बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
मोरङ-५ : स्थलगत

फेरिइरहन्छन् उम्मेदवारका अनुहार, उस्तै छन् कच्ची बाटो र झुपडीका व्यथा

बुधबार, १४ माघ २०८२, २० : ००
बुधबार, १४ माघ २०८२

विराटनगर । मोरङको जहदा गाउँपालिका-३ बबन टोलले २०५० सालमा ग्राभेल सडक देखेको थियो । त्यसपछि सडकको स्तरोन्नति भएन । सडकका चोकहरूमा रहेका पुराना संरचना, अव्यवस्थित विद्युतीय तार र धुलाम्य सडकले यहाँ योजनाबद्ध विकासको अभाव देखाउँछन् । पाँच किलोमिटर वरपर कालोपत्रे सडक भएपनि वडा कार्यालय भएकै ठाउँमा धुलोको साम्राज्य हुनुले स्थानीय सरकारको प्राथमिकता कहाँ छ भन्ने प्रश्न उठाउँछ ।
 
धुलोले भरिएका कच्ची बाटो, फुसका झुपडी र अभावले पिरोलिएका अनुहारहरू । यो मोरङ क्षेत्र नम्बर ५ मा पर्ने जहदा गाउँपालिकाको वास्तविक तस्विर हो । विराटनगरको सीमासँगै जोडिएको यो क्षेत्र विकासको दृष्टिकोणले निक्कै पछाडि देखिन्छ ।

बबन टोलका बद्री साहका अनुसार यहाँ विकासका नाममा चुनावी भाषण र आश्वासन मात्र पुग्छन्, काम शून्य प्रायः छ । ‘यहाँ केही गरेनन् । धुलोमय बस्ती छ । विराटनगरको नजिक छ तर अवस्था दयनीय छ,’ उनी गुनासो पोख्छन्, ‘चुनावको बेलामा भाषण गर्छन् र जान्छन्, त्यसपछि फर्केर आउँदैनन् ।’

Morang 5 Voters5
 
साहका अनुसार यहाँ सडक मात्र होइन, सिँचाइ र रोजगारीको पनि उत्तिकै समस्या छ । स्थानीय सरकार र पालिकाले पनि पहुँचका आधारमा मात्र बजेट र सुविधा दिने गरेको उनको आरोप छ । ‘झोला बोकेर नेताको पछि नहिँडेका कारण हामीले बोरिङ पनि पाएनौँ,’ उनी भन्छन्, ‘बेरोजगारीको चरम समस्या छ, बाटो बिग्रिएका कारण राति हिँड्न सकिँदैन ।’

जहदा क्षेत्र कृषिप्रधान हो । जहाँका अधिकांश मानिस खेतीपातीमा आश्रित छन् । तर किसानका लागि राज्यले दिने न्यूनतम सुविधा पनि यहाँ पुग्न सकेको छैन । जहदा–२ मझारेका ५८ वर्षीय बाखो मण्डलले आफ्नो जीवनकालमा धेरै पटक मतदान गरे । उनले राजावादी बद्री मण्डलदेखि शैलजा आचार्यसम्म र शिवकुमार मण्डलदेखि योगेन्द्र मण्डलसम्मलाई भोट दिए । कहिले आफ्नै समुदाय र आफन्त भएका कारण त कहिले काम गर्ने आशाले उम्मेदवार राम्रो ठानेर उनले फरक–फरक दल र चिन्ह रोजे । तर उनीहरूको जीवनस्तरमा कुनै परिवर्तन आएन ।

Morang 5 Voters1
 
‘अहिले सडक, रोजगारी र सिँचाइको चरम अभाव छ । डिप बोरिङबाट पानी तान्न खोज्दा लो भोल्टेजको समस्या छ,’ उनी सुनाउँछन् । बिजुलीको न्यून भोल्टेजले गर्दा बोरिङ मेसिन नचल्ने र पानीको अभावमा बालीनाली नष्ट हुने समस्या यहाँका हरेक किसानको साझा व्यथा हो । सोही ठाउँका अनिलकुमार मण्डल पनि सिँचाइ र रोजगारी नै मुख्य आवश्यकता रहेको बताउँछन् । ५५ वर्षीय रामेश्वर मण्डलका लागि पनि कृषि क्षेत्रकै समस्या मुख्य हुन् । उनीहरूका अनुसार चुनावका बेला नेताहरू गाउँ पस्छन्, तर जितेपछि किसानको पसिनाको मूल्य बुझ्ने कोही हुँदैन ।

जहदा क्षेत्रको अर्को समस्या बेरोजगारी र बजार अभाव हो । ५७ वर्षीय दीपनारायण मण्डलको अनुभवमा यो क्षेत्रमा उखु उत्पादन राम्रो हुन्छ । तर किसानले उखु बेच्ने बजार छैन । ‘हामीले मुख हेरेर होइन, काम हेरेर भोट दिने हो,’ उनी भन्छन्, ‘५ नम्बर क्षेत्रमा एउटै मान्छे नदोहोरिएको हाम्रो अनुभव छ । यो पटक पनि त्यस्तै होला ।’

Morang 5 Voters4
 
बेरोजगारीका कारण यहाँका युवाहरू कि त विदेश पलायन हुन बाध्य छन्, कि त सानोतिनो मजदुरीमा अल्झिएका छन् । जहदा–५ लक्ष्मीनियाका ७० वर्षीय दिलीपकुमार साहले २०३६ सालको जनमत संग्रहदेखि नै भोट हाल्दै आएका छन् । उनको विश्लेषणमा यो क्षेत्रको विकास नहुनुमा जातीय र समुदायको तानातान मुख्य कारण हो । यहाँ सन्थाल, मण्डल र महतो (नुनिया) समुदायको बाहुल्यता छ । चुनावका बेला समुदायको नाममा मत संकलनका लागि तानातान हुन्छ, तर विकासको योजना बनाउँदा सबैलाई उपेक्षा गरिन्छ । साह भन्छन्, ‘विगतका उम्मेदवारहरूले खेत–खेतमा बोरिङ पुर्‍याउँछु भने, लगानीको ब्याज मिनाहा गर्ने कुरा गरे, तर ती कुरा कहिल्यै पूरा भएनन् ।’

Morang 5 Voters2

मोरङ-५ को यो अवस्थाले संघ, प्रदेश र स्थानीय सरकारको कार्यशैलीमाथि पनि गम्भीर प्रश्न खडा गरेको छ । धुलोले पुरिएका बाटोहरूमा जबसम्म पिच हुँदैन र किसानका खेतमा जबसम्म सिँचाइको पर्याप्त व्यवस्था हुँदैन, तबसम्म यहाँका बासिन्दाका लागि विकास शब्दमा मात्र सीमित रहने स्थानीय बताउँछन् । आउँदो फागुन २१ गते हुने निर्वाचनमा मत माग्नेहरुलाई आफूहरु यही विकासका कुरा माग्ने उनीहरुको तयारी छ । आगामी दिनमा यहाँका मतदाताले अनुहार हेरेर नभई एजेन्डा र काम हेरेर मात्र मत दिने निर्णयमा पुगेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप