सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

‘प्राविधिक शिक्षालयको गरिमा जोगाउन गुणस्तर आवश्यक’

बुधबार, १४ माघ २०८२, २१ : ४२
बुधबार, १४ माघ २०८२

सुर्खेत । कर्णाली प्रदेशमा रहेका प्राविधिक शिक्षालयहरूले गुणस्तर सुधारमा जोड दिन आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।

मंगलबार र बुधबार वीरेन्द्रनगरमा आयोजित दुई दिने अभिमुखीकरण कार्यक्रमले सो निष्कर्ष निकालेको हो ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले भण्डारीले प्रदेशका धेरैजसो प्राविधिक शिक्षालयमा सञ्चालित कार्यक्रमहरूमा युवाहरूको आकर्षण घट्दै गइरहेको बताए ।

त्यस कारण शिक्षालयको गरिमा जोगाउन गुणस्तर अभिवृद्धि गर्नु अनिवार्य रहेको उनको भनाइ छ ।

उनले संस्थागत गुणस्तर सुनिश्चितता र प्रत्यायनले प्राविधिक शिक्षा र श्रम बजारको आवश्यकताबिच रहेको दूरीलाई कम गर्ने र युवाहरूमा प्राविधिक शिक्षाप्रति विश्वास जगाउने आशा व्यक्त गरे ।

सामाजिक विकास मन्त्रालयका शैक्षिक विकास महाशाखा प्रमुख सुवर्ण कुमार खड्काले स्वः मूल्याङ्कन मार्फत प्राविधिक शिक्षालयहरूको गुणस्तर सुधारका क्षेत्रहरू पहिचान गरी कार्य गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

साथै, मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । सीटीईभीटी कर्णाली प्रदेश कार्यालयका का.मु. निर्देशक गोविन्द कुमार श्रेष्ठले राष्ट्रिय शिक्षा नीति, २०७६ ले पहुँच र गुणस्तर दुवैलाई प्राथमिकता दिएको उल्लेख गर्नुहुँदै विगतका वर्षहरूमा पहुँचको विस्तार भए तापनि आगामी दिनमा गुणस्तर सुधारमा जोड दिनुपर्ने बताए ।

‘क्युएए प्राप्त गरेपछि शिक्षालयहरूले आधिकारिक मान्यता पाउने, विद्यार्थीले गुणस्तरीय शिक्षा र पहिचानयुक्त प्रमाणपत्र पाउँछन्,’ उनले भने, ‘त्यसपछि मात्रै ‘क्रेडिट ट्रान्सफर’ सहज हुने र अभिभावक तथा रोजगारदातासमेत गुणस्तरको सवालमा ढुक्क हुने अवस्था सिर्जना हुने विश्वास हुन्छ ।’

कार्यक्रममा सहभागीहरूलाई गुणस्तर सुनिश्चितता सम्बन्धी ७३ वटा सूचक, ३०० उपसूचक र १५०० वटा बेन्चमार्कहरूका बारेमा सैद्धान्तिक तथा व्यावहारिक जानकारी गराइएको थियो ।

बाह्य मूल्याङ्कन अगाडि शिक्षालय आफैँलाई आफ्नो अवस्था बुझ्न र सुधार गर्न यो कार्यक्रमले मद्दत पुर्‍याएको उनले बताए ।

कार्यक्रममा कर्णाली प्रदेशका जाजरकोट, जुम्ला, कालिकोट, सुर्खेत, सल्यान, दैलेख, रुकुम (पश्चिम) लगायतका जिल्लाहरूका १५ वटा प्राविधिक शिक्षालयका प्रमुख तथा सम्भावित क्युएए फोकल व्यक्तिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको आयोजना नेपाल सरकार र स्विजरल्याण्ड सरकारको संयुक्त प्रयासमा सञ्चालित युवाहरूका लागि गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (क्वालिटी) परियोजनाले गरेको थियो ।

कार्यक्रमको उद्देश्य प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) अन्तर्गत कर्णाली प्रदेशमा सञ्चालित प्राविधिक शिक्षालयहरूलाई संस्थागत प्रत्यायनका लागि अभिप्रेरित गर्नु थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप