शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

२७ जनालाई रोक्दै पीयू सेवा आयोग अध्यक्ष र सदस्य बने अधिकारी र लामा

नीति निर्माण र गुणस्तर मापनमा दक्खल
बुधबार, १४ माघ २०८२, १९ : १६
बुधबार, १४ माघ २०८२

सारांश

  • पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्रा.डा. देवेन्द्र अधिकारी र सदस्यमा प्रा. समी लामा नियुक्त भएका छन्।
  • नवनियुक्त अध्यक्ष अधिकारीले जनशक्ति व्यवस्थापन र वृत्ति विकासमा ध्यान दिने बताएका छन्, र नयाँ पदपूर्तिका लागि खुला प्रतिस्पर्धा गराउने योजना छ।
  • सेवा आयोगमा लामो समयदेखि पदाधिकारी नहुँदा रोकिएका कामहरूलाई अगाडि बढाउने र नयाँ जनशक्ति भर्ना गर्ने चुनौती रहेको छ।

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पीयू) को सेवा आयोगले नयाँ नेतृत्व पाएको छ । विश्वविद्यालयको रिक्त रहेको सेवा आयोगको अध्यक्ष पदमा प्राडा देवेन्द्र अधिकारी र सदस्य पदमा प्राध्यापक समी लामा नियुक्त भएका हुन् । 

२९ जना प्राज्ञिक व्यक्तित्वहरूले आवेदन दिएको यस पदमा २७ जना प्रतिस्पर्धीलाई पछि पार्दै अधिकारी र लामाले आयोगको कमान्ड सम्हाल्ने अवसर पाएका हुन् । विश्वविद्यालयको सेवा आयोगमा हुने नियुक्तिलाई निकै चासोका साथ हेरिएको थियो । नवनियुक्त अध्यक्ष प्रा.डा. देवेन्द्र अधिकारीले आफ्नो झन्डै तीन दशक लामो प्राज्ञिक अनुभवलाई अब विश्वविद्यालयको जनशक्ति व्यवस्थापन र वृत्ति विकासमा खर्चिने बताएका छन् । 

अधिकारीले २०५३ सालमा पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसबाट सेवा सुरु गरेका थिए । त्यसपछि उनी २०५७ सालमा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा स्थायी भए । उनी शैक्षिक र प्रशासनिक दुवै क्षेत्रमा खारिएका व्यक्तित्व हुन् । उनी २०६३ सालमा रिडर (सह–प्राध्यापक) भए भने २०६९ सालमा प्रोफेसर भए । भौतिक शास्त्रका विज्ञ अधिकारीले सन् २०१२ मा छिमेकी राष्ट्र भारतबाट उच्च शिक्षा हासिल गरेका हुन् । ‘मैले २०१२ मा भारतको टीएम भागलपुर युनिभर्सिटीबाट फिजिक्समा पीएचडी गरेको हुँ,’ उनले भने । 

भोजपुरमा जन्मिएका अधिकारी हाल विराटनगर–१ का स्थायी बासिन्दा हुन् । उनले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा लामो समय विभागीय प्रमुखका रूपमा काम गरे भने ६ वर्षसम्म रिसर्च म्यानेजमेन्ट सेलको नेतृत्व समेत सम्हालेका थिए । प्राडा अधिकारीसँग पूर्वाञ्चल विश्वविद्यालय मात्र नभई त्रिभुवन विश्वविद्यालय र खुला विश्वविद्यालयमा समेत काम गरेको अनुभव छ । ‘मैले पूर्वाञ्चल विश्वविद्यालयको एकेडेमिक काउन्सिलमा ३ वर्ष र स्ट्यान्डिङ कमिटीमा पनि काम गरेँ । त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम बनाउने विषय समितिमा झन्डै १२ वर्ष बसेँ, जुन तीन टर्म हुन आउँछ,’ उनले भने । 

त्यस्तै विश्वविद्यालयहरूको गुणस्तर मापन गर्ने क्युए प्रक्रियामा उनले कोर्डिनेटरको रूपमा ६ वर्ष बिताएका छन् । स्वास्थ्य शिक्षाको क्षेत्रमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा आयोग छनोट समितिमा ३ वर्ष सदस्य रहेर काम गरेको अनुभवले उनलाई अबको नयाँ जिम्मेवारीमा थप सहज हुने देखिएको छ । ‘मैले खुला विश्वविद्यालयको पाठ्यक्रम निर्माण समितिमा २ वर्ष र त्रिभुवन विश्वविद्यालयको फ्याकल्टी बोर्डमा ३ वर्ष काम गरेको छु,’ उनले आफ्नो अनुभवको फेहरिस्त सुनाए । 

लामो समयदेखि सेवा आयोगमा पदाधिकारी नहुँदा शिक्षक र कर्मचारीहरूको वृत्ति विकास ठप्प प्रायः थियो । पदभार ग्रहण गरेसँगै अधिकारीले ती फाइलहरू पल्टाउन थालिसकेका छन् । उनले भने, ‘अहिले मैले फाइलको अध्ययन गर्दैछु । बढुवा प्रक्रियाहरू अलिकति रोकिएको छ, त्यसलाई अगाडि बढाउन कोसिस गर्दै छु ।’ 

बढुवा मात्र नभई नयाँ जनशक्तिको लागि खुला प्रतियोगिता गराउनु पर्ने दायित्व पनि उनीमाथि छ । ‘खुला प्रतियोगिताको लागि लिखित परीक्षाहरू गराउनुपर्ने र विज्ञापन खोल्नुपर्ने कुराहरू रहेछन्, म त्यो प्रक्रिया अगाडि बढाउँछु भनेर सरहरूलाई भनिसकेको छु,’ उनले भने । तर, हाल निर्वाचनको आचारसंहिता लागेको कारण केही काम रोकिने उनले बताए । ‘अहिले चुनाव पनि छ, त्यसैले आचारसंहिताका कुराहरू हुन्छन् । नयाँ कुराहरू तत्काल गर्न सकिँदैन । निर्वाचन आयोगको सहमतिमा पुराना कामहरू के–के गर्न सकिन्छ, त्यसको थालनी गर्छौँ,’ उनले भने । 

यो नियुक्ति राजनीतिक भागबन्डा भन्दा पनि योग्यता र प्रतिस्पर्धाका आधारमा भएको दाबी गरिएको छ । शिक्षा मन्त्रीको अध्यक्षतामा गठन भएको तीन सदस्यीय छनोट समितिले २९ जना आवेदकहरूको कार्ययोजना र बायोडाटा अध्ययन गरी प्रधानमन्त्री समक्ष सिफारिस गरेको थियो । 

विश्वविद्यालयमा हाल करिब ३५० कर्मचारी र करिब २०० शिक्षक कार्यरत छन् । यी जनशक्तिको उचित व्यवस्थापन र नयाँ दक्ष जनशक्तिको भर्ना नै आयोगको मुख्य चुनौती हो । नवनियुक्त सदस्य प्राध्यापक समी लामा र अध्यक्ष अधिकारीको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगलाई कत्तिको प्रभावकारी र पारदर्शी बनाउँछ, त्यो भने आगामी दिनले देखाउनेछ । 

तर लामो अनुभव बटुलेका प्राडा अधिकारीको आगमनले विश्वविद्यालयका शिक्षक र कर्मचारीमा भने उत्साह जगाएको छ । उनले पनि आफ्नो भूमिकाअनुसार जिम्मेवारी तदारुकताका साथ निर्वाह गर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप