्नोत्तर शासनका बोझ होइनन्, यी लोकतन्त्रका अनिवार्य कडी हुन् । बहसबाट दूरी बनाउनु भनेको नागरिकलाई पुनः मौन दर्शकमा झार्नु हो । जब बहस हराउँछ, निर्णयहरू अपारदर्शी बन्छन् । जब प्रश्न दबाइन्छ, शक्ति व्यक्ति केन्द्रित हुन्छ । इतिहास साक्षी छ– यही बाटो नै लोकतान्त्रिक क्षयको सुरुवात हो ।

आजको विमर्श कुनै व्यक्ति वा दलको अन्ध–समर्थन वा विरोधमा सीमित हुनु हुँदैन । मूल प्रश्न लोकतान्त्रिक अभ्यासको हो । जो जुनसुकै कित्तामा भएपनि सार्वजनिक बहस र जन–उत्तरदायित्वबाट उन्मुक्त हुन पाउँदैन । बहस लोकतन्त्रको प्राणवायु हो । बहस कमजोर हुनु भनेको लोकतन्त्र नै कमजोर हुनु हो । त्यसैले, लोकतन्त्र जोगाउनु छ भने सबैभन्दा पहिले बहस गर्ने र प्रश्न सोध्ने संस्कृतिको रक्षा गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

देवेन्द्र बजगाईँ
देवेन्द्र बजगाईँ
लेखकबाट थप