शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

चुनावी प्रचारमा भिन्न देखिएका अशेष घिमिरे

बुधबार, १४ माघ २०८२, ११ : ३८
बुधबार, १४ माघ २०८२

सारांश

  • झापा क्षेत्र नम्बर १ मा इन्जिनियर अशेष घिमिरेको चुनावी प्रचार शैली अन्य उम्मेदवारभन्दा फरक छ।
  • घिमिरे मतदाताहरूसँग साइकल र ट्याम्पोमा पुग्ने तथा वैचारिक छलफल गर्ने गर्छन्।
  • घिमिरेले वामपन्थी दृष्टिकोणबाट चुनाव प्रचार गरिरहेका छन् र उनले शालीनतालाई जोड दिएका छन्।

झापा– फागुन २१ को चुनावी सरगर्मी बढेसँगै विभिन्न पार्टीका विभिन्न उम्मेदवारहरू विविध स्वरूपमा चुनाव प्रचार–प्रसारमा केन्द्रित छन् । कोही उखु पेल्दै, जेरी पकाउँदै गरेको देखिन्छ त कोही मतदातालाई ढोग्दै गरेको, दलबलसहित महँगा गाडीमा मतदाताको घरमा पुगी रहेका छन् त कोही चुनावी सभाहरू आयोजना गर्दै गरेको सामाजिक सञ्जालमा छ्याप–छ्यापती छ । 

तर, झापाको क्षेत्र नम्बर १ भने चुनावी प्रचार–प्रसारमा अलिक भिन्न छ । झापा– १ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रहेका इन्जिनियर अशेष घिमिरेको चुनावी प्रचार–प्रसार अन्य उम्मेदवारको भन्दा भिन्न छ । उनी घरी साइकल, ट्याम्पोमा मतदाताको घरमा पुग्छन् त घरी चोकमा प्रौढ मतदातासँग वैचारिक छलफल गरिरहेका हुन्छन् ।

सामाजिक सञ्जालको व्यापक प्रचार र समर्थकहरूको भिडबाट अलग्गिएर तपाईं आफ्नो चुनावी प्रचारमा यसरी किन लाग्नु भएको भन्ने रातोपाटीको प्रश्नमा उनले भने, ‘मानिसहरु अनावश्यक भिड, पैसाको दम्भ र शक्ति प्रदर्शनबाट आत्तिएका छन् । त्यसैले देशभर कहीँ त त्यस्तो उम्मेदवार हुनु प-यो, जसले शालीनतासाथ वैचारिक मुद्दाहरू उठाओस् ।’

बाहुनडागीको सामान्य शिक्षक परिवारमा जन्मिएका घिमिरेले स्थानीय विद्यालयबाटै एसएलसी पास गरे र एसएलसीपछिको उच्च शिक्षाका लागि विराटनगर पुगे । विराटनगरले उनलाई कक्षाकोठाबाट राजनीतिको मैदानमा उत्रन प्रेरित ग-यो । हुने खाने र हुँदा खानेको बिचको खाडल उनले आफ्नै गाउँमा महसुस गरेका थिए । तर, त्यसलाई राजनीतिक वैचारिक दृष्टिकोण प्रदान ग-यो अनेरास्ववियुले । 

उनी वामपन्थी राजनीतितर्फ लहसिए अर्थात उनी हुँदा खानेको पक्षमा उभिएर उनीहरूको अधिकारका लागि बोल्न थाले । त्यसपछि उनले विद्यार्थी जीवनमै युवाहरूमा लागेको दुर्व्यसनको कुलत विरुद्ध अभियान चलाए । कालान्तरमा त्यो बेरोजगारी, श्रमिक र किसानका मुद्दामा केन्द्रित हुँदै जान थाल्यो । अन्ततः उनले वञ्चितहरूको मुद्दा र सरोकारलाई सर्वोपरि महत्त्व दिन थाले ।

वामपन्थी राजनीतिमा लाग्नुको कारण के थियो ? विराटनगरमा रहँदा त झन् तपाईं नेपालको डेमोक्रेटिक आन्दोलनमा लाग्नु पर्ने होइन र ? भन्ने प्रश्नमा घिमिरेले भने, ‘खोई किन हो बिराटनगरमा भएको मजदुर आन्दोलनको कथाले मलाई जहिल्यै उद्वेलित गरिरह्यो । त्यसले मलाई जहिले मजदुर, श्रमजीवी र सिमानाकृतका पक्षमा उभिन प्रेरणा दिइरह्यो ।’ 

झापा–१ बाट सांसद बन्ने लक्ष्यसहित निरन्तर जनताको घरदैलोमा रहेका इन्जिनियर घिमिरेको अभियान बामपन्थी दृष्टिकोणमा आधारित छ । उनी भेटघाटका क्रममा मतदाताहरुसँग लोकप्रियतावाद हाम्रा लागि किन उचित छैन भनि सालितासाथ कुराकानी गरिरहेको भेटिन्छन् ।

‘निराशै निराशाका बिच पनि हामीले आशाको दियो बाल्न छोड्नु हुँदैन’ मेचीनगरको १४ नम्बर वडामा भेला भएका मतदातासँग उनी भन्दै थिए । 

झापा– १ बाट यसअघि ०७९ को निर्वाचनमा नेपाली काँग्रेसका तत्कालीन महामन्त्री तथा वर्तमान उपसभापति विश्वप्रकाश शर्मा निर्वाचित भएका थिए । शर्मा यसपटक उम्मेदवार नहुने भएपछि काँग्रेसले केशवराज पाण्डेलाई शर्माको ठाउँमा उम्मेदवार बनाएको छ । त्यस्तै नेकपा (एमाले) बाट रामचन्द्र उप्रेती, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट निशा डाँगी र राप्रपाका तर्फबाट हेमराज कार्की तथा श्रम संस्कृति पार्टीका तर्फबाट केवलराम राई उम्मेदवार छन् ।

घिमिरे यसअघि नेकपा (एकीकृत समाजवादी) मा निर्वाचित पोलिटव्युरो सदस्य थिए । एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबिच एकता भई बनेको नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उनी अहिले उम्मेदवार बनेका हुन् । 

उनको चुनावी प्रचार–प्रसारलाई नजिकदेखि नियालेका झापा निर्वाचन क्षेत्र नम्बर एक मेचीनगरका स्थानीय युवा राजेश गुरागाईले भने, ‘उहाँ निकै शालीन ढंगले चुनावी प्रचार–प्रसारमा लागेको देख्दा मलाई निकै खुसी लागेको छ । सबै राजनीतिक दलहरूले मतदातालाई अनावश्यक प्रभावमा पार्नु भन्दा आफ्ना राजनीतिक मुद्दा एजेन्डा राख्दै अघि बढेमा सारै राम्रो हुन्थ्यो ।

अर्का एक व्यवसायीले भने उनको निर्वाचन प्रचार–प्रसारको शैलीबाट सबै राजनीतिक दलहरूले सिक्नु पर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप