सिरहा-४ : पाँच पूर्वमन्त्रीलाई टक्कर दिँदै रास्वपाका तपेश्वर
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सिरहा क्षेत्र नम्बर ४ को प्रतिस्पर्धा यसपटक निकै रोचक र पेचिलो हुने देखिएको छ । यस क्षेत्रमा पाँचजना प्रभावशाली पूर्वमन्त्रीहरू चुनावी मैदानमा छन् भने उनीहरूको परम्परागत वर्चस्वलाई चुनौती दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तपेश्वर यादवले कडा टक्कर दिने आँकलन गरिएको छ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का राजकिशोर यादव, जनमत पार्टीका डा. वीरेन्द्र महतो, नेकपा (माओवादी केन्द्र) का अजयशंकर नायक, एमालेका धर्मनाथ शाह र बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवानजस्ता ‘हेभीवेट’ मानिने पूर्वमन्त्रीहरूसँग रास्वपा मधेस प्रदेश अध्यक्ष समेत रहेका तपेश्वरको भिडन्तलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
पूर्व जसपा नेता रहेका तपेश्वर २०७९ असोजमा मात्र रास्वपा प्रवेश गरेका हुन् । गत स्थानीय चुनावमा नरहा–५ बाट झिनो मतले पराजित भएका उनी यसपटक भने उच्च मनोबलका साथ मैदानमा छन् । सिरहा–४ ‘जेनजी’ आन्दोलनका अगुवा एवं रास्वपाका समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवको गृह क्षेत्र भएकाले पनि तपेश्वरको चर्चा चुलिएको छ । तपेश्वर भन्छन्, ‘पाँच पूर्वमन्त्रीका काम जनताले देखिसकेका छन् । यसपटक जनताले परिवर्तन चाहेकाले फराकिलो मतान्तरसहित मेरो जित निश्चित छ ।’
यस क्षेत्रमा उम्मेदवारहरूले अन्तिम समयमा दल अदलबदल गर्दा चुनावी समीकरण निकै तरल बनेको छ । अघिल्लो पटक सिरहा–२ बाट जितेका जसपाका राजकिशोर यादव आफ्नो पुरानो क्षेत्र (सिरहा–४) फर्किएपछि यहाँका निवर्तमान सांसद (जसपाकै) डा. वीरेन्द्र महतो असन्तुष्ट बन्दै जनमत पार्टी प्रवेश गरेर उम्मेदवार बनेका छन् । रोचक कुरा त के छ भने गत चुनावमा जनमत पार्टीबाट १६ हजारभन्दा बढी मत ल्याएर दोस्रो भएका वीरेन्द्र साहले टिकट नपाएपछि उनी पनि प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बाट मैदानमा उत्रिएका छन् । उता नेकपाबाट टिकट नपाएपछि पूर्वमन्त्री धर्मनाथ शाह एमालेमा फर्किएर उम्मेदवार बनेका छन् । नेकपाका अजयशंकर नायक पनि बलियो प्रतिस्पर्धीका रूपमा खडा छन् ।
नेताहरूको यो ‘म्युजिकल चेयर’ शैलीको दल–बदलले मतदातामा अन्योल सिर्जना गर्न सक्छ । जसपाको भोट जनमतमा र जनमतको भोट आजपामा बाँडिने सम्भावना देखिन्छ, जसको प्रत्यक्ष फाइदा रास्वपालाई पुग्ने विश्लेषण गरिएको छ । यद्यपि, जसपाका प्रदेश कोषाध्यक्ष विष्णु साह भने राजकिशोर यादवको आगमनले पार्टी एकढिक्का रहेको र रास्वपाको प्रभाव हल्ला मात्र भएको दाबी गर्छन् । सांगठनिक हिसाबले यहाँ एमाले बलियो देखिएको छ । गत स्थानीय निर्वाचनमा तीन पालिकामध्ये दुईमा एमाले र एकमा माओवादीले जित हासिल गरेका छन् । साथै कांग्रेस, राप्रपा, नेमकिपा लगायत स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिले प्रतिस्पर्धालाई थप कडा बनाएको छ । कुल १ लाख ६ हजार ६८६ मतदाता रहेको सिरहा-४ मा ६० मतदान स्थल र १२९ मतदान केन्द्र तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण